हेटौंडा/मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि निर्वाचना आचारसंहिता लागु भइसकेको छ । आइबार मंसिर २ देखि निर्वाचन आचारसंहिता लागु भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागु गर्ने निणर्य गरेको हो ।
तर, राजनीतिक दलमा आवद्ध व्यक्तिहरुले निर्वाचन अयोगको अचारसंहितालाई नै लत्याउ“दै उम्मेदवारहरुको प्रचारप्रसार तथा पार्टी प्रवेश कार्यक्रमलाई महत्वमा राख्दै आएको पाइएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१२ मा पनि उपनिर्वाचन हुँदै छ । आयोगले प्रकाशन गरेको आचारसंहिताअनुसार जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागु हुने भनिएकोमा मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख आफंै माओबादी केन्द्रका उम्मेदवार रविन प्रधानको प्रचारप्रसार तथा पार्टी प्रवेश कार्यक्रममा व्यस्त देखिएका हुन् ।
जिसस प्रमुख ललित घलानले पार्टी प्रवेश गराएको तस्बिर सामाजिकसञ्जाल फेसबुकमा राख्दै माओबादी केन्द्र मकवानपुर इञ्चार्ज विजय गौतमले लेखेका छन्-आजको विहानी, नवप्रवेशी युवाहरुबीच, न्यानो स्वागत । पार्टी प्रवेश गराउने व्यक्ति हुन्, मकवानपुर जिसस प्रमुख घलान । पार्टी प्रवेश गराउने कार्यक्रममा मात्र नभएर घलान उम्मेदवार प्रधान जिताउन घरदैलो अभियानमा समेत जुटेका छन् ।
माओबादीका घलानले मात्र होइन, नेकपा एमालेका नेताहरुले समेत केही दिनअघि पार्टी कार्यालयमै पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको थियो । यसरी जिसस प्रमुखदेखि अन्य दलहरुले समेत निर्वाचन आचारसंहिता उलघंन गर्नु राम्रो नभएको मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले बताइन् । आफूहरुको पछिल्लो काम नै आचारसंहिता सिकाउने, बुझाउने भएको बताउँदै उनले भनिन्-आज पनि हामीले सम्बन्धित सरोकारवाला निकायहरुसँग आचारसंहिताको विायमा छलफल गर्यौंं । यसरी यस समयमा पार्टी प्रवेश गराउनेदेखि भोट माग्ने, सामाजिकसञ्जाल प्रयोग गरेर मतदातामाझ भ्रम फैलाउने आदि कामहरु गर्न पाइँदैन । यस्तो विषयमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परे छानविन गरेर कारबाहीसमेत गर्न बाध्य हुनेछौं ।
मुख्य निर्वाचन अधिकृत भट्टराईका अनुसार हालसम्म यस्ता कुनै उजुरी दर्ता भएका छैनन् । निर्वाचन आचारसंहिता लागु भएका समयमा सार्वजनिक पदधारण गरेका व्यक्तिहरुले यस्ता कामहरु नगर्नसमेत उनले अनुरोध गरिन् । हेटौंडा-१२ को वडा अध्यक्षका लागि हुन लागेको उपनिर्वाचनका लागि १२ जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । ९ राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् भने ३ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् । २०७९ बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित वडाध्यक्ष ललित घलान जिसस मकवानपुर प्रमुखमा निर्वाचित भएपछि रिक्त रहेको वडाध्यक्षका लागि यहाँ उपनिर्वाचन हुन लागेको
हो ।