मनिता राना
हेटौंडा/मकवानपुरको भीमफेदी गाउँपालिकामा करिब ३ वर्षयता बाँदर आतंकले अन्नबालीमा नोक्सानी पुर्याएको छ । कृषकको जीवन धान्नका लागि लगाइएको अन्नबाली बाँदरले नष्ट गर्ने गरेको स्थानीयले गुनासो गरेका छन् ।
आफूले लगाएको अन्नबाली दिनदिनै बाँदरले खाने र फाँडेर नष्ट गर्ने गर्नाले किसानहरु निराश बनेका छन् । गाउँघरमा अन्नबाली जोगाउन निकै मुस्किल भएको भीमफेदी-६ का कृष्णबहादुर मगरले बताए । मकै, धान, कोदो, फापर, गहँु, तोरीलगायत तरकारीमा बाँदर लाग्न थालेपछि किसानहरु पनि निराश हुनुपरेको उनले बताए । ‘खेतबारिमा केही राख्न दिँदैन,’ मगरले भने ।
दिनरात नभनी दुःख गरेर लगाएको बाली बाँदरले सत्यानास गरिदिँदा अन्नबाली लगाउन मन नलागेको उनले बताए । मरिमरी काम गर्यो, बाली भित्र्याउने बेलामा बाँदरले सक्काउला कि भनेर बारिमा कुर्नुपर्ने बाध्यता रहेको उनले बताए । ॅअलि अगाडि वर्षमा यहाँ खासै बाँदर थिएनन् । तर, पछि फाट्टफुट्ट देखिन थाले । हाल त थेगिनसक्ने गरी आउन थालेका छन्,’ उनले भने हालै धान भित्र्याउने बेलामा पनि बाँदरले निकै नै दु ःख दिए । धान काट्ने बेला नभइ बाँदर आतंकले हरियोमै धान काटेर झर्नुपरेको उनले बताए । ‘खेतमा धान फल्नमात्र थालेको थियो । बाँदर त खेतभरि लडिबुडी गर्ने, धान खाने, ढलाउने गर्नाले यसपालि चाँडै धान काटेर भित्र्याइयो,’ उनले भने ।
सयौंको संख्यामा बाँदरको हुल आएर खेतीपाती नष्ट गरिदिने र घरपरिवारलाई समेत तर्साउनेमात्र नभइ घरभित्र पसेर चुलोमा राखेको भातसमेत खाइदिने गरेपछि स्थानीय धमाधम बसाईं सारेर हिँडे । गाउँ रित्तो हुन थालेपछि बाँदरले झन् कब्जा जमाएर बाली सखाप बनाएको उनको गुनासो छ । बाँदरको आतंककै कारण खेती छाडेर केहीले भैंसी पालेको बताइएको छ । ॅखेतमा लगाएको मकै, गहुँ र फलफुल बाँदरले सखाप बनायो, खानै पाइएन,’ उनले भने-दुःख गरेर पनि केही भित्र्याउन नपाएपछि छोराहरु पनि निराश थिए । अरु कामधन्धा छाडेर बाँदरबाट बाली जोगाउन पालैपालो चौकीदारी बस्न जानु आफूहरुको बाध्यता सुनाए । ‘हाल त बाँदर घरघरमै छिर्न लागेका छन् । घर रुँघ्न छाडेर कोही बाहिर जान पाउँदैनन् । नत्र भित्रै पसेर उत्पात गरिहाल्छ,ं उनले भने ।
गाउँमा बस्ती घट्दै गएका कारण बाँदर अलि बढ्न थालेको हो कि भन्ने अनुमान गरिएको पालिका अध्यक्ष हिदम लामाले बताए । केही समयअघि गाउँबस्ती हराभरा थिए । मानिसको चाप थियो । तर, हाल मानिसहरु सहर पस्न थालेपछि र बनजंगलमा खानेकुरा अभाव भएपछि बाँदर गाउँबस्ती पस्न थालेको उनले बताए । ॅहिजोआज गाउँबस्ती खाली हँुदैछन् । बाँदरको संख्या बढ्दै गएको छ र बालीनाली बचाउन मुस्किल भएको छ,’ पालिका अध्यक्ष लामाले भने ।
