सुनिता बिष्ट
हेटौंडा/मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता सम्पन्न भयो । जसमा हेटौंडा उपमहानगरपालिका-१२ को वडाध्यक्ष पदका लागि १४ जनाले मनोनयन दर्ता गराए । जसमा वटा राजनीतिक दलका ९ उम्मेदवार छन् भने बाँकी ५ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाली कांग्रेसबाट अर्जुनप्रसाद तिवारीले मनोनयन दर्ता गराएका छन् भने नेकपा एमालेबाट राजेश नगरकोटी, नेकपा माओवादी केन्द्रबाट रविनकुमार प्रधान र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रेमबहादुर भ्लोनले उम्मेदवारी दर्ता गराएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशावीर बल, जनता समाजवादी पार्टी (जसपा) बाट छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशनबाट दीपा लामा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट फूलमाया तितुङ, नेकपा (एकीकृत समाजवादी) बाट बलराम बलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयकी प्रमुख निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले जानकारी दिइन् ।
उनका अनुसार पाँच जना स्वतन्त्र उम्मेदवारहरुले समेत आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । जसमा अर्जुन घलान, कुमार पोखरेल, गीताकुमारी नेवार, छत्रप्रकाश अधिकारी र युनेश लामा सिन्तानले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । २०७९ बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र, कांग्रेस र एमालेबीच त्रिपक्षीय चुनावी भीडन्त भएको यस वडामा आउँदो उपनिर्वाचनमा पनि उस्तै माहोल बन्ला भन्नेमा तीन ठूला दलहरु छन् ।
अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार राजेश नगरकोटी, कांग्रेसका उम्मेदवार अर्जुन तिवारी र माओवादी केन्द्रका उम्मेदवार ललितबहादुर घलानबीचमा खरो प्रतिस्पर्धा भएको थियो । जसमा माओवादीका घलानले १ हजार ३ सय ७१ मत प्राप्त गरेर विजयी हुँदा कांग्रेसका तिवारीले १ हजार ३ सय ४० मत प्राप्त गर्दै ३१ मतान्तरले दोस्रो हुन पुगे । एमालेका नगरकोटीले १ हजार ३ सय २५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे ।
यसरी झीनो मतान्तरले पराजय भोग्नुपरेका एमाले र कांग्रेसमा दुवै उम्मेदवार उपनिर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका छन् । तर, उनीहरु दुवैलाई एउटा के कुराको ढुक्क छ भने पटक/पटक जितिरहने ललित घलान चुनावी मैदानमा छैनन् । उनी जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि माओवादीले युवा नेता प्रधानलाई आफ्नो उम्मेदवार बनाएको छ । सधैं जितिरहने माओवादीमात्र नभएर माओवादीका नेता घलानको साख जोगाउने चुनौतीसमेत प्रधानकै काँधमा आइपरेको छ ।
यी तीनै जना उम्मेदवारको चुनौतीका रुपमा खडा भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) । २०७९ मंसिरमा सम्पन्न आमनिर्वाचनमा उक्त वडामा रास्वपाले समानुपातिक तर्फ झण्डै १ हजार ४ सय मत प्राप्त गरेको थियो । सोही मतलाई आधार मान्ने हो भने पनि रास्वपाले वडाध्यक्ष पद नहत्याउला भन्न सकिन्न । यसकारण पनि सधैं त्रिपक्षीय चुनावी प्रतिस्पर्धा हुने वडामा पहिलो पटक
रास्वपाको इन्ट्रीले चार दलीय भीडन्त हुने आँकलन जिल्लाकै ठूला राजनीतिक दलसमेतले गरेका छन् ।
माओवादीकै कारण दुईपटकसम्म हार व्यहोरेका कांग्रेसका उम्मेदवार तिवारी यस पटक जसरी पनि जित आफ्नो पोल्टामा पार्ने दाउमा छन् । माओवादीका तत्कालीन उम्मेदवार ललितबहादुर घलानसँग झीनो मतान्तरले दुई पटकसम्म पराजय भोगेका तिवारी आफ्नो तेस्रो पटकको चुनावी यात्रा सफल बनाउने दाउमा छन् । विगतलाई हेर्दा त्रिपक्षीय भीडन्त हुँदै आएको वडामा रास्वपाको इन्ट्रीले तरंग पैदा गरिदिएको छ । तर, पनि आप्mनो जित सुनिश्चित रहेको कांग्रेसका उम्मेदवार तिवारीले दाबी गरे ।
‘निर्वाचन हो, मनोनयन दर्ता त योग्यता पुगेका जसले पनि गर्न पाएँ,’ तिवारीले भने-नयाँ दल हो । सबैले माया गर्नुपर्छ । रास्वपालाई मत दिनै हुँदैन त म भन्दिनँ । तर यहाँका मतदाताहरुले कसलाई मत दिने । कसलाई नदिने भन्ने राम्ररी बुझ्दछन् । मैले रास्वपाकै कारण हार व्यहोर्न पर्छ भन्ने लागेकै छैन । यस पटक वडाध्यक्ष कांग्रेसले नै पाउने हो । यसमा दुईमत छैन ।
देशमा सरकारको कामकाजले वितृष्णा भइरहेको अवस्थामा रास्वपालाई जनताले जिताउन चाहेको रास्वपा उम्मेदवार आशावीर बल बताउँछन् । ‘हामी नयाँ पार्टी हौं, थाहा छ । तर पनि हामीलाई मतदाताले माया गर्नुहुन्छ भन्नेमा ढुक्क छौं,’ बलले भने-यो सबै मतदातामा भरपर्ने कुरा हो । पुराना राजनीतिक दलदेखि दिक्क भएका जनताले यस पटक रास्वपालाई पक्कै पनि जिताउनेछन् ।
वडाध्यक्ष आफ्नो पार्टीको पोल्टामा पार्ने दाउमा उभिएको अर्को दल हो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) । हेटौंडा-१३, १४ र १२ मा राप्रपामा नेता तथा मकवानपुर प्रतिनिधिसभा-१ का सांसद् दीपकबहादुर सिंहको राम्रो प्रभाव छ । आफ्ना पार्टीबाट उम्मेदवारी दिएका उम्मेदवार प्रेमबहादुर भ्लोनको पक्षमा माहोल बनाउन सांसद् सिंह आफंै निर्वाचन अधिकृतको कार्यालय पुगे । बाजागाजासहित मनोनयन दर्तास्थलमा पुगेका सांसद् सिंहले यस पटक हेटौंडा-१२ को वडाध्यक्ष राप्रपाको पोल्टामा पर्ने दाबी गरे । वडामा ८ हजार ५३ मतदाता छन्, जसमा महिला ४ हजार १ सय ७४ र अन्य १ मतदाता छन् ।