Homeमुख्य समाचारबिकटसम्म पुग्यो बाटो, पुगेन एम्बुलेन्स

बिकटसम्म पुग्यो बाटो, पुगेन एम्बुलेन्स

मनिता राना

हेटौंडा/उमेरले ७७ पुगेका भीमफेदी गाउँपालिका—८, महभीरका देवानसिं गोले निकै खुशी देखिन्थे । प्रतिनिधिसभाका तत्कालीन सदस्य विरोध खतिवडासहितको टोली गाउँपालिकाको बिकट गाउँमा पुगेपछि उनले खुशी पोखे ।

सडक अभावका कारण गाउँबाट बजारको कल्पनासमेत हुदैन थियो । हाल सडकसञ्जालले गाउँलाई छोएकोमा उनले खुशी हँुदै भनेका थिए । सडकसञ्जालले नजोडिएका कारण गाउँका कति मानिस मोटरै नदेखी बिते, कति समयमा उपचार नपाएर ज्यान गुमाए । अब सडकसँगै गाउँमा खुशी आएको उनले बताए । ढल्कँदो उमेरमा गाउँसम्म सडक आयो । अब गाडीसँगै अन्य सुबिधा गाउँसम्म आउँछ भन्दै उनले खुशी व्यक्त गरेका थिए ।

सदरमुकाम टाढाको कुरा भीमफेदीसम्म पुग्नका लागि एक दिनको यात्रा गर्नुपर्ने बाध्यताबाट गाउँले मुक्त भएका छन् । भीमफेदी गाउँपालिकाले दुइ वर्ष लगाएर डेढ करोड लागतमा गाउँसम्म बाटो पुर्‍याएपछि महभीर, बाह्रघरेसहित गाउँका ३ सय घरका बासिन्दा लाभान्बित भएका छन् ।

भीमफेदी—कोगटे—देउराली—सिस्नेरी सडकखण्डको भीमफेदी—७, मेलटारबाट पालिकाले ८ किलोमिटर लामो सडक निर्माण गरिदिएपछि गाउँलेको गाडी देख्ने र सवारी चढ्ने सपना साकार भएको हो । ‘हामीले बाटो गाउँसम्म आउने कल्पनासमेत गरेका थिएनौं,’ ६६ वर्षीय दिलबहादुर घलानले नेताहरुका अगाडि भनेका थिए ।’ गाउँसम्म जाने सडकखण्डमा पर्ने चक्कुभीर चिरेर बाटो गाउँसम्म बाटो आउने कुरा सोचेका पनि थिएनौं,’ उनले भने ।

हिँड्न पनि मुस्किल हुने भिर काटेर पालिकाले बाटो निर्माण गरेपछि गाउँमा सवारीसँगै गाउँको उत्पादन शहरसम्म ल्याउने अवस्था बनेको छ । बोकेर स्वास्थ्य संस्थासम्म लैजान नसक्दा कति बिरामीले उपचार अभावमा ज्यान गुमाएको वडा सदस्य सीता थिङले बताइन् । उनले भनिन्-अब व्यर्थै ज्यान गुमाउनुपर्ने अवस्थाबाट गाउँले मुक्ति पाएका छन् । पालिकाले निर्माण गरिदिएको सडकका कारण अब बिरामी बोकेर हिँड्नुपर्ने बाध्यता टरेको छ । अब गाउँसम्म एम्बुलेन्स आउँछ,’ उनले भनेकी थिइन् । बाटो गाउँमा पुगेसँगै स्थानीयले आफ्नो बारिमा उत्पादन भएको केराउ, सिमी बिक्री गरेर आयआर्जन गरेको उनले बताइन् ।

बिकटसम्म बाटो पुगेर के भयो र । मकवानपुरको भीमफेदी गाउँपालिकामा एम्बुलेन्स सेवा नै छैन । यसो हुँदा स्थानीय बिरामी पर्दा सास्ती हुने गरेको छ । पालिकाले एम्बुलेन्सको व्यवस्था नगर्दा स्थानीयलाई बिरामी पर्दा सास्ती हुने गरेको गुनासो आएको हो । पालिकामा भरपर्दो अस्पताल नहँुदा सामान्य रोगका बिरामीलाई उपचारका लागि अन्यन्त्र लैजानुपर्ने बाध्यता छ । पालिकामा
रेडक्रसले उपलब्ध गराएको एम्बुलेन्स लामो समयदेखि बिग्रिएर थन्किएको छ । उक्त एम्बुलेन्स मर्मत गरे बिरामीलाई अस्पताल लैजान सहज हुने थियो । तर, यसतर्फ हालसम्म कसैको ध्यान जान सकेको छैन । एम्बुलेन्स सेवा नहुँदा आपत्कालीन बिरामी, अशक्त, बृद्ध तथा घाइतेलाई तुरुन्त अस्पताल तथा स्वास्थ्य संस्था लैजान समस्या हुने गरेको स्थानीयहरुको गुनासो छ ।

