मनिता राना
हेटौंडा/हेटौंडा-८ मा बस्दै आएका सेफउल मन्सुरी विहानै सिरक/डसना उद्योगमा आइपुग्छन् । उनी विहानै बजारमा रहेका कपडा पसलबाट आएको मागका आधारमा सिरक/डसना बनाउने कार्यमा लागिपर्छन् ।
मन्सुरीको दैनिकी हाल सिरक/डसना बनाउने कार्यमै बित्ने गरेको छ । केही दिनयतादेखि बढेको चिसोका कारण हेटौंडामा न्यानो लुगाको कारोबारमा वृद्धि भएको छ । उपभोक्ता चिसोको बेला आवश्यक पर्ने न्यानो लुगा किनमेल गर्न आएपछि यहाँ न्यानो लुगाको कारोबारमा वृद्धि भएको व्यापारीले बताएका छन् । चिसोका बेला आवश्यक पर्ने सिरक, डसना, रुवा, कुर्तासुरुवाल, टोपी, बल्याङ्केटलगायत लुगाको कारोबारमा वृद्धि भएको कपडा बिक्रेता शम्भु शाहले बताए ।
सिरक/डसना बनाउनको संख्या वृद्धि भएको स्थानीय खालीद मन्सुरीले बताए । हेटौंडा र छिमेकी पालिकाहरुमा दैनिकरुपमा करिब १५ लाखभन्दा बढीको न्यानो लुगाको कारोबार हुने गरेको व्यवसायीले बताएका छन् । हेटौंडामा करिब एक सय कपडा पसलमा सेवाग्राहीको दैनिक चाप बढ्दो क्रममा रहेको व्यापारीले बताएका छन् । तयारी पोशाकमा ज्याकेट, स्वीटर, गलबन्दी, टोपी, ट्रयाकसुट, जम्फरलगायतको बिक्री बढ्नुका साथै सिरक/डसना बनाउने क्रम बढेको व्यवसायीले बताएका छन् । चिसोका बेला सिरक र डसनाको माग बढेपछि व्यापारीले मूल्यवृद्धि गरेको स्थानीय उपभोक्ता चन्दन रानाले बताए ।
पुराना नफाल्नुहोस्
जाडो याम लागिसक्यो । चिसो बढेसँगै न्याना सिरक/डसना जोहो गर्न थाल्नुभयो होला । पुराना भएकाहरु फालेर नयाँ किन्ने सोच बनाउनुभयो होला । तर, तपाईंलाई थाहा छ, नयाँ सिरक/डसनाका लागि धेरै पैसा खर्चिनु पर्दैन भनेर ? सबभन्दा पहिले त पुराना सिरक/डसना फाल्दै नफाल्नुहोस् । पुराना, झुत्रा, कामै नलाग्ने भएका कपडा पनि बटुल्नुहोस् । यी सबै बोकेर तपाईं कहीं जान पर्दैन । यी सामानबाट तपार्इंंले घरमै बसीबसी थोरै पैसामा नयाँ सिरक/डसना बनाउन सक्नुहुनेछ ।
यी कपडाबाट नयाँ सिरक/डसना बनाउने मेसिनसहितको गाडी बोलाउनुहोस् । यसले घरमै आएर थोत्रा कपडाबाट तपाईंले चाहेजस्तो डिजाइन र आकारको सिरक/डसना, सिरानी, चकटीलगायत सामान बनाइदिन्छ । यस्तै मेसिनसहितको गाडी लिएर आउनेमध्ये एक हुन् रोज मोहम्मद । उनी घरघर गएर पुराना कपडाबाट नयाँ सामान बनाइदिन्छन् । यसरी बन्ने नयाँ सिरक/डसना बजारमा पाइनेभन्दा सस्तो र गुणस्तरीय हुने उनी बताउँछन् ।
