हेटौंडा/वागमती प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास परिषद्को सदस्यमा चार जनालाई मनोनित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् वैठकले रिक्त चार सदस्य पदमा दुई जना पुरुष र दुई जना महिलालाई मनोनित गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार बैठकले ललितपुरका रवि महर्जन, मकवानपुरका संगीत श्रेष्ठ, चितवनकी नवीना खनिया र रामेछापकी कल्पना खड्कालाई मनोनित गरेको हो । बैठकले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिसम्बन्धि नियमावली २०८१ र प्रदेश स्वास्थ्यसेवा दोस्रो संशोधन नियमावली २०८१ स्वीकृति प्रदान गर्ने निणर्य गरेको छ । गत मन्त्रिपरिषद् बैठकले उक्त नियमावलीलाई आवश्यक छलफलका लागि मन्त्रिस्तरीय समितिमा पठाउने निणर्य गरेको थियो ।
प्रदेश सरकारका दुई सचिवलाई अर्को व्यवस्था नभएसम्मका लागि दुई-दुई वटा मन्त्रालयको जिम्मेवारी थपिएको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सचिव बद्रीनाथ गैह्रे र राजेन्द्रकुमार केसीलाई थप जिम्मेवारी तोक्ने निणर्य गरेको हो । गैह्रे सामाजिक विकास मन्त्रालय र केसी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव छन् । मन्त्रिपरिषद् बैठकले गैह्रेलाई युवा तथा खेलकुद मन्त्रालय र केसीलाई सँस्कृति तथा पर्यटन मन्त्रालयको पनि जिम्मेवारी तोकेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री लामिछानेले जानकारी दिए । विगतमा सामाजिक मन्त्रालयबाट युवा तथा खेलकुद र उद्योग मन्त्रालयबाट पर्यटन मन्त्रालय छुट्याएर नयाँ गठन गरिएको थियो ।
सचिव अभाव भएकाले दोहोरो जिम्मेवारी दिनुपरेको मन्त्री लामिछानेले बताए । प्रदेश सरकारलाई अझ पाँच सचिव आवश्यक छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै सचिव पद रिक्त छ । मन्त्री लामिछानेका अनुसार वागमती सरकारले प्रदेशमा समायोजन भएर आएका ११ औं तहका कर्मचारीलाई सचिवको जिम्मेवारी तोक्ने गरी गृहकार्य गरिरहेको छ ।
प्रदेशले आफ्नै सचिव राख्ने सम्बन्धमा मुख्यसचिव एकनारायण अर्यालसँग आइतबार छलफल भएको मन्त्री लामिछानेले जानकारी दिए । संघीय सरकारमा पनि सचिव अभाव भएको अवस्थामा प्रदेश आत्मनिर्भर हुनुपर्ने उनको जोड थियो । वागमतीले यसअघि प्रदेश निजामति सेवा ऐन बनाएर कार्यान्वयनमा लगिसकेको छ । मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८०/८१ को शासकीय सुधार तथा सुशासनसम्बन्धि मन्त्रालयगत् प्रगति प्रतिवेदनलाई समष्टीगत्रुपमा वागमती प्रदेशसभामा पेस गर्ने निणर्य गरेको मन्त्री लामिछानेले जानकारी दिए ।