Homeमुख्य समाचार‘हाम्रो सन्तानको मूल्य ८ लाख हो ?’

‘हाम्रो सन्तानको मूल्य ८ लाख हो ?’

हेटौंडा/असोज ११ गतेदेखि देशभर अविरल वर्षा भयो । पूरा देश बाढी र पहिरोको प्रकोपबाट आक्रान्त भयो । यसबीच असोज १२ गते शनिबारको दिन एकाविहानै मकवानपुरको सिस्नेरीबाट एउटा मनै चुँडिने समाचार आयो-अखिल नेपाल फुटबल संघले चलाएको सिस्नेरी एन्फा एकेडेमीका ६ बालकको पहिरोमा पुरिएर ज्यान गयो ।

प्राकृतिक प्रकोपले देशभर बितण्डा मच्चाइरहेको थियो । हृदयविदारक खबरहरु आइनै रहे । तर, सिस्नेरीको घटना फगत प्राकृतिक प्रकोपमात्र थिएन । त्यहा“ एकेडेमीमा थुप्रै लापरबाही भएको र त्यही लापरबाहीका कारण ६ अवोध बालकले ज्यान गुमाउनुपरेको विश्लेषणहरु पनि आइरहेका थिए ।

राष्ट्रिय खेलाडी बन्ने सपना पूरा गर्नका लागि एन्फाको एकेडेमीमा पठाइएका सन्तानको दुर्भाग्यजनक अवसानले परिवारमा ठूलै बज्रपात भयो । मनमा कहिल्यै नभरिने गहिरो घाउ लाग्यो । संघीय संसद् चलेको थिएन । तथापि, समितिमार्फते उक्त घटनामाथिको छलफल संसद्सम्म पुग्यो । आफ्ना अवोध सन्तानले अनाहकमा ज्यान गुमाउनुपरेको विषयले संसदीय छलफलमै प्रवेश पाएपछि अभिभावकलाई सन्तान गुमाए पनि कम्तिमा न्याय पाउने आशा थियो । यही आशा बोकेर प्रहरी, एन्फा, राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्री हुँदै प्रधानमन्त्रीसम्म न्यायको भिख माग्दै धाउनमै अभिभावकहरुले झण्डै दुई महिना खर्चिए ।

तर, सरकारको शीर्ष नेतृत्वदेखि तलैसम्म ६ अवोध बालकले ज्यान गुमाउनुपरेको विषय कसैको पनि प्राथमिकतामा परेन । राष्ट्रिय खेलाडी बनेर नेपाली फुटबलमा सेवा गर्ने लक्ष्य बोकेका आफ्ना सन्तानको जीवन चुँडिएको घटना अभिभावकले बिर्सन सक्ने खालको थिएन । खासमा त यसबीचमा यसबाहेक उनीहरुको मनमष्तिष्कमा अरु कुनै विषय पनि आउनै सकिरहेको थिएन ।

सन्तानसँग बिछोडिनु पर्नाको पीडा दबाएर ५३ दिनसम्म शान्त बसेका अभिभावकले अब नबोली न्याय नपाउने ठहर गर्दै मंगलबार पत्रकार सम्मेलन गरे । जहाँ सिस्नेरी घटनामा ज्यान गुमाएका सबै ६ खेलाडीका अभिभावक थिए । अनि उनीहरुसँग थियो, प्रशासनप्रतिको चर्को आक्रोष, सन्तान गुमाएको पीडा, असह्य रोदन, कहिल्यै नरोकिने आँसु । कार्यक्रममा एन्फाका केही पदाधिकारी थिए । केही पूर्वखेलाडी थिए । अनि ठूलो संख्यामा पत्रकार उपस्थित
थिए ।

घटनामा प्रियान्स आचार्य, अनुपम घलान, विकल रेग्मी, साइमन योन्जन, आदित्य बलम्पाकी र विवश बानियाँको मृत्यु भएको थियो । ‘हामी यहा’ आफ्ना सन्तानमाथि भएको अन्यायको कुरा राख्न आएका हौं । उनीहरुलाई न्याय मिलोस् भनेर भिख माग्न आएका हौं । सरकारले हाम्रो आँसु देखेन । प्रधानमन्त्रीले हाम्रो पीडा बुझेनन् । खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले पनि यति ठूलो लापरबाही देखेन । पुलिस त पहिलो दिनदेखि नै हाम्रा सन्तानमाथि भएको अन्याय लुकाउन लागिपरेको छ,’ सुजन बलम्पाकीका अभिभावक भरतबहादुर थापा पत्रकार सम्मेलनमा भक्कानिए-त्यही भएर हामी पत्रकारहरुको शरणमा आएका छौं ।

एन्फाले घटनाको छानविन गर्न समिति गठन गरेको थियो । तर, आफ्नै चरम लापरबाहीका कारण घटेको घटनाका लागि गठन गरिएको समिति अर्थहीन रहेको पीडित परिवारको गुनासो छ । ॅजसले आफ्नो गल्ती स्वीकार्न सक्दैन, उसैले गठन गरेको छानविन समितिको विश्वास कसरी गर्ने ? एन्फा आफैं अपराधी हो । समिति गठन गरे पनि हालसम्म हामीले के पायौं ? हालसम्म न विद्यालयले नै घटनाको यथार्थ भन्न खोजेको छ, न त एन्फाले नै,’ विकल रेग्मीकी आमा कमला रेग्मी भन्छिन्-उहाँहरुले त घटनालाई प्राकृतिक प्रकोपसँग जोड्नुभएको छ । तर, तीन दिन अघिदेखि बाढीपहिरोको सूचना जारी भएको थियो । सिस्नेरी गाउँको उद्धार हुन सक्ने, हाम्रा छोराहरुको चाहिं हुन नसक्ने ?