‘ग्राहककै पुराना कपडा पेलेर उहाँहरुकै आँखाअगाडि सिरक, डसना, सिरानी बनाइदिन्छौं,’ रोजले भने-रेडिमेडभन्दा २-४ सय सस्तो पर्छ । भनेजस्तो आकार र डिजाइन हुन्छ । यसरी बनाएको बलियो पनि हुन्छ । सबभन्दा पहिले सबै पुराना कपडा एक ठाउँमा राखिन्छ । लेदरबाहेक सबै किसिमका कपडा राख्न सकिन्छ । लुगामा भएका टाँक वा अन्य धातुका सामान निकाल्नुपर्छ । त्यसपछि गाडीमा जोडिएको मेसिनमा हालिन्छ । कपडाको लहरो बनाएर बटार्दै मेसिनमा राख्दै जानुपर्छ । कपडाको लहरा थप्दै जानुपर्छ । यसरी मेसिनले विस्तारै कपडा काट्दै मसिनो बनाउँछ । केही छिनमा यसले कपासकै रुप लिन्छ । काम पाउने हो भने एक दिनमा ५० भन्दा बढी डसनाका लागि कपास निकाल्न सकिने रोज बताउँछन् ।
रोजका अनुसार बजारमा समान्यतया बेचिने डसना, चकटी, सिरानी कालो कपासबाट बन्छ । यी कपास पनि यस्तै पुराना कपडा पेलेर बनाइएको हुन्छ । ‘हामीले प्रायः डसनाहरु कालो कपासबाट बनाउने गरेका छौं । सेतो कपासको बनाउन महंगो पर्छ,’ उनले भने-बढी भारि पनि । त्यसैले बजारमा ठीकै खालको तयारी डसनालगायत किन्नुभन्दा घरमै यसरी बनाउनु किफायति हुन्छ ।
रौतहट घर भएका २९ वर्षीय रोजको पुस्तेनी पेशा नै सिरक/डसना बनाउने हो । उनीभन्दा अगाडिका पुस्ताले घरघरमा गइ पुरानो कपास दह्रो लौरोले पिटेर मिहीन बनाउँथे । अनि, हातले सिलाएर सिरक/डसना बनाउँथे । रोजले भने यही कामलाई प्रविधि प्रयोग गरेर सजिलो र छिटो बनाएर निरन्तरता दिइरहेका छन् । बाउबाजेले गर्दै आएको तरिकाभन्दा हालको तरिकामा काम गर्न सजिलो भएको उनको अनुभव छ । रोज १६ वर्षदेखि यस काम गर्दैछन् ।
‘बजारमा पुरानो कपडा पेलेर बनेको कपासबाट डसना बेच्छन् भनेर थाहा पाउने ग्राहकलाई शंका हुन्थ्यो । कतै मरेका मान्छेका वा फोहोर कपडा बटुलेर बनाउने हो कि भनेर हिच्किचाउँथे पनि,’ रोजले सुनाए-तर, हाल घरघरमा मेसिन लगेर उनीहरुकै कपडाबाट बनाइदिएपछि खुबी हुन्छन् ।
सुबिना भट्टराईले हाल घरमा भएका पुराना कपडाबाट नयाँ डसना बनाउँछिन् । भन्छिन्-पहिले घरका पुराना कपडा टाउको दुखाइ बन्थे । फाल्न लोभ लाग्ने । प्रयोगमा नआउने । घरमा जता हेर्यो, कपडा नै कपडा । कति कपडा त मनमा ढुंगै राखेर फोहोरमा फालें । अब घरमै कपडाको सदुपयोग हुने थाहा पाएदेखि त धेरै चकटी, सिरानी र डसना बनाइसकेकी छु । यसरी सिरक/डसना बनाउन तौल र यसका लागि चाहिने सामान कुन राख्ने भन्ने आधारमा ज्याला तोकिने रोज बताउँछन् । रोज जाडो महिनाभरि सिरक/डसना बनाउन व्यस्त हुन्छन् । दैनिक ३० हजारसम्मको व्यापार हुने उनले सुनाए । सिजनमा त ३-४ जना कामदार राखेर काम गर्छन् । यही व्यापारबाट उनले ३ छोराछोरीसहित ५ जनाको परिवार राम्ररी धानेका छन् ।