मनिता राना
हेटौंडा/दुई वर्षपछि काम विशेषले हेटौंडा आइपुगेका रामराज जोशीले भने-रातिको समयमा रंगीबिरंगी बत्तीको उज्यालोमा हिँड्दा विकसित सहरमा पुगेको अनुभव भयो । मुख्य बजार क्षेत्रको बत्तीले सर्वसाधारणलाई हिँडडुल गर्न सहजमात्र नभइ पसल पनि राति अबेरसम्म खुल्न थालेका छन् ।
हेटौंडा बजारमा बेलुकाको समयमा झिलीमिली देख्न सकिन्छ । हेटौंडाको बुद्धचोकदेखि बजारवरपरका सम्पूणर् रुखहरुमा बत्तीको झिलीमिलीले सजाइएको हो । तिहारको समयमा बजार उज्यालो बनाउन जडान गरिएको बत्ती हालसम्म पनि हेटौंडा बजारमा देख्न सकिन्छ ।
बजारमा जताततै उज्यालो छाउँदा बजारको रौनक बेग्लै भएको हेटांैडा-१० मा घडी मर्मत व्यवसाय गर्दै आएका पृथ्वीमान श्रेष्ठले बताए । मानिसहरु राति अबेरसम्म आवतजावत गर्दा बत्तीको उज्यालोले सजिलै हिँड्न सकेको उनले बताए । लामो समयदेखि झलमल्ल भएको बजार अब बत्ती निकाल्दा नरमाइलो लाग्नसक्ने उनको गुनासो छ । ननिकाले हुने भन्ने उनलाई लागेको छ ।
दीगोरुपमा हेटौंडा बजारलाई झिलीमिली र उज्यालो बनाउनका लागि हेटौंडाको बुद्धचोकदेखि वरपर बत्ती जडान गरिएको हेटौंडा उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले बताए । ‘हाल बलिरहेको बत्ती निरन्तर बलिरहन्छ । स्ट्रिटलाइटलगायत अन्य बत्तीले बजार क्षेत्र झिलीमिली र उज्यालो देखियोेस् भन्ने उद्धेश्यले राखिएको हो,’ प्रवक्ता न्यौपानेले भने ।
हेटौंडाको हाइवे नेवारपानीदेखि ओम्याक्स हलसम्म र १८ नम्बर वडादेखि फुर्केचौरसम्म, हाइवेदेखि चौकीटोलसम्म हेटौंडा उपमहानगरपालिकाको सहयोगमा तिहारलक्षित झिलीमिली बत्ती जडान गरिएको प्रवक्ता न्यौपानेले बताएका छन् । ॅयस वर्ष हेटौंडा उपमहानगरपालिकाले ५२ लाख बजेट छुट्याइएको उनले जानकारी दिए । रुखमा जडान गरिएका लाइटहरु खासमा तिहारलक्षित गरेर हालिएको र अब बत्ती निकाल्दा बजार अँध्यारो नहोस् भनेर निरन्तर रहिरहने उनले बताए । अब बाँकी पोलहरुमा पनि राम्रा बत्ती जडान गरिने उनको भनाइ छ । बत्तीबाट यात्रुलाई खासै जोखिम नहुने उनले बताए । आर्थिक चहलपहल बढी हुने उपमहानगर क्षेत्रका चोकमा लाइट जडान भएको छ ।
कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने बत्ती जडान गरिएको हो । ती लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई वृद्धि गरी हेटौंडाको रात्रिकालीन सौन्दर्यता बढाएको छ । ‘उज्यालो हेटौंडा’ अभियानअन्तर्गत् मुख्य बजारका सडकमा रंगीबिरंगी बत्ती जडान गरिएसँगै हेटौंडा बजार क्षेत्रका सडक रातमा झिलीमिली बनेको छ । मुख्य सडकका रुखहरुमा सेतो, नीलो र रातो रङको बत्ती एकसाथ बल्न थालेसँगै हेटौंडा बजारको सुन्दरता बढाएको हो । उपमहानगर क्षेत्रको सडक र स्तरोन्नति गरिएका मुख्य सडकमा रंगीबिरंगी बत्ती जडान गरिएको छ । उनले सडकमा बल्ने झिलीमिली बत्तीले हेटौंडाको स्वरुप फेरिएको बताए ।