Homeमुख्य समाचार३ सय १० वटा उजुरी दर्ता

३ सय १० वटा उजुरी दर्ता

सुनिता बिष्ट

हेटौंडा/काभ्रेको तिमाल घर भएका ५६ वर्षका रामचन्द्र राय हेटौंडास्थित सहकारी महाशाखामा भेटिए । काठमाडौंमा रहेको ब्रिटिस गोर्खा सहकारीमा १० लाख बचत गरेका राय रकम फिर्ता लिनका लागि महिनैपिच्छे हेटौंडा धाइरहेका छन् ।

वैदेशिक रोजगारीमा गएर कमाएको धन उनले उक्त सहकारीमा जम्मा गरेका थिए । तर, घरमा आमा बिरामी भएपछि रकम फिर्ता लिन जाँदा सहकारीका कर्मचारीहरुले ५ हजार दिएर फिर्ता पठाइदिएको उनको गुनासो छ । ‘आमा बिरामी हुनुभएपछि उपचार गराउन म पैसा फिर्ता माग्न सहकारी गएँ,’ उनले भने-तर, उनीहरुले तत्काल पैसा फिर्ता दिन नसक्ने बताए । कम्तिमा पनि दुई लाख फिर्ता लिन्छु भन्ने सोचेर सहकारी पुगेको मलाई ५ हजार दिएर फर्काइदिए । त्यसपछि पटकपटक रकम फिर्ता लिन जाँदा नपाएपछि उनीसहित २ सय भन्दा बढी बचतकर्ताले हेटौंडास्थित सहकारी महाशाखामा बचतफिर्ताका लागि उजुरी दिएको रायले बताए ।

्उनीहरुकै समूहमा आएकी अर्की सहकारीपीडित टीका राईको पनि उस्तै गुनासो छ । आमाले फिक्स डिपोडिजमा राखेको ४० लाख नउठेपछि उनको दैनिकी हेटौंडा-काठमाडौं आउजाउ गर्ने भएको छ । सहकारीमा रकम डुबेका कारण बुबा बिरामी भएको बताउँदै उनले भनिन्-बुबा अल्जाइमर्सको रोगी हुनुहुन्छ । सहकारीमा रकम डुबेपछि उहाँ अझ गल्नुभएको छ । रकम फिर्ता लिनका लागि हेटौंडा धाएको धाएकै छौं । तर, उपलब्धि केही छैन ।

पछिल्लो समय सहकारीको समस्या चुलिँदो छ । सहकारी संस्थाहरु बढी कमाउने होडमा बचतकर्ताको रकम अनुत्पादक क्षेत्रमा लगानी गर्दा समस्यामा परेका छन् । वागमती प्रदेश सहकारी महाशाखामा प्रदेशका सहकारीविरुद्ध उजुरी बढ्दो अवस्थामा छ । वागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयमातहत रहेको सहकारी महाशाखामा पछिल्लो समय सहकारीमा जम्मा गरेको रकम फिर्ता माग्न उजुरी दिन आउने बचतकर्ताहरुको भिड लाग्ने गरेको छ ।

आफूले बचत गरेको रकम सहकारीले फिर्ता नदिएपछि प्रदेशका विभिन्न जिल्लाबाट हेटौंडास्थित सहकारी महाशाखामा रकम फिर्ताका लागि उजुरी दिन आउनेको संख्या बढ्दो छ । दुःखले कमाएको रकम सहकारीमा फस्दा हैरान भएका बचतकर्ताहरु आफूहरुले जहाँजहाँ गएर भने पनि सुनुवाइ नभएको गुनासो गर्छन् ।

सञ्चालक समितिको अध्यक्ष भागेको, बचत रकम फिर्ता नगरेको, महंगो ब्याज लगाएको, सञ्चालक र अन्यले ऋण नतिरेको, सञ्चालकबीच लफडा, सञ्चालक समितिको अधिकारमा हस्तक्षेपलगायत उजुरी छन् । २०७५ मा स्थापित महाशाखामा पहिलो उजुरी १९ फागुन २०७६ मा परेको महाशाखाले जनाएको छ । त्यसयता हालसम्मको अवधिमा ३ सय १० वटा सहकारीविरुद्ध उजुरी परेको सहकारी महाशाखा सहकारी रजिष्ट्रार राजन पोखरेलले जानकारी दिए । उनका अनुसार उजुरी परेका सहकारीमध्ये केही सहकारी बन्द अवस्थामा छन् भने केही सञ्चालनमै छन् । उजुरी परेकामध्ये धेरै सहकारी काठमाडौंका छन् ।

प्रदेशको सहकारी महाशाखाले हालसम्म दुई वटा सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरिएको महाशाखा कानुन अधिकृत मनोज गुप्ताले जानकारी दिए । उनका अनुसार सिभिल सेभिङ एण्ड क्रेडिड सहकारी संस्थालाई गत वर्ष समस्याग्रस्त सहकारी घोषणा गरिएको थियो । प्रदेशमातहत सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड काठमाडौंलाई भदौ २०७९ मा समस्याग्रस्त सहकारी घोषणा गरिएको थियो । इच्छाराज गुरुङ सञ्चालक रहेको सहकारीमा ऋणीहरुसँग उठाएर बचतकर्तालाई दिन ६० लाख रुपियाँ संकलन भएको उनले जानकारी दिए ।

कीर्तिपुरमा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्थालाई पनि समस्याग्रस्त घोषणा गरिएको छ । समस्याग्रस्त घोषणा गर्न आदेश दिएपछि कार्तिक ११ गते समस्याग्रस्त सहकारी घोषणा गरिएको थियो । प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ को उपदफा २ बमोजिम समस्याग्रस्त सहकारी घोषणा गरिएको कानुन अधिकृत गुप्ताले बताए । वागमती प्रदेशमा बचत तथा ऋण, बहुउद्धेश्यीय, कृषि, दुग्ध र अन्य गरी ३ हजार २ सय ४८ सहकारी सञ्चालनमा छन् । सबभन्दा धेरै बचत तथा ऋणका १ हजार ५ सय ४२, बहुउद्धेश्यीयका १ हजार १ सय ८५, कृषिका २ सय ५४, दुग्धका ४८ र अन्य प्रकृतिका सहकारी २ सय १९ छन् ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here