रत्ननगर/पूर्वी चितवनको रत्ननगरमा जारी दुई लाख पुरस्कार राशिको तेस्रो अन्तरपालिकास्तरीय मेयर कप फुटबल प्रतियोगितामा राप्ती नगरपालिका फाइनल प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै राप्ती नगरपालिका फाइनल प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमबाट कुनै गोल नभएपछि टाइब्रेकरमा राप्तीले इच्छाकामनालाई ४-३ गोलअन्तरले पराजित गर्दैै फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका राप्ती नगरपालिकाका गोलरक्षक दर्पण लामा म्यान अफ दी म्याच घोषित भएका छन् ।
बिहीबार हेटांैडा उपमहानगर र मनहरी गाउँपालिकाबीच दोस्रो सेमिफाइनल हुने छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नारासाथ आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्ययोजनाअन्तर्गत् तेस्रो अन्तरपालिकास्तरीय मेयर कप फुटबल प्रतियोगिता आयोजना गरिएको खेलकुद विकास समिति अध्यक्ष कृष्ण चौधरीले जानकारी दिए । नेपाल माविको खेलमैदानमा जारी प्रतियोगितामा चितवनका सात, मकवानपुरका दुई र नवलपरासीको एक पालिकाले सहभागिता जनाएको खेलकुल विकास समिति संयोजक चौधरीले जानकारी दिए ।
खेलकुद क्षेत्रको विकास र राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने उद्धेश्यले मेयरकप आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख ११ हजार १ सय ११, द्वितीय हुने टिमलाई १ लाख ५१ हजार १ सय ११ सहित पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिने नगरस्तरीय खेलकुद विकास समिति सहसंयोजक सौगात भुजेलले जानकारी दिए । प्रतियोगितामा प्लेयर अफ दी म्याच घोषित हुने खेलाडीलाई २ हजार ५ सय र प्लेयर अफ दी टुर्नामेन्ट घोषित हुने खेलाडीलाई १० हजार ५ सय प्रदान गरिने उनले जानकारी दिए ।