रेग्मीले एन्फामाथि आठ लाख रुपियाँमा आफूहरुलाई किन्न खोजिएको आरोपसमेत लगाइन् । ‘हामीलाई एन्फाले आठ लाख रुपियाँको चेक प्रदान गरेको थियो । जुन कुरा एकदमै निन्दनीय छ । के हाम्रो सन्तानको मूल्य आठ लाख हो ? एन्फाले हामीलाई चोटमाथि चोट दिएको छ,’ रेग्मीको गुनासो छ ।

सिस्नेरी एन्फा एकेडेमीमा ४० खेलाडी आबद्ध थिए । घटनाको दिन वार्डेनले खेलाडीलाई आउन सक्ने खतरालाई बेवास्ता गर्दै होस्टलबाट बाहिर जान आदेश दिएको पीडित परिवारले बताएको छ । ॅआमा, पानी आयो, मलाई बचाउनुहोस् भन्दै छोराले फोन गरेको थियो । सुरक्षित ठाउँमा सार्नुहोस् भनेर भन्दा त्यहाँका होस्टल वार्डेनले केही हुँदैन भनेर नसारेको गुनासो गरिरहेको थियो,’ अनुपम घलानकी आमा ललिता घलान रुँदै बोल्छिन्-विहान साढे पा“च बजे वार्डेनले भाग भनेर भनेपछि बच्चा भागेका रहेछन् । कताबाट जाने, के गर्दा सजिलो हुन्छ, बच्चाहरुलाई त्यो केही पनि बुझाइएन । त्यस्तो विपत्तिको बेला जतिसक्दो हल्का बनाएर पठाउनुपर्नेमा भारि झोला बोकाएर पठाए । ससाना बालकहरुले स्थितिको मूल्यांकन गर्न सक्ने कुरै भएन । कसैले उनीहरुलाई नडोहोर्‍याएपछि स्थिति नबुुझिकन सबैजान गह्रौं झोला बोकेर दौडिए ।

पीडित परिवारले न्यायबाहेक आफूहरुलाई केही नचाहिने प्रष्ट पारेका छन् । ‘हामीलाई न्यायमात्र चाहिएको हो । सरकारी तहबाट उच्चस्तरीय निष्पक्ष छानविन समिति बनाएर प्रतिवेदन सार्वजनिक गरियोस् । दोषीमाथि कारबाही होस् । ता कि भविष्यमा अरु थुप्रै छोराछोरीले अनाहकमा ज्यान गुमाउनु नपरोस् । फुटबल खेलाडी बनेर देशको सेवा गर्ने लक्ष्य लिएका हाम्रा सन्तानले अकालमा ज्यान गुमाउनुपर्‍यो । अब उनीहरुलाई अमर बनाउने केही काम गरियोस्,’ पीडितहरु एक स्वरमा भन्छन् । सरकारबाट न्याय नपाए नेपाली फुटबलमा कडा आन्दोलन गर्ने र अदालतको ढोका ढक्ढक्याउनेसम्मको योजनामा आफूहरु रहेको पीडित परिवारले बताए । ‘आवश्यक प्रमाण लिएर जाहेरीमा पनि जान्छौं,’ उनीहरु भन्छन् ।

तीन घण्टा तालाबन्दी

सिस्नेरी एन्फा एकेडेमी घटनामा ६ बालक गुमाएका परिवारले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा तीन घण्टा तालाबन्दी गरेका छन् । बिहीबार सातदोबाटोस्थित मुख्यालय गेटमा पुगेर ६ बालकका परिवारले तालाबन्दी गरेका हुन् । पछि नेपाल प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाएको थियो । एन्फा मुख्यालयमा ललित स्मृति यु-१८ लिग चलिरहेको छ । तालाबन्दी गरेपछि खेल हेर्न जाने र खेल्न जाने खेलाडी नै केही घण्टा बाहिर बस्नुपरेको
थियो ।

एन्फाले ५५ दिनसम्म कुनै ठोस योजना नल्याएको भन्दै मुख्यालयमै तालाबन्दी गर्न पुगेका हुन् । उनीहरुले न्याय नपाएसम्म धर्ना बस्ने बताउँदै आएका छन् । ‘हामी न्याय माग्न काठमाडौं आएका थियौं । तर, एन्फाले कुनै चासो देखाएपछि यो निणर्यमा पुग्यौं,’ प्रियान्स आचार्यकी आमाले भनिन्-हामीविरुद्ध प्रहरी परिचालन गरियो । पछिल्लो समय एन्फाले यही घटनाको सत्यतथ्य छानविन गर्न समिति गठन गरेको छ । तर, प्रभावकारी नभएको उनीहरुको आरोप छ । उनीहरुले आज शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पनि धर्ना बस्ने योजना बनाएका छन् ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here