Homeमुख्य समाचारराजनीतिक चक्रब्युहको फाइदामा एमाले

राजनीतिक चक्रब्युहको फाइदामा एमाले

सुनिता बिष्ट

हेटौंडा/हेटौंडा उपमहानगरपालिका-१२ को वडा अध्यक्षमा हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका १४ जना मध्ये एक हुन् राजेश नगरकोटी । नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका नगरकोटीको दोस्रो पटक सोही वडाको वडा अध्यक्षका लागि उम्मेदवारी हो ।

२०७९ को स्थानीय तह निर्वाचनमा पनि नगरकोटीले वडा अध्यक्षमा चुनावी मैदानमा उत्रिएका थिए । उतिबेला उनी झीनो मतले हार व्यहोरेका थिए । वडा अध्यक्षका लागि तीन ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रबीच प्रतिस्पर्धा हुने आँकलन छ । त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारीलाई समेत प्रतिस्पर्धाकै रुपमा हेरिएको छ । गत स्थानीय तह निर्वाचनमा वडा अध्यक्षबाहेक ४ वटै सदस्यमा जित हासिल गरेको एमालेको पोल्टामा यस पटक अध्यक्षसमेत पर्ने सम्भावना चुलिएको हो ।

गत स्थानीय तह निर्वाचनमा अध्यक्षमा माओबादीका ललितबहादुर घलान, कांग्रेसका अर्जुन तिवारी र एमालेका नगरकोटीबीच चुनावी प्रतिस्पर्धा भएको थियो । जसमा तीन जना उम्मेदवारले उस्तै हाराहारीमा मत ल्याए । १ हजार ३ सय ७१ मत ल्याएका माओबादीका घलान विजयी भए । कांग्रेसका तिवारीले १ हजार ३ सय ४० मत ल्याउँदा नगरकोटीले १ हजार ३ सय २५ मत प्राप्त गरे । अध्यक्ष माओबादीको पोल्टामा परे पनि वडा सदस्यको सिंगो टिम नै नेकपा एमालेले जित्यो ।

माओबादीका घलान वडाका निकै प्रभावशाली व्यक्ति हुन् । भनिन्छ, आँखामा राख्दा पनि नबिझाउने । त्यस्तै हुन् उनी पनि । सोही कारण २०७४ मा विजयी भएको वडामा दोस्रो पटक पनि विजय हासिल गर्न सफल भए । आफ्ना प्यानलका सबै वडा सदस्यहरुले हार व्यहोर्दा घलानमात्रले जित हासिल गर्न सफल भएका हुन् । वडाध्यक्षमा विजयी भएका घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि वडा साढे दुई वर्षदेखि कार्यबाहक अध्यक्षका रुपमा वडा सदस्यले कार्यभार सम्हाल्दै आएका छन् ।

मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको नेपाली कांग्रेसका उम्मेदवार हुन् अर्जुन तिवारी । वडा अध्यक्षका लागि तिवारीको यो तेस्रो उम्मेदवारी हो । २०७४ र गत स्थानीय तह निर्वाचनमा समेत उनले चुनावी प्रतिस्पर्धा गरेका थिए । तर, उनलाई सधैं माओबादीका घलानले नै हराउँदै आएका छन् । यस पटक घलान चुनावी मैदानमा नभएका कारण वडा अध्यक्ष आफ्नो पोल्टामा पार्न सकिन्छ कि भन्ने दाउमा छन् उनी । तिवारी वडाका प्रभावशाली नेता हुन् । तर, कांग्रेसभित्रको आन्तरिक द्वन्द्वको शिकारले उनको वडा कार्यालयको यात्रामा ब्रेक लगाउला कि भन्ने तर्क गरिएको छ । मकवानपुरमा कांग्रेसभित्र प्रदेश सभापति तथा प्रदेश सांसद् इन्द्रबहादुर बानियाँ र कांग्रेस सहमहामन्त्री डीना उपाध्याय गरी कांग्रेस दुई गुटमा विभाजित छ ।

तिवारी बानियाँका खास व्यक्ति हुन् । जसको असर आउँदो मंसिरको उपनिर्वाचनमा नपर्ला भन्न सकिन्न । २०७९ को स्थानीय तह निर्वाचनमा विजयी भएका घलानभन्दा ३१ मतान्तरले मात्र पराजित भएका तिवारी मतान्तर पुरेर विजयी हुने दाउमा चुनावी मैदानमा उत्रिएका हुन् ।

यस पटक रास्वपाले पनि आफ्नो उम्मेदवार खडा गरेको छ । माओबादी केन्द्र छाडेर रास्वपामा मोडिएका उम्मेदवार आशावीर बलको उम्मेदवारीले एमालेका नगरकोटीलाई सहयोग पुर्‍याउन सक्छ । गत स्थानीय तह निर्वाचनमा माओबादीले घलानलाई दिएको मत बलले काट्न सक्छन् ।

माओबादीका पुराना नेताका रुपमा आफ्नो राजनीतिक छवि बनाएका बल रास्वपामा लागे पनि वडाका धेरै मानिसले बललाई विश्वास गर्ने गरेका छन् । जसले नगरकोटीलाई फाइदा पुग्नसक्ने अनुमान गर्न सकिन्छ । युवा संघ मकवानपुरको अध्यक्षसमेत रहेका उनलाई पार्टीले शिक्षित व्यक्ति भएका कारण दोहोर्‍याएर टिकट दिएको बताइन्छ । वागमती प्रदेशका पूर्वखानेपानी, ऊर्जा तथा सिंचार्इं मन्त्री एकालाल श्रेष्ठको सचिवालयमा हुँदा हेटौंडा-१२ का लागि खानेपानी र सिंचाईंको क्षेत्रमा बजेट भित्र्याएका कारण पनि मतदाताले नगरकोटीलाई नै विश्वास गर्ने दाबी छ ।

एक वडाध्यक्षका लागि ९ राजनीतिक दल र ५ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नेकपा एमालेका नगरकोटी, नेपाली कांग्रेसका तिवारी, माओबादी केन्द्रबाट रविनकुमार प्रधानले उम्मेदवारी दर्ता गराएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रेमबहादुर भ्लोनले उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट बल, जनता समाजवादी पार्टी (जसपा) बाट छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशनबाट दीपा लामा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट फूलमाया तितुङ, नेकपा (एकीकृत समाजवादी) बाट बलराम बलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयकी प्रमुख निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले जानकारी दिइन् । उनका अनुसार पाँच जना स्वतन्त्र उम्मेदवारहरुले समेत आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । जसमा अर्जुन घलान, कुमार पोखरेल, गीताकुमारी नेवार, छत्रप्रकाश अधिकारी र युनेश लामासिन्तान छन् ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here