Homeमुख्य समाचारपहिलो चौमासमा भएन ४ प्रतिशत् पनि खर्च

पहिलो चौमासमा भएन ४ प्रतिशत् पनि खर्च

सुनिता बिष्ट

हेटौंडा/वागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासमा पुँजीगत् खर्च ४ प्रतिशत पनि गरेन । चालु आर्थिक वर्षको साउनदेखि कार्तिक मसान्तसम्मको तथ्यांकअनुसार प्रदेश सरकारले विकासे बजेट खर्च नगरेको पाइएको हो ।

यस अवधिमा पुँजीगत्तर्फ ३.५० प्रतिशत्मात्र खर्च गरिएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । असार १ गते प्रदेश सरकारले ल्याएको कुल ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार बजेटमा ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार रुपियाँ पुँजीगत्तर्फ विनियोजन गरिएको थियो । जसमा चालु आवको चार महिना अवधिमा १२ करोड ९२ लाख ३ हजारमात्र खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । चालु खर्चतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार विनियोजित बजेटमा उक्त अवधिसम्म ३८ करोड २४ लाख ५३ हजार खर्च भएको मन्त्रालयको तथ्यांक छ ।

यसरी हेर्दा यस अवधिसम्म कुल बजेटमा ५ अर्ब ११ करोड ६९ लाख अर्थात् ७.९३ प्रतिशत्मात्र खर्च भएको छ । १४ मन्त्रालय रहेको वागमती प्रदेशमा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासमा प्रदेश सरकारको कुल बजेटको ८ प्रतिशत्भन्दा कम खर्च हुनुले प्रदेश सरकार चलायमान अवस्थामा छैन भन्ने कुरा प्रमाणित गर्ने अर्थविद्हरु बताउँछन् । प्रदेश सरकार बजेट खर्चमा गत आवको पहिलो चार महिनाको तुलनामा चालु आवको चार महिनामा कमजोर देखिएको हो ।

प्रदेश सरकारको प्रमुख प्रतिपक्षी दल नेकपा माओबादी केन्द्रले वर्तमान सरकारको खर्चको रफ्तार हेर्दा विकासको क्षेत्रमा सरकारले कुनै काम नै नगरेको उक्त दलका नेता प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए । जम्कट्टेलले सरकार यतिबेला मन्त्रालय बढाउने, मन्त्री थप्ने काममै व्यस्त भएको बताउँछन् ।

‘हाम्रो नेतृत्वको सरकार हुँदा पहिलो चौमासमा सधैं पुँजीगत् खर्च धेरै हुन्थ्यो,’ जम्कट्टेलले भने-हामीले यस अवधिमा ११ प्रतिशत् बजेट खर्च गरेका थियौं । हाल उहाँहरुको हेर्ने हो भने फेरि १४ वटा मन्त्रालय पुर्‍याउनु भएको छ । वर्तमान सरकारले सुशासन कायम गर्ला जस्तो लागेको छैन । विकास निर्माणका कामहरु, रणनीतिक महत्वका कामहरु सबै पछाडि पार्नुभएको छ ।

प्रदेश सरकार बजेट खर्चमा गत आवको पहिलो ४ महिनाको तुलनामा चालु आवको ४ महिनामा कमजोर देखिएको हो । गत आवको साउनदेखि कात्तिक मसान्तसम्ममा विनियोजित बजेटको चालु र पुँजीगत्र्फ गरी ९ प्रतिशत् खर्च गरेकोमा चालु आवको ४ महिनामा विनियोजित बजेटको ८ प्रतिशत्भन्दा कम खर्च भएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

यसरी पहिलो चौमासमा कुल बजेटको ८ प्रतिशत् पनि बजेट खर्च नहुनुका विविध कारण रहेको प्रदेशका अर्थमन्त्री कुन्दनराज काप्mले बताउँछन् । पछिल्लो समय राजनीतिक अस्थिरता तथा प्राकृतिक विपद्का कारण योजनाहरु सुचारु गर्न नसक्दा प्रदेश सरकारको पुँजीगत् खर्च नबढेको मन्त्री काप्mलेले बताए ।

‘अघिल्लो वर्षको तुलनामा पहिलो चौमासमा करिब ४ प्रतिशत् बजेट खर्च कम भएको देखिन्छ,’ आर्थिक मामिला तथा योजना मन्त्री काफ्लेले भने-प्राकृतिक विपत्का कराण पनि विकासका कामहरु अघि बढाउन नसकिएकै हो । मन्त्रालयले पनि आत्माआलोचना गर्नुपर्छ । अब आउँदो चौमासहरुमा कसरी खर्च बढाउने, विकासका कामहरुलाई तीव्रता दिन के गर्नेलगायत विषयमा मन्त्रालयगत् सचिवहरुसँग छलफल गरेको छु । अब विकासका कामले तीव्रता लिन्छ । चालु आवका लागि विनियोजित बजेटमध्ये चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार रुपियाँ, पुँजीगत्तर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार र वित्तीय व्यवस्थातर्फ एक अर्ब ५० करोड रुपियाँ छ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here