स्थानीय सरकारले एम्बुलेन्स सेवा दिन नसक्दा अशक्त बिरामी तथा दुर्घटनामा परेकालाई समयमा अस्पताल पुर्‍याउन नसकिँदा अकालमै ज्यान गुमाउनुपरेको स्थानीय मंगल योञ्जनले गुनासो गरे । पालिकामा हाल सडक सुबिधा छ तर पालिकाले स्थानीयका लागि एउटा एम्बुलेन्सको व्यवस्था गर्न सकेको छैन । एम्बुलेन्स नहुँदा स्थानीय बिरामी पर्दा समयमा अस्पताल पुर्‍याउन समस्या भएको उनको गुनासो छ ।

पालिकाले एम्बुलेन्सको व्यवस्था गर्न आवश्यकता नठानेकै कारण स्थानीयले दुःख पाइरहेको स्थानीयको भनाइ छ । केही समयअघिसम्म रेडक्रसको एम्बुलेन्सले बिरामी ओसारपसार गर्ने गरेको भए पनि हाल रेडक्रसको एम्बुलेन्स पनि थन्किँदा स्थानीयलाई झनै समस्या पर्ने गरेको भनाइ छ । पालिका अध्यक्ष हिदम लामाका अनुसार रेडक्रसको एम्बुलेन्स चलाउने गरेको तर हाल बिग्रिएर थन्किएकाले यसलाई मर्मत गर्ने प्रक्रिया पूरा गर्नुपर्ने भएका कारण ढिला भएको जानकारी दिए । ‘सबै पालिकासँग स्वास्थ्य सेवा उपलब्ध छैन,ं पालिका अध्यक्ष लामाले भने-एक महिनाभित्र पालिकाले पालिकाकै एम्बुलेन्स ल्याउने तयारी गरेको छ । धेरै एम्बुलेन्स किनेर राखेरमात्र हुने नभएका कारण काम चलुञ्जेल नकिनेको अध्यक्ष लामाले बताए ।

भीमफेदी गाउँपालिका २४५.२७ वर्ग किमी क्षेत्रफलमा फैलिएर मकवानपुर जिल्लाको मध्यभागमा अवस्थित छ । पालिकाको केन्द्र साबिक भीमफेदीमा छ । उक्त तह मकवानपुर जिल्लाका ५ वटा साबिक गाविसहरु र १ गाविसका ३ वडालाई मिलाएर बनाइएको हो । पालिकाअन्तर्गत् साबिक गाविसहरुमा भैंसे, निबुवाटार, भीमफेदी, कोगटे, इपापञ्चकन्या, नामटार (१,३,४) छन् । तामाङ, मगर, क्षेत्रीको उच्चतम् बसोबास उक्त क्षेत्रमा पाउन सकिन्छ । पालिकामा ९ वटा वडा छन् ।

जिल्लामा एम्बुलेन्स सञ्चालन, अनुगमन र नियमन गर्ने जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले पनि यस विषयमा फिटिक्कै चासो नदेखाएको सरोकारवालाहरुको भनाइ छ । प्रशासन कार्यालयसँग मकवानपुरमा कतिवटा एम्बुलेन्स छन्, कसकसले सञ्चालन गरिरहेका छन् र कहाँकहाँ छन् भन्नेबारे कुनै जानकारी छैन । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले यस विषय जिल्ला प्रशासन कार्यालयको भएको बताउँदै पन्छिने गरेको छ । एम्बुलेन्स सञ्चालन तथा अनुगमन समितिको सदस्यसचिव जिल्ला स्वास्थ्य कार्यालय हो । सोही हैसियतमा रहेर आफ्नो काम समन्वय गर्नेमात्र भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको दाबी छ । मकवानपुरका १० वटा स्थानीय तहमा विभिन्न संघसंस्थाका ३९ वटा एम्बुलेन्स सञ्चालनमा रहेको बताइएको छ । ३९ एम्बुलेन्समध्ये ५ वटा बिग्रिएर थन्किएका छन् भने ३३ वटामात्र सञ्चालनमा छन् ।

हेटौंडा उपमहानगरपालिकामा १५ वटा एम्बुलेन्स सञ्चालनमा छन् । थाहा नगरपालिकामा ५ वटा, वागमती गाउँपालिकामा ३ वटा, मनहरी गाउँपालिकामा ४ वटा एम्बुलेन्स छन् । कैलाश, इन्द्रसरोवर र राक्सिराङ गाउँपालिकामा १/१ वटा र बकैया गाउँपालिकामा २ वटा एम्बुलेन्स सञ्चालनमा छन् ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here