सुनिता बिष्ट
हेटौंडा/स्थानीय तह निर्वाचनका बेला प्रायः वडाको गतिविधि प्राथमिकतामा पर्दैनन् । राजनीतिक दलका ठूला नेताहरुको ध्यान मेयर, उपमेयर तथा अध्यक्ष उपाध्यक्षमै हुन्छ । तर, आइतबार हुने उपनिर्वाचनमा भने सिंगो पार्टीपंक्तिकै ध्यान वडाध्यक्ष आफ्नो दलको पोल्टामा पार्ने कसरतमा जुटिरहेका छन् ।
हेटौंडा उपमहानगरपालिका-१२ मा वडाअध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि ९ राजनीतिक दल तर्फका उम्मेद्वार र ३ स्वतन्त्र उम्मेद्वारसहित १२ जना चुनावी मैदानमा छन् । राजनीतिक दलहरुमा नेकपा एमालेका राजेश नगरकोटी, नेपाली कांग्रेसका अर्जुन तिवारी, नेकपा माओबादी केन्द्रका रबिन प्रधान, राष्ट्रिय स्वतन्त्र पार्टीका आशावीर बल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमबहादुर भ्लोन, नेकपा (एकीकृत समाजवादी) का बलराम बल, नेपाल मजदुर किसान पार्टीकी फूलमाया तितुङ छन् भने जनता समाजवादी पार्टीका छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशन पार्टीकी दीपा लामा छन् ।
गीताकुमारी नेवार, अर्जुन घलान र छत्रप्रकाश अधिकारी गरी तीन स्वतन्त्र उम्मेद्वार चुनावी मैदानमा छन् । १२ जनामध्ये एकको पोल्टामा वडा अध्यक्ष पद पर्नेछ । तर, यही पद आफ्नो दलको पोल्टामा ल्याउन जिल्लाका राजनीतिक दलहरुले मतदातामाझ शक्ति प्रदर्शन गरिरहेका छन् ।
मंसिर २ गते मनोनयन दर्तादेखि नै उम्मेद्वारलाई लिएर जिल्लाका नेताहरु, प्रदेशका मन्त्रीदेखि संघीय सांसद् तथा पूर्वमुख्यमन्त्रीसमेत मत आफ्नो दलको पक्षमा ल्याउन सभा/समारोहमा सहभागी भएका छन् । एमालेका उम्मेद्वार नगरकोटीको पक्षमा माहोल बनाउन वागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल मंगलबार दिनभर सोही वडाको चुनावी घरदैलो कार्यक्रममा सहभागी बने । उनको साथमा प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठदेखि पूर्वजिल्ला समन्वय प्रमुख रघुनाथ खुलाललगायत जिल्ला कमिटीसम्मकै लर्को देखियो ।
बिहीबार विहान नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सामाजिकसञ्जालमा फोटो राख्दै लेखे-स्थानीय तह उपनिर्वाचन, गोठदमार हेटांैडा-१२, मतदाता भेटघाट तथा छलफल । उनले राखेको फोटोमा देखिएका छन् एमाले वागमती प्रदेश कमिटी उपाध्यक्ष दावा दोर्जेलामा, प्रदेश सांसद् एकालाल श्रेष्ठलगायत जिल्ला कमिटी टिम ।
यसरी वडा अध्यक्षका लागि एमालेको मात्र सिंगो पार्टी नै लागिपरेको होइन, माओबादीले पनि वडामा आफ्नो शक्ति प्रदर्शन गरिरहेको छ । माओबादी केन्द्रले रबिन प्रधानलाई उम्मेद्वार बनाएको छ । जीत आफ्नो दलको पोल्टामा पार्न माओबादीले पनि राजनीतिक शक्ति देखाइरहेको छ ।
मनोनयन दर्तादेखि नै माओबादीका प्रभावशाली नेता प्रह्लाद लामिछानेले प्रधानको साथ छाडेका छैनन् । यतिमात्र होइन, प्रदेशका पूर्वमन्त्री तथा वागमती प्रदेशसभा सदस्य कुमारी मोक्तान, सांसद् प्रेमबहादुर पुलामीलगायत जिल्ला कमिटीदेखि वडा कमिटी सिंगो पार्टीपंक्ति नै प्रधानलाई जिताउन लागिपरेको छ । २०७९ बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित हालका जिल्ला समन्वय समिति प्रमुख ललितबहादुर घलानसमेत प्रधानलाई जिताउन लागिपरे ।
