हेटौंडा/हेटौंडा-११ स्थित सहिद स्मारकमा अवस्थित हेटौंडा एकेडेमी आवासीय माध्यमिक विद्यालयले फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । यसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र विद्यालयबीच सम्झौता भएको छ ।
विद्यालयमा आयोजित विशेष कार्यक्रममा एन्फाका पदाधिकारी र विद्यालयका प्रतिनिधिबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । एन्फा महासचिव किरण राईका अनुसार सिस्नेरीस्थित वत्सलादेवी माविमा असोज १२ गतेको अविरल वर्षाका कारण उत्पन्न दुःखद् घटनाका कारण त्यहाँको फुटबल कार्यक्रम स्थगन भएपछि उक्त अवसर हेटौंडा एकेडेमीलाई दिइएको हो ।
सम्झौताअनुसार फुटबल एकेडेमीका विद्यार्थीहरुले अब हेटौंडा एकेडेमीको व्यवस्थापनअन्तर्गत् अध्ययनसँगै फुटबल प्रशिक्षण जारी राख्न सक्नेछन् । विद्यालयका प्रमुख कार्यकारी अधिकृत रमेश रिमालले एकेडेमीको मैदानमा अध्ययन र प्रशिक्षण दुवै सहजरुपमा सञ्चालन गरिने जानकारी दिए । साझेदारीले विद्यालयलाई फुटबल क्षेत्रमा महत्वपूणर् भूमिका खेल्न र विद्यार्थीको खेलकुद क्षमतामा वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
एन्फा र पीडित परिवारबीचको सहमतिअनुसार सोमबार सिस्नेरी एकेडेमीमा रहेका १८ जना बाल खेलाडी हेटौंडा एकेडेमीको होस्टेलमा सारिएका छन् । खेलाडीले हेटौंडा एकेडेमीमा बसेर अध्ययन र प्रशिक्षण गर्नेछन् । एन्फाले सहुलियत शुल्कमा अध्ययन गराउने भएको छ । सिस्नेरी घटनापछि एन्फा एकेडेमीमा रहेका विद्यार्थीको फुटबल प्रशिक्षणसहित पढाइमा अवरोध पुगेको हो ।
असोज १२ मा सिस्नेरीको पहिरोमा पुरिएर ज्यान गुमाएका ६ बाल खेलाडीका अभिभावकले सोमबार हेटौंडा एकेडेमीमा छलफल गर्न पुगेका एन्फा महासचिव राई र प्राविधिक निर्देशक हरि खड्कालगायतलाई ४ घण्टा थुनेर आफ्ना असन्तुष्टि पोखेका हुन् ।
पीडित परिवारले एन्फाका पदाधिकारीलाई दिउँसो १ बजेदेखि ५ बजेसम्म घेरेका हुन् । महासचिव राईसहित एन्फाका प्राविधिक निर्देशक खड्का, मकवानपुर जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य टीका लामा र विकासनारायण श्रेष्ठले हेटौंडामा रहेको एन्फा एकेडेमी सञ्चालनको सम्झौता गर्न पुगेका थिए । हेटौंडा एकेडेमीमा एन्फाका पदाधिकारी आएको थाहा पाएपछि ६ जना बाल खेलाडीका अभिभावकले उनीहरुलाई घेराउ गरी आफ्ना माग पूरा गर्न दबाब दिएका थिए ।
एन्फा महासचिव राई र प्राविधिक निर्देशक खड्काले मकवानपुरको इन्द्रसरोवर-३, सिस्नेरीको एन्फा एकेडेमीलाई हेटौंडा एकेडेमीमा स्थानान्तरण गर्ने सहमति भएको जानकारी दिएका छन् । मृतक बाल खेलाडीका सालिक निर्माण गर्ने र उनीहरुको नाममा प्रतियोगिता सञ्चालन गर्ने विषयमा यसअघि भएको सहमतिलाई छिटो कार्यान्वयन गर्ने एन्फाले प्रतिबद्धता गरेको छ । यसअघि एन्फा पदाधिकारीले एकेडेमीका छलफल गरिरहँदा पीडित अभिभावकले आफूहरुको माग पूरा गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए ।
सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका पहिरोबाट मृत्यु भएका बाल फुटबल खेलाडीका परिवारले प्रधानमन्त्री केपी शर्माओलीसँग भेट गरेर घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेपछि एन्फा दबाबमा आएको हो । पीडित परिवारले अघिल्लो दिनदेखि वर्षा भइरहेको र कुलेखानी ड्याम खोल्ने सूचना भएको अवस्थामा पनि बच्चाहरुलाई विद्यालयबाट सुरक्षित स्थानमा नसाररे लापरबाही भएकाले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए ।
उक्त माविमा एन्फाले राखेको यु-१४ क्याम्पका ४० खेलाडीमध्ये ६ जनाले पहिरोमा परेर ज्यान गुमाएका थिए । ती विद्यार्थी खेलाडीमा हेटौंडा-१२ का अनुपम घलान, मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जन, सिस्नेरीका दिवस बानियाँ, बारा निजगढका विकल रेग्मी, धादिङका रियान्स आचार्य र सर्लाहीका आदित्य बलम्पाकी छन् ।