Homeमुख्य समाचारस्यार्से कालिका मन्दिर उद्घाटन

स्यार्से कालिका मन्दिर उद्घाटन

बसन्त भण्डारी

हेटौंडा/मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर-९, नामटारमा अवस्थित ऐतिहासिक स्यार्से कालिका मन्दिर पुनर्निर्माणपछि शनिबार उद्घाटन गरिएको छ । वागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले मन्दिर उद्घाटन गर्दै उक्त क्षेत्रको धार्मिक र ऐतिहासिक महत्वलाई उजागर गर्नुपर्नेमा जोड दिएका छन् ।

सांसद् बानियाँले मन्दिरको ऐतिहासिक पृष्ठभूमिलाई स्मरण गर्दै यसको धार्मिक महत्वलाई अझ प्रवद्र्धन गर्न सकिने बताए । उनले बुढापाकाको कथनलाई उद्धृत गर्दै पृथ्वीनारायण शाहले समेत उक्त मन्दिरमा पूजा गरेको जनश्रुति सुनाए । धार्मिक पर्यटन प्रोत्साहन गर्दै उनले मन्दिर क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा पालिका अध्यक्ष लोक मोक्तानले नामटार क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न योजनाबद्धरुपमा काम
भइरहेको बताए । उनले मन्दिरलगायत अन्य स्थानीय सम्पदा संरक्षण र प्रवद्र्धनका लागि स्थानीयको सहयोगको महत्वलाई पनि औंल्याए । ‘नामटारलाई आर्थिक विकासको केन्द्रका रुपमा विकास गर्न हामीले प्राथमिकतासाथ काम गरिरहेका छौं,’ उनले भने ।

उक्त मन्दिर २०५० सालको बाढीले भत्किएको थियो । मन्दिर पुनर्निर्माणका लागि कुल २५ लाख खर्च भएको छ । प्रदेश सरकारले १५ लाख र पालिकाले १० लाख आर्थिक सहयोग गरेका थिए । मन्दिर संरक्षणका लागि यस वर्ष प्रदेश सरकारबाट थप १४ लाख बजेट बिनियोजन गरिएको छ ।

पालिका वडा नम्बर-९ का वडाध्यक्ष भुवनसिं घलानका अनुसार मन्दिर पुनर्निर्माणसँगै खोलानियन्त्रण, चौर सम्याउने, र पर्यटकीय सुबिधाका लागि संरचना निर्माण गर्न थप १० करोड आवश्यक पर्ने अनुमान गरिएको छ । उनले मन्दिरलाई धार्मिक तीर्थस्थलका रुपमा विकास गर्न व्यापक योजना तयार गरिएको बताए ।

परापूर्वकालमा १००८ ऋषिमुनिले तपस्या गरेको मानिने मन्दिरमा भक्तजनले विशेषगरि चण्डीपूणर्िमा र धान्यपूणर्िमामा पूजा गर्ने परम्परा छ । स्थानीयसहित छिमेकी जिल्लाका साथै भारतका सीमावर्ती क्षेत्रका भक्तजन पनि मन्दिर दर्शनका लागि आउने गरेका छन् । स्यार्से कालिका मन्दिरको पुनर्निर्माणले धार्मिक आस्थासँगै पर्यटन विकासको ढोका खोल्ने विश्वास स्थानीयले व्यक्त गरेका छन् । उक्त मन्दिर अब साँस्कृतिक, ऐतिहासिक र आर्थिक दृष्टिले क्षेत्रीय पहिचानको प्रतीक बन्ने अपेक्षा गरिएको छ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here