Homeमुख्य समाचारदुई दशकदेखि कहाँ हराए कृष्ण ?

दुई दशकदेखि कहाँ हराए कृष्ण ?

बसन्त भण्डारी

हेटौंडा/मकवानपुरको मनहरी गाउँपालिका-७, रमनटारकी ७१ वर्षीया मनमाया तामाङले आफ्नो जीवनका दुई दशक पति कृष्ण तामाङको प्रतीक्षामा बिताइन् । २०६१ चैत ७ गते घरनजिकबाट ‘हराएका’ ६० वर्षीय कृष्णको अर्झै पत्तो छैन ।

‘सरकार, मेरो लोग्नेको लास देखाइदेऊ कि सास पठाइदेऊ,’ आँसुबीच मनमाया भन्छिन् । पति हराएको २० वर्ष बितिसक्दा पनि उनी लोग्ने फर्किने आशामा छन् । कृष्ण तामाङ मकवानपुरको रमनटारमा बसाइँ सरेर ज्यालादारी र झारफुकको काम गर्दै पाँच सन्तानलाई पाल्दै आएका थिए । जनयुद्धको समय गाउँ डुल्न निस्किएका उनी हालसम्म घर फर्किएनन् । कृष्ण धादिङको गजुरीबाट ५० को दशकको अन्तिमतिर मकवानपुरको रमनटारमा बसाइँ सरेर आएका थिए । त्यहाँ वन फाँडेर टहरा बनाए । उनले ज्यालादारी र झारफुक गरेर परिवार पाल्दै आएका थिए ।

गाउँलेहरुको भनाइअनुसार सेनाले उनलाई गाडीमा हालेर लगेको देखिएको थियो । मनमायाले चितवनको सुनाचुरी ब्यारेकसम्म खोज्न पुगेर पतिको फोटोसमेत सेनालाई दिइन् । तर, सेनाले न कृष्णलाई फिर्ता गर्‍यो, न त त्यो फोटो नै । कृष्ण हराएको १० महिनापछि मनमायाले चितवन राष्ट्रिय निकुञ्जको कसराबाट आएको चिठ्ठीबारे थाहा पाइन् । चिठ्ठीमा कृष्णलाई गैंडा मार्नेसम्बन्धि आरोपमा नियन्त्रणमा राखेर १० वर्ष जेल सजाय सुनाइएको उल्लेख थियो । ‘कसरामा गएर सोध्दा पतिको कसैसँग गाउँघरतिर रिसइबी थियो, कसैसँग दुष्मनी थियो भनेर सोध्नुभयो । मैले कसैसँग पनि दुष्मनी गर्ने, झगडा गर्ने मान्छे होइन भने,’ मनमाया भक्कानिँदै भन्छिन् । मनमायाका अनुसार कृष्ण राजनीतिमा लागेका पनि थिएनन् । कसैसँग दुष्मनी पनि थिएन ।

त्यसपछि मनमायाले अदालतको ढोका ढकढकाइन् । तर, कुनै सुनुवाइ भएन । गाउँपालिका पूर्वअध्यक्ष टंक मोक्तानका अनुसार कृष्ण कसरामै सेनाको बन्दीगृहमा बिरामी भएर मृत्युवरण गरेको खबर आएको थियो । ‘तर, कानुनी प्रक्रिया पूरा नगरी परिवारलाई थाहा नदिनु गम्भीर शंका हो,’ मोक्तानले भने । पति हराएपछि पाँच सन्तानको पालनपोषणको जिम्मेवारी मनमायाको काँधमा आयो । आर्थिक अभावले उनीहरु महिनौं नुनपानी खाएर बाँच्न बाध्य भए । छोराछोरीलाई पोखराको होटलमा काम गर्न पठाएर उनले घर चलाइन् ।

हाल जेठो छोरा राजु विदेशमा मजदुरको काम गर्दै परिवारलाई सहयोग गरिरहेका छन् । तर, मनमायाको मुटुमा पतिको पत्तो नपाउने पिर ताजै छ । ‘शान्तिसम्झौताले देशमा लोकतन्त्र ल्यायो । तर, मेरा पतिको न्याय र सत्य खोज्ने कोही छैन,’ मनमाया भन्छिन् । द्वन्द्वको अन्त्य भए पनि पतिको अवस्था थाहा नपाउँदा मनमायाको पीडा घटेको छैन ।

उनले २० वर्षदेखि सरकार र सम्बन्धित निकायसँग पतिको खोजी गर्न माग गरिरहेकी छन् । ‘मेरो प्राण त शान्तिमा जान्थ्यो, यदि सरकारले मेरो लोग्ने कहाँ छ भनेर बताइदिएको भए,’ उनी भन्छिन् । शान्तिसम्झौताले द्वन्द्वको घाउ मेट्ने आश दिलाए पनि मनमायाजस्ता पीडितको न्यायको सवाल अझै अधुरो छ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here