Homeमुख्य समाचारहेटौंडा सिमेन्ट सञ्चालनमा ढिलाइ

हेटौंडा सिमेन्ट सञ्चालनमा ढिलाइ

हेटौंडा/निर्धारित समयमा उपकरण मर्मत हुन नसक्दा हेटौंडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ भएको छ । उद्योग व्यवस्थापनले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भने पनि विभिन्न उपकरण मर्मतको काम नसकिँदा उत्पादन सुरु हुन नसकेको हो ।

उद्योग व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र भण्डारीले उपकरण मर्मतमा ढिलाइ भएका कारण योजनाअनुसार उत्पादन सुरु गर्न नसकिएको बताए । ॅउद्योगका उपकरणको मर्मत कार्य भइरहेकै छ । हामीले तिहारसम्ममा मर्मत सकिन्छ र लगत्तै पुनः उत्पादन सुरु हुने अनुमान गरेका थियौं । तर, उपकरण मर्मतको काम नसकिएकाले उद्योग सञ्चालन हुन करिब १५ दिन लाग्न सक्छ,’ उनले भने ।

उद्योगबाट असोज १५ गतेदेखि उत्पादन बन्द गरिएको थियो । उपकरण मर्मतका लागि भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले यससम्बन्धि काममा थप समय लागेको जानकारी दिँदै अध्यक्ष भण्डारीले तीव्ररुपमा मर्मतसम्भार भइरहेकाले छिटै सकिने र त्यसलगत्तै उत्पादन सुरु गरिने बताए । ‘हामीसँग कच्चापदार्थ अभाव छैन । उद्योगलाई चाहिने करिब चार सय मेट्रिकटन कोइला मौज्दात छ । थप कोइला खरिद प्रक्रिया अघि बढिसकेको छ । त्यसैले कोइलाको समस्या छैन,’ उनको भनाइ थियो ।

आर्थिक अभावका कारण यसअघि दुई महिना उद्योग बन्द भएको थियो । गत भदौ महिना तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताए । २०३३ सालमा हेटौंडाको लामसुरेमा स्थापना गरिएको उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।

सरकारले लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौंडा सिमेन्ट उद्योगको वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निणर्य
गरिसकेको छ । उक्त निणर्य उद्योग निजीकरणका लागि प्रक्रिया शुरु भएको मानिएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको समिति बैठकले उद्योग वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निणर्य गरेको हो ।

निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषषद्मा प्रस्ताव सिफारिस गर्ने निणर्य गरेको छ । मन्त्रिपरिषद्बाट वर्गीकरण भएपछि सम्पत्ति तथा दायित्व मूल्यांकनका लागि विशेषज्ञसहित अध्ययन समिति गठन गरिनेछ । सम्पत्ति र दायित्व मूल्यांकनपछि विज्ञसहितको सुझावका आधारमा निजीकरणको ढाँचा र प्रक्रिया पहिचान गरी नेपाल सरकारसमक्ष सिफारिस गरिनेछ ।

उत्पादन क्षमता विकास गर्नसके बजारमा हेटौंडा सिमेन्टकै दबदबा कायम रहने भए पनि पुरानो उत्पादन प्रविधिका कारण हेटौंडा सिमेन्ट धरासयी छ । जर्मन मोडलको प्रविधि रहेकाले सिमेन्ट उत्पादनका दृष्टिले उक्त प्रविधिलाई विश्वमा उत्कृष्ट मानिन्छ । किनकि, तोकिएको गुणस्तर मापदण्ड पुगेका कच्चापदार्र्थ मात्र प्रयोगशालाले स्वीकार गर्दछ । २०३३ सालमा स्थापना भइ २०४२ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको उद्योगले स्थापनाकालमा नेपाल सरकारको जमानतमा एसियाली विकास बैंकबाट ७१ करोड ८८ लाख ८३ हजार २ सय ६८ ऋण लिएको
थियो ।

भुकम्पका कारण क्षति भएका भौतिक संरचनामध्ये हेटौंडा सिमेन्ट प्रयोग भएका संरचनाहरुमा अन्य सिमेन्टको तुलनामा कम क्षति भएको प्राविधिक निरीक्षणबाट देखिएको उद्योगका पूर्वअध्यक्ष रघुरमण न्यौपानेले बताए । पूर्वअध्यक्ष न्यौपानेले जगेडा पुर्जाको आकाशिँदो मूल्य, कोइला र विद्युत्लगायत कच्चापदार्थको महंगो मूल्यका कारण बढेको उत्पादन लागतलाई दृष्टिगत् गरी कोइला, विद्युत् र मर्मतसम्भारमा हुने जगेडा पुर्जाको खपतमा न्यूनीकरण हुन नसक्नु उद्योगको समस्या रहेको बताए ।

उद्योग सरकारी स्वामित्वको भएकाले सिमेन्टको बजार माग र आपूर्तिमा सन्तुलन कायम गर्न यसको अहम् भूमिका रहने भन्दै उनले निजीस्तरका सिमेन्ट उद्योगहरुबाट हुनसक्ने बजार एकाधिकारमाथि नियन्त्रण र नियमन गर्न सघाउ पुर्‍याएर हेटौंडा सिमेन्ट निरन्तर सञ्चालनका लागि योगदान पुर्‍याउनु आवश्यक भएको बताए । उद्योगले पछिल्ला वर्षहरुदेखि निरन्तर घाटा व्यहोर्दै आएको छ । उद्योगले आर्थिक वर्ष २०७५/०७६ देखि २०७८/०७९ सम्म ६५ करोड ४७ लाख १६ हजार ७ सय ८२ रुपियाँ नोक्सान व्यहोरेको तथ्यांक छ । आव २०७४/०७५ मा १६ करोड ३६ लाख नाफा कमाएको हेटौंडा सिमेन्ट त्यसपछि निरन्तर नोक्सानमा छ । धादिङस्थित जोगीमारा, मकवानपुरको आमभञ्ज्याङस्थित मजुवा, भैंसे र ओखरे खानीबाट चुनढुंगा ल्याएर उद्योगले सिमेन्ट उत्पादन गरिरहेको छ । मजुवा तथा जोगीमाराको चुनढुंगा उच्च गुणस्तरको मानिन्छ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here