मनिता राना
हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर-५ भैरवरोडस्थित नेपाल विद्युत् प्राधिकरण केन्द्रीय वर्कसपमा आगलागी भएको छ । तर, आगोले वर्कसपमा नोक्सानी नभएको उपप्रवन्धक तथा कार्यालय प्रमुख माधबप्रसाद पौडेलले दाबी गरे ।
बुधबार साँझ करिब ८ बने भैरवरोडस्थित पुराना सामान राखिएको स्थानमा अचानक आगलागीपश्चात् जिल्ला प्रहरीलाई खबर गरी दमकल बोलाएर राति ९ बजे आगो नियन्त्रणमा लिइएको उनले जानकारी दिए । वर्कसपमा आगलागी हुनुको मुख्य कारण हालसम्म नखुलेको तर सिसिटिभी फुटेज हेर्दा बिजुलीको पोलबाट सानो झिल्को झरेको देखिएको उनले बताए । तर, उक्त फुटेज सञ्चारकर्मीलाई देखाइएन । न त उक्त स्थानमा प्रवेश नै दिइयो ।
नागरिकले सरकारी कामलाई खासै मन नपराएको र विभिन्न भ्रष्टाचारको आरोप लगाउने गरेको उनले दाबी गरे । ‘मैले पनि बाहिरी मानिसहरुबाट सरकारी काममा भ्रष्टाचार गर्ने नयाँ तरिकालगायत करोडौ मूल्यका समानहरु गायब गर्ने अनि आगो लगाइदिने योजना भन्ने सुनेको छु,’ कार्यालय प्रमुख पौडेलले भने ।
आगलागी नियन्त्रणका लागि विद्युत् प्राधिकरणले विभिन्न उपायहरु अपनाइरहेको तर ठूला आगो नियन्त्रणमा लिन मुस्किल भएको उनले बताए । ‘सानातिना आगो लागेको समयमा अन्य उपायहरु अपनाइरहेका छौं,’ उनले भने-राति आगलागी हँुदा आगो नियन्त्रणका लागि नेपाल प्रहरी, हेटौंडा उपमहानगरपालिकाका नगर प्रहरी, विद्युत् प्राधिकरणका कर्मचारी र २ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको उनले बताए । क्षतिको विवरण यकिन नभएको प्रहरीको भनाइ छ ।
आफू कार्यालय प्रमुख भएर आएको १ वर्ष हुँदा २ पटक आगलागी भएको उनले बताए । पहिलो पटक आगलागी हुँदा दमकलको प्रयोगबाट आगो नियन्त्रण गर्न नसक्दा डोजर बोलाइ भवनको पर्खाल भत्काएर आगो निभाइएको उनले स्मरण गरे भने त्यसअघि भवनमा आगलागी हुँदा तारजालीलगायत विद्युतीय सामग्री जलेर नष्ट भएका थिए भन्ने आफूले थाहा पाएको उनले बताए ।
नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय भण्डार (वर्कसप) मा यसअघि २०७० चैत २४ गते बिहीबार पनि साँझ आगलागी भएको थियो । पुरानो विद्युत् ट्रान्सफर्मर मर्मत गर्दा निस्किएका पुनः प्रयोगबिहीन करिब साढे आठ टन तामाको तार राखेर तालाबन्द गरिएको कोठामा साँझ करिब साढे ६ बजे आगलागी भएको हो ।
ट्रान्सफर्मरको तेलमा वर्षौं डुबेर रहेका तार र तैलीय कागजमा लागेको आगो निभाउन सशस्त्र र जनपद् प्रहरी, स्थानीयबा, डोजर, दमकल र प्राधिकरण कर्मचारीलाई करिब दुई घण्टा लागेको थियो । हेटौंडा नगरपालिकाको दमकलले दुईपटक पानी छर्केर डोजरले कोठाको भित्ता फोडेपछि मात्र आगो केही नियन्त्रणमा आएको थियो ।
वर्कसपमा अन्डरग्राउण्ड तार लगिएको ट्रेन्चको अन्तिम विन्दुको कोठामा आगो लागेको थियो । उक्त स्टोरमुनि तार अण्डरग्राउण्ड रहनु र कोठा तालाबन्द रहेको अवस्थामा आगलागी हुनुलाई शंकास्पद्रुपमा हेरिएको थियो । ती तारहरु लिलाम गरिएको बताइएको छ । तारको स्क्र्याप मूल्य प्रतिकेजी करिब सात सय रुपियाँ पर्दछ ।