31.9 C
Makwānpur
Homeमुख्य समाचाररत्ननगरमा मेयर कप उपाधि हेटौंडालाई

रत्ननगरमा मेयर कप उपाधि हेटौंडालाई

हेटौंडा÷पूर्वी चितवनको रत्ननगरमा आयोजना गरिएको तेस्रो अन्तरपालिकास्तरीय मेयर कप फुटबल प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरपालिकाले जितेको छ ।

नेपाल माविको खेलमैदानमा शनिबार भएको फाइनल खेलमा चितवनको राप्ती नगरपालिकालाई २–१ गोलअन्तरले पराजित गर्दै हेटौंडाले उपाधि रक्षा गरेको हो । प्रतियोगिताको विजेता हेटौंडा उपमहानगरपालिकाको टिमलाई २ लाख ११ हजार १ सय ११ र उपविजेता राप्ती नगरपालिकाको टिमलाई १ लाख ५१ हजार १ सय ११ सहित पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रमकी प्रमुख अतिथि हेटौंडा मेयर मीना लामा, रत्ननगर नगरपालिका मेयर प्रह्लाद सापकोटा, उपमेयर यादबप्रसाद पाठकले विजेता र उपविजेता टिमलाई उपाधि हस्तान्तरण गरेका थिए ।

प्रतियोगिताको हेर्न राप्तीका मेयर शमशेर लामा र वडाध्यक्षहरु, कालिका नगरपालिकाका मेयर बिनोद रेग्मी, हेटौंडा उपमहानगरका वडाध्यक्षहरु, चितवन निकुञ्जका वार्डेन गणेश पन्त, रत्ननगरका डीएसपी रञ्जन अवा पुगेका थिए । हेटौंडाकी मेयर लामाले खेलाडीहरुलाई प्रोत्साहन र सिपविकासका लागि रत्ननगरले आयोजना गरेको मेयर कपको विशिष्ट महत्व रहेको बताइन् । उनले हेटौंडाले ‘एक वडा–एक खेलमैदान’ को अवधारणा अघि पारेको बताइन् । उद्यमशीलता विकास र बालमैत्री नगर घोषणालाई प्राथमिकता दिएर पालिकाले काम गरिरहेको उनको भनाइ छ ।

सो अवसरमा रत्ननगर मेयर सापकोटाले खेलकुदको विकास र खेलकुदका माध्यमबाट पालिकाबीच सहकार्य स्थापित गर्न मेयर कप आयोजना गरिएको बताए । राप्ती मेयर लामाले रत्ननगरले आयोजना गरेको मेयर कपले वागमती प्रदेशकै खेलकुदको विकासमा योगदान दिएको बताए । रत्ननगर खेलकुद विकास समिति अध्यक्ष कृष्ण महतोको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा रत्ननगरका कार्यबाहक प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद वाग्लेले स्वागत मन्तव्य राखेका थिए ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासाथ आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक कार्ययोजनाअन्तर्गत् तेस्रो अन्तरपालिकास्तरीय मेयर कप फुटबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा चितवनका सात, मकवानपुरका दुई र नवलपरासीको एक पालिका गरी १० टिमले प्रतिस्पर्धा गरेको खेलकुद विकास समिति सहसंयोजक सौगात भुजेलले जानकारी दिए ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here