19 C
Makwānpur
Homeमुख्य समाचारवागमतीका ७ पदमा नयाँ जनप्रतिनिधि

वागमतीका ७ पदमा नयाँ जनप्रतिनिधि

सुनिता बिष्ट

हेटौंडा/आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा वागमती प्रदेशमा रिक्त रहेको ७ पदमा नयाँ जनप्रतिनिधि पाएको छ । कीर्तिपुर नगरपालिकाको प्रमुखसहित दोलखाको गौरीशंखर गाउँपालिका उपाध्यक्ष, कीर्तिपुर नगरपालिका-१, कीर्तिपुर नगरपालिका-४, काठमाडौं महानगरपालिका-१६, ककनी गाउँपालिका-२ र मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१२ नम्बर वडाले नयाँ जनप्रतिधि पाएको हो ।

२०७९ बैशाखको स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेका ६ र माओबादीले जितेको एक गरी वागमती प्रदेशको ७ स्थानमा रिक्त रहेको पदमा सम्पन्न उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । २०७९ बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित भएर हाल रिक्त रहेको ७ मध्ये ६ स्थानमा कांग्रेसले जितेको थियो भने माओबादीले जितेको एउटा वडामा उपनिर्वाचन भएको छ ।

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा माओबादी केन्द्रकी निमलेकी शेर्पा विजयी भएकी छन् । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा पालिकाको उपाध्यक्षमा माओबादीकी निमलेकी भारी मतान्तरसाथ विजयी भएकी हुन् । एमालेकी उमा मगरशेर्पाले ४ सय ४७ मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेसकी उम्मेद्वार पाशदिकी तामाङशेर्पाको पक्षमा २ सय ४० मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कीर्तिपुर नगरपालिका-१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भए । निर्वाचन कांग्रेस उम्मेद्वार इच्छाकुमार महर्जन ५ सय ६२ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेद्वार हर्ष महर्जनले ४ सय ९८ मत प्राप्त गर्दा नेकपा माओबादी केन्द्रका उम्मेद्वार सरलगोपाल महर्जनले १ सय ७३ मत ल्याएका थिए । २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसकै हीरालाल महर्जन विजयी भएका थिए । उनको २४ फागुन २०८० मा निधन भएको हो ।

कीर्तिपुर नगरपालिका-४ को अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र बानियाँ विजयी भएका छन् । गत स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेद्वार श्यामसुन्दर अधिकारी निर्वाचित भएका थिए । उनको सवारी दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको वडा अध्यक्षमा भएको उपनिर्वाचनमा कांग्रेसका बानियाँले ७ सय ४२ मत ल्याएर विजयी भएको निर्वाचन आयोगले जनाएको छ । उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेद्वार पविता खड्काअधिकारीले ४ सय ९५ मत ल्याएकी थिइन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर-१६ मा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हात पारेको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ २ हजार ९ सय २ मतसहित विजयी भएकी हुन् । दोस्रो स्थानमा रहेका एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत प्राप्त गरे । २ हजार २ सय १४ मतसहित कांग्रेसका देवेन्द्र पाठक तेस्रो स्थानमा रहे । यसअघिको निर्वाचनमा वडामा कांग्रेसका मुकुन्द रिजाल विजयी भएका थिए । उनको २१ भदौ २०८० मा निधन भएको थियो । डेंगु संक्रमणपछि निमोनिया भएका अध्यक्ष रिजालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

नुवाकोटको ककनी गाउँपालिका-२ को वडा अध्यक्षमा नेकपा माओबादी केन्द्रका कृष्ण घिमिरे (मिलन) निर्वाचित भएका छन् । घिमिरे एक हजार ८५ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन आयोगले जनाएको छ । घिमिरेका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्य जिम्बातामाङले पाँच सय ८७ मत प्राप्त गरेका छन् । २०७९ बैशाखको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तिलकबहादुर लामा विजयी भएका थिए ।

२०७९ को स्थानीय तह निर्वाचनमा माओबादीले जितेको हेटौंडा उपमहानगरपालिका-१२ मा कांग्रेसका अर्जुन तिवारी विजयी भए । आइतबार भएको उपनिर्वाचनमा वडा अध्यक्षमा तिवारी २ हजार ६३ मत ल्याएर विजयी भएका हुन् । २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा हार व्यहोरेका तिवारी तेस्रो पटकको प्रयासमा विजयी भएका हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा माओबादी केन्द्रा ललितबहादुर घलानले थोरै मतान्तरले हराएका तिवारी २०७९ मा पनि आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । उक्त निर्वाचनमा पनि माओबादीकै घलान १६ मतान्तरले विजयी भएका थिए । माओबादी केन्द्रबाट रवि प्रधान चुनावी मैदानमा उत्रिएका थिए । उनी १ हजार ५ सय ६० मत ल्याएर दोस्रो भए भने एमालेका राजेश नगरकोटी १ हजार ३ सय ९८ मत प्राप्त गर्दै तेस्रो भए ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here