त्यतिमात्र होइन, मतदाताको मत तान्नका लागि वागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा चुनावीसभा सम्पन्न भयो । माओबादी केन्द्रका पोलिट्ब्युरो सदस्यसमेत रहेका जम्कट्टेल हेटौंडा-१२ को वडा अध्यक्षमा प्रधानलाई मत दिन मतदाताहरुमाझ उभिएका छन् ।
कांग्रेसका उम्मेदवार अर्जुन तिवारीलाई पनि जिल्लाका कांग्रेस नेताहरुले साथ छाडेका छैनन् । राजनीतिक शक्ति देखाउन केही दिनअघि कांग्रेसका महामन्त्री तथा संघीय सांसद् विश्वप्रकाश शर्मा आफैं उपस्थित भए । आफ्ना दलका उम्मेद्वार तिवारीको पक्षमा माहोल बनाउन महामन्त्री शर्माले बिहीबार विहान सामाजिकसञ्जालमा तिवारीसँग हात मिलाएको तस्बिर सार्वजनिक गर्दै लेखे-पूर्वमा हाम्रातिर भन्ने चलन छ, ३ पल्टमा त के पनि पो छिन्छ, यस्तै हुने प्रवल स्थिति हेरें मैले मकवानपुरको हेटौंडामा । अर्जुन तिवारी २०७४ र २०७९ दुवै निर्वाचनमा वडा अध्यक्षमा पराजित भए । हारे तर हराएनन्, लागिरहे । नागरिकको काममा जिम्मेवार भएर त्यही कर्मले जित्दैछ विश्वास, सम्हाल्न लाग्दैछन् हेटौंडा उपमहानगर-१२ को कमाण्ड ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेद्वार प्रेमबहादुर भ्लोन जिताउन संघीय सांसद् दीपकबहादुर सिंह पनि लागिपरेका छन् । प्रतिस्पर्धा वडा अध्यक्षको भए पनि प्रतिष्ठा पार्टीसँग जोडिएका कारण यतिबेला हेटौंडा-१२ मा नेताहरुको लर्को लागेको छ । २०७९ बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा राप्रपाको पक्षमा १ सय ८३ मत प्राप्त भएको थियो । तर, २०७९ कै आमनिर्वाचनमा सोही वडाबाट १ हजार ८ सय भन्दा बढी मत प्राप्त गरेका सिंह आमनिर्वाचनजस्तै मत ल्याएर राप्रपाको वडा अध्यक्ष निर्वाचित गराउन लागिपरेका छन् ।
उक्त क्षेत्रमा आफ्नो राम्रो प्रभाव रहेकै कारण माहोल आफ्नो पक्षमा बन्न सक्ने भन्दै मनोनयन दर्तादेखि घरदैलो कार्यक्रममा समेत सिंहले भ्लोनको साथ छाडेका छैनन् । रास्वपाले पनि आफ्ना उम्मेद्वारको पक्षमा माहोल बनाउन दैनिकजसो जिल्ला कमिटी घरदैलो अभियानमा जुटिरहेको छ ।
गत स्थानीय तह निर्वाचनमा माओबादीका घलान वडा अध्यक्ष विजयी भएका थिए । २०७४ सालमा पनि वडा अध्यक्ष निर्वाचित भएका घलान २०७९ मा दोहोरिएका थिए । उनी जिल्ला समन्वय समिति मकवानपुर प्रमुखमा निर्वाचित भएपछि रिक्त रहेको वडा अध्यक्षमा १६ गते उपनिर्वाचन हुन लागेको हो ।
निषेध अवधि मध्यरातदेखि लागु
आइतबार हुने स्थानीय तहको उपनिर्वाचनमा निर्वाचन प्रचारप्रसार निषेध अवधि बिहीबार मध्यरातदेखि लागु भएको छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म लागु हुने निर्वाचन प्रचारप्रसार निषेध अवधि राति १२ बजेदेखि सुरु भएको हो ।
निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा विभिन्न नियम पालना गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगले यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेद्वार, दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले केही कार्य नगर्न/नगराउन निर्देशन जारी गरेको छ । कुनै उम्मेद्वार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्धेश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार नगर्ने/नगराउने, निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तत्र्रिmया, सभासम्मेलन, कार्यशाला गोष्ठी आदि नगर्ने/नगराउने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार नगर्ने/नगराउने, सामाजिकसञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर नगर्ने/गराउने नियम छ ।
अनुसार निर्वाचन प्रचारप्रसार निषेध गरिएको अवधिमा उपरोक्तबमोजिम कार्य भए/गरेको आचारसंहिता अनुगमन समिति, आचारसंहिता अनुगमन टोली, जिल्ला आचारसंहिता अनुगमन समिति, स्थानीय प्रशासन, सुरक्षाकर्मी, अनुगमन अधिकृतबाट समेत सूक्ष्म अनुगमन हुनेछ । कहीं कतै आचारसंहिता उलंघन गरिएको पाइए तत्काल कानुनबमोजिम कारबाही गरी मुख्य निर्वाचन/निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोगमा जानकारी गराउन आह्वान गरिएको छ ।
विद्यालयमा मतगणना
स्थानीय तह उपनिर्वाचनको मतगणना बजार क्षेत्रस्थित सिद्धार्थ माध्यमिक विद्यालयमा गरिने भएको छ । १२ नम्बर वडा बजार क्षेत्रबाट करिब आधा घण्टा दुरीमा पर्छ । मतदान सकिएपछि मतगणनाका लागि मतपेटिका हेटौंडा-२ स्थित सिद्धार्थ माविमा ल्याइने निणर्य भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए ।
मकवानपुर जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईको संयोजकत्वमा बिहीबार बसेको जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले सिद्धार्थ माविमा मतगणना गर्ने निणर्य गरेको हो । वडा कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयको भौतिक अवस्था, उपलब्ध पूर्वाधार, सुरक्षा र सुबिधालाई मध्यनजर गर्दै मतगणना बजार क्षेत्रमा गरिने निणर्य भएको प्रजिअ चिलुवालले जानकारी दिए । राजनीतिक दलहरुले बजार क्षेत्रमै मतपेटिका ल्याएर मतगणना गरिनुपर्ने सुझाव दिएका थिए । पुस २ देखिको अर्धवार्षिक परीक्षाको मुखमा उक्त विद्यालयका विद्यार्थी पढाइबाट बञ्चित हुने भएका छन् ।
खटिए ४५ कर्मचारी
हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१२ को वडा अध्यक्षमा मंसिर १६ गते हुने उपनिर्वाचन सम्पन्न गर्न ४५ कर्मचारी खटाइएको छ । खटिएका कर्मचारीलाई मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले बिहीबार निर्वाचन सामग्री हस्तान्तरण गरिन् । निर्वाचन गराउन आवश्यक ५८ प्रकारका सामग्री कर्मचारीहरुलाई हस्तान्तरण गरिएको छ । २ वटा मतदानस्थलमा ९ वटा मतदान केन्द्र निश्चित गरिएको छ ।
मतदानस्थल सुरक्षा प्रवन्धका लागि ८ वटा प्वाइन्ट बनाइएको प्रमुख जिल्ला अधिकारी चिलुवालले बताए । मतदान हुने अघिल्लो दिन रातिदेखि मतदान हुने वडा सिल गर्ने सुरक्षा तयारी रहेको उनले जानकारी दिए । मतदानस्थलको बाहिरी घेरामा नेपाली सेना रहनेछ । भित्री घेरामा सशस्त्र प्रहरी र मतदानस्थलको पहिलो घेरामा आवश्यकताअनुसार नेपाल प्रहरी परिचालन हुने प्रजिअ चिलुवालले बताए । सुरक्षा सुदृढ बनाउन राष्ट्रिय अनुसन्धान केन्द्रसमेत परिचालन गरिएको उनले जानकारी दिए ।