सुनिता बिष्ट
हेटौंडा/वागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठले पदभारग्रहण गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयपरिसरमा रहेको भवनमा उनले पदभारग्रहण गरेका हुन् ।
मन्त्रीको सपथ खाएको १ सय ११ आंैं दिनमा मन्त्रालय पाएका सहकारी मन्त्री श्रेष्ठले मन्त्रालयको नाम पाएको ११ औं दिनमा पदभारग्रहण गरेका हुन् । साउन ९ गते मन्त्री नियुक्त हुँदै पद तथा गोपनियताको सपथ खाएका मन्त्री श्रेष्ठले कार्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकको निणर्यले मन्त्रालय विभाजन गरेर श्रेष्ठलाई दिने मन्त्रालयको टुंगो लगाएको थियो ।
प्रदेशको सँस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र मुख्यमन्त्री कार्यालयमातहतमा रहेको गरिबी निवारण विभाजन गरेर सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाइएको हो । पदभारग्रहण गर्दै मन्त्री श्रेष्ठले दुई निणर्यमा हस्ताक्षर गरेका छन् । वागमती प्रदेशमा गरिबीको रेखामुनि रहेका जनसंख्या र परिवार एकिन गरी उनीहरुको जीवनस्तर उकास्न र आत्मनिर्भर बनाउनका लागि विशेष कार्ययोजना तर्जुमा गर्ने निणर्यमा उनले हस्ताक्षर गरेका छन् भने सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी महाशाखाले कार्ययोजना पेश गर्ने निणर्यमा हस्ताक्षर गरेका हुन् ।
मन्त्री श्रेष्ठले कार्यभार सम्हाल्दै कर्मचारीहरुले जनताको सेवक भएर काम गर्न निर्देशन दिए । ‘विशेषगरि सहकारी क्षेत्रको समस्या व्यापकरुपमा बढ्दो छ,’ उनले भने-त्यसमा व्यक्ति, पद तथा पार्टीको म चिन्दिनँ । त्यसमा तपाईंहरुले छानबिन गरेको ल्याउनुभएको कागजमा हात नकमाइ सही गर्ने जिम्मेवारी मेरो भयो ।