बाँदर आतंक हाललाई राज्यकै समस्या भएको त्रिभुवन विश्वविद्यालय वनविज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पस प्रमुख डा. शिवकुमार मानजनले बताए । बनजंगलमा खानेकुरा अभाव भएपछि बाँदरहरु बस्तीमा छिर्ने गरेको उनले बताए । ‘गाउँका युवा सहर र कोही विदेश जान थाले । गाउँघरमा बालीमा बाँदरले हैरान पारेका छन्,’ क्याम्पस प्रमुख मानजनले भने । मन्दिरका बाँदरलाई जाल हालेर अलि टाढा बस्तीमा लगेर छाड्नाले पनि बाँदर बढेको हो कि भन्ने लागेको उनले बताए । स्थानीयको मुख्य पेशा कृषि भएकाले यसप्रति राज्यले पनि चासो राख्नु आवश्यक भएको उनले बताए । कृषकले लगाएको बाली बाँदरले नष्ट गर्नु दुःखद् भएको उनी बताउँछन् ।
बाँदरदेखि आजित बनेका स्थानीयबासिन्दाले प्रदेशतर्फ आँखा ताकिरहेका बेला प्रदेश सरकारले भने कुनै योजना ल्याउन सकेको छैन । एक अध्ययनले बाँदर धार्मिक प्राणी पनि भएकाले तत्कालका लागि रोकथामको कुनै उपाय सुझाउन सकेको छैन । बाँदर मान्छेपछिको बुद्धिजीवी भनिन्छ । त्यसलाई बन्ध्याकरण गर्ने, समाएर नियन्त्रण गर्ने भन्ने उपायले नियन्त्रण सक्सेस हुँदैन भनेर प्रतिवेदनले भनेको छ । बाँदर आतंक संख्या बढेको हो वा अन्य कारण हो भन्ने विषयमा भने अध्ययन हुन बाँकी छ ।
बाँदर मार्नका लागि कानुनी अवरोध भएको भन्दै स्थानीयले कानुन सुधारको माग गरेका छन् । नेपालभरि नै बाँदर आतंकका कारण किसान मर्कामा परेका छन् । फसल जति बाँदरले खाइदिने हुनाले जमीन बाँझो राख्ने प्रवृत्तिसमेत देखापरेको छ । त्यसैले बाँदर नियन्त्रणका लागि बाँदर निर्यात गर्नेदेखि बाँदर धपाउन कर्मचारी राख्नेसम्मका कुरा आएका छन् । तर, यी कुनै उपायले काम गर्ने देखिँदैन ।
बाँदर नियन्त्रणबारे संघीय संसद्देखि स्थानीय तहसम्म कुरा उठेको छ । यसको नियन्त्रणको कुरासँगै जोडिएर आउने कुरा हो, कसरी हाल बाँदर आतंक बढ्यो त ? यसमा बाँदरविज्ञका अध्ययनले देखाउने विषय विशेष होला तर सामान्य अनुभवका आधारमा हेर्दा भने नेपालको बस्ती र खेतीपातीमा आएको परिवर्तन नै बाँदर आतंकको कारण हो । बाँदर वनजंगलमा नै रमाउने जनावर हो । विगतमा वनमा विभिन्न किसिमका फलफुलका रुख हुन्थे । वरलगायत फल लाग्ने रुख यत्रतत्र पाइन्थे । अर्थात्, बाँदरलाई आहार खोजी गर्न वनजंगल नै पर्याप्त थियो ।
तर, हाल गाउँबस्ती खाली हुन छाडेसँगै धेरै खेतबारि जंगलमा परिणत हुन थालेको छ । यस्तो ठाउँमा फल लाग्ने बोट छैनन् । त्यस्तै गाउँबेशी सबैतिर खेतीपाती हुन्थ्यो । ती ठाउँमा फाट्टफुट्ट बाँदर आउँथे । तिनलाई त्यहींका आहाराले पुग्थ्यो । तर, हाल यसरी खेती हुन छाडेको छ । कि त गाउँमा बस्ती बाक्लिएको छ, कि त बस्ती बेंशीतिर बाक्लिएको छ । यस्तोमा बाँदरले आहार खोजीका लागि जहाँ बस्ती छ, त्यहाँ जानु स्वभाविक हो । त्यसैले बाँदर आतंक कम गर्ने हो भने पारिस्थितिक प्रणाली जोगाउन र त्यसअनुसार अनुकूलन हुन आवश्यक देखिने विज्ञ बताउँछन् ।