Homeमुख्य समाचारज्वाईंद्वारा सालाकी पत्नी गर्भवती

ज्वाईंद्वारा सालाकी पत्नी गर्भवती

धुलिखेल/भुकम्पको समयमा भागेर प्रेमविवाह गरेकी एक महिला न्यायको याचना गरिरहेकी छन् । न्याय दिने निकायहरु भने पुरुषलाई उन्मुक्ति दिँदै अर्को मुद्धा दर्ता गर्न सुझाव दिन थालेका छन् ।

‘उहाँ गर्भवती हुनुुहुन्थ्यो । उहाँलाई नै ल्याएर बयान लिन सम्भव भएन । तर, पनि म आफैंले उहाँले न्याय पाउनुपर्ने पक्षमा बहस गरें,’ जिल्ला न्यायाधीवक्ता कृष्णा भण्डारीले भनिन्-महिलालाई गर्भवती बनाउने पुरुषलाई धरौटीमा छाडेको सुनें । आदेशको पूणर्पाठ पछि थप निणर्य गर्नेछु ।

पीडित महिला, क्षतिपूर्ति र जन्मेको बच्चाका पक्षमा कुनै कुरा आदेशमा नआएकाले न्याय नपाएको पीडितका आफन्तले बताएका छन् । जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले पछि बुझ्दै जाँदा हुने गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८, ७२ बमोजिम जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका पुरुषलाई १ लाख धरौटीमा छाड्ने आदेश कार्तिक २७ गते गरेको स्रेस्तेदार कणर्बहादुर राईले जानकारी दिए ।

आदेशको पर्चा बोक्दै पीडित महिला, महिलाका आफन्तहरु सरकारी निकाय धाइरहेका छन् । ‘बच्चा कसको हो ? न्वारन कसले गर्ने ? छोरी र बच्चालाई कसले रेखदेख गर्छ, जसले गर्भ बोकायो ऊ धरौटीमा छुटेपछि ज्यानको समेत खतरा भएको छ,’ पीडितका बाबुले भने-पहिले छोरीले भागेर विवाह गरिन् । ज्वार्इं विदेशमा भएका बेला भिनाजुले उनलाई जबर्जस्ती करणी गरेको कसैलाई भन्न सकिनन् । उसले कसैलाई भने दुई बच्चा र उनैलाई समेत मारिदिने धम्की दिएको रहेछ । बच्चा जन्मने बेलामात्र घटनाबारे सार्वजनिक हुन सक्यो । न्यायका लागि छोरीका पतिले प्रहरीमा जाहेरी दिए । तर, ज्वाईंका भिनाजुलाई कारबाही भएन । छोरीका दुई सन्तान यसअघि नै थिए । जबर्जस्ती करणीबाट १३ दिनअघि साढे ३ केजीको छोरा जन्मिएको छ ।

२०८० फागुन ११ गते राति ११ बजे नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्बर-१ घर भइ काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर-८ मा ससुराली भएका ३६ वर्षीय बिमल तामाङले सालाकी २५ वर्षीया पत्नीलाई जबर्जस्ती करणी गरेका थिए । नाताले भिनाजुले गरेको करणीबारे महिलाले कसैलाई भन्न सकिनन् । उनी दुई सन्तानसँग बसेकाले सासुससुरासँग अलग थिइन् ।

रातको समयमा ढोका खोल भन्दै आएपछि महिलाले आफ्नै भिनाजु सम्झेर ढोका खोलिदिइन् । तर, उनले त्यही मौका पारी जबर्जस्ती करणी गरे । कसैलाई भनेदेखि अर्को पटक आएर बच्चा र आमा दुवैलाई सिध्याउने धम्की दिए । डरैडरका कारण महिलाले कसैलाई भनिनन् । पेटमा बच्चा हुर्कंदै गयो । गाउँभरि कसको गर्भ बोकेको भन्दै उनको आलोचना हुन थाल्यो । तत्काल बनेपामा उनको परीक्षण भयो । ३३ हप्ता ४ दिनको बच्चा रहेको जानकारीपछि महिलालाई धुलिखेल अस्पताल भर्ना गरियो ।

७ दिनपछि डिस्चार्ज गरेर माइती लगियो । कार्तिक १७ गते तिहारको दिन माइतीमा उनी सुत्केरी भइन् । सालनालसहित उनलाई अस्पताल ल्याइयो । केही दिनपछि पुनः फर्काइयो । न्वारन, रेखदेख, पालनपोषणको टुंगो नहुँदै पतिले पहिलाका दुई सन्तान आफैं हेर्छु, बाँकी जे गर्नु पर्छ गर् भन्दै हिँडे । पीडित महिलाको चिन्ता जबर्जस्ती करणीबाट जन्मिएका बाबुबारे आफू स्पष्ट भए पनि न्यायालयबाट पाउनुपर्ने न्याय तत्काल नपाएको महसुस भएको बताइन् ।

बिमल तामाङले आफू सालाकी पत्नीको कटेजमा गएर सुतेको स्वीकारेका छन् । छ्याङ खाएर गएका उनले जर्बजस्ती करणी गरेका हुन् । सेस्तेदार राईले अदालतमा दर्ता भएको अभियोग जबर्जस्ती करणीविरुद्धमात्र भएकाले अन्य विषयमा नबोलेको हुनसक्ने बताए । ‘इजलासले गरेको आदेशमा हाम्रो कुनै धारणा हुँदैन । पीडितका आफन्त अदालतमा आउनु भयो । मैले उहाँहरुलाई कानुनी प्रक्रियाबारे जानकारी गराएको छु,’ स्रेस्तेदार राईले भने-मुद्धा फैसला भएको होइन । पुर्पक्ष राखेर अनुसन्धान गर्ने कि धरौटीमा भन्ने विषयमा एउटा आदेश भएको हो ।

पीडितहरुले आदेश आएलगत्तै बिमल छुटेर फेरि धम्की दिन थालेको भन्दै न्याय र सुरक्षा माग गर्दै अदालत, प्रहरी र सरकारी वकिलको कार्यालय गएको बताए । ‘कतैबाट पनि न्यायको अपेक्षा गरिएन, प्रहरीले सरकारी वकिलको कार्यालय देखाउने, सरकारी वकिलको कार्यालयले अदालत देखाउने, अदालतले माथिल्लो अदालत देखाउने, अनि पीडितले न्याय कहाँबाट पाउने ?,’ पीडितका बाबुले भने-१३ दिने सुत्केरी छोरी र बच्चा बोकेर न्यायका लागि कहाँ जाउँ ? अपराधीलाई कसरी कारबाही हुन्छ ?

पक्राउ परेका बिमलले प्रहरी हिरासतबाट महिलाका आफन्तलाई २ लाख दिन्छु मुद्धा मिलापत्रमा टुङ्ग्याउन अनुरोध गरेका थिए । ‘हामीलाई पैसा भन्दा पनि अपराध गर्नेलाई कारबाही होस भनेर मिलापत्र गर्न मानेनौं । तर, अदालतले छोरीको पीडा र अपराधलाई चिन्न नसकेको महसुस भएको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकका न्यायाधीश आचार्यको इजलासले यसअघि खानीखोलाको जबर्जस्ती करणी घटनामा संलग्न अभियुक्तलाई पनि १ लाख धरौटीमा छाड्ने आदेश दिएका थिए । पछिल्लो समय जिल्ला अदालतले पुर्पक्षमा राखेर अनुसन्धान गर्नुपर्ने प्रकृतिका घटनाहरुमा पनि धरौटी आदेश गर्ने गरेको छ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here