मनिता राना
हेटौंडा/हेटौंडा-१३, सिग्रेनीका ३२ वर्षीय कृष्ण थापामगरलगायत एक समूह हेटौंडा-१, सहकारी अस्पताल जाने सडकपेटीमा बसेर जुत्ताचप्पल सिलाउँदै आएका थिए । बाटोमा हिँड्नेहरुको खुट्टामा उनीहरुको नजर परिरहन्छ । किनकि, सिलाउन कोही ग्राहक आउँछन् कि भन्नेतर्फ उनीहरुको ध्यान केन्द्रित हुन्छ ।
‘जुत्ताचप्पल सिलाउँदा फाइदा छ,’ थापामगर भन्छन्-यही काम गरेर मैले परिवार र बालबच्चालाई सुखी राख्न सकेको छु । पुराना जुत्ताचप्पल सिलाएर आफ्नो जीवन सुन्दर बनाउन सफल भएको थापामगरको अनुभव छ । उनको घरका ५ जनाको परिवारलाई सोही पेशाबाट सजिलै खान लगाउन पुगेको छ ।
रामवीर राम रमाइलो अनुभव सुनाउँछन्-जुत्ता सिलाउने काम । तर, आम्दानी अफिसरभन्दा अझै बढी होला, कम छैन । सामान्य कमाएको दिन पनि कम्तिमा १ हजार त हुन्छ नै । राम्रो कमाइ भएको दिनमा ३ हजार ५ सयसम्म आम्दानी हुन्छ । पुराना बोरा ओच्छ्याएर जुत्ता सिलाउन आवश्यक नाइलनको धागो, सियो, जुत्ताको तुना आदि वरिपरि राख्छन् र काम शुरु गर्छन् उनीहरु । एउटाकोमा धेरै जना गए भने अर्कोकोमा पठाउने गरेका छन् । ’हामी सबैको कमाइ होस् भन्ने चाहन्छौं,’ मिजारले भने ।
गर्मी लागेपछि काम गर्न केही गाह्रो भने अवश्य थियो । किनकि, पानी पर्ने, हावाहुरी तथा चर्को घाम लाग्दा सहनुपर्ने बाध्यताले भने केही निराश बनाउने गर्दछ । आफूहरुले पुराना जुत्ता सिलाएर आम्दानी गरिरहेको अवस्थामा सरकारी पक्षबाट सहयोग नभएको भन्दै उनीहरु भन्छन्-सरकारले कर लिने तर कुनै प्रकारले सहयोग नगर्ने नीति ठीक भएन ।
हेटांैडा-१ स्थित भिन्तुनापथमा रहेको जुत्ता सिलाउने व्यवसायीहरुलाई अब हेटौंडा-१ स्थित हेटौंडा अस्पतालअगाडिको खाली स्थानमा स्थानान्तरण गरिएको छ । भिन्तुनापथमा साँघुरो बाटो र सवारी आवतजावत गर्दा दुर्घटनाको जोखिम हुने कारण उक्त स्थानमा सारिएको हो ।
सप्तरी जिल्लाबाट हेटौंडा आइ जुत्ताचप्पल सिलाउने काम २३ वर्षदेखि गर्दै आएका राइदेव राम भन्छन्-भिन्तुनापथबाट हाल सुबिधासम्पन्न स्थानमा सारिँदा खुशी लागेको छ । पहिला बस्दै आएको स्थानमा बाटो साँघुरो र त्यसमाथि मानिसको चापले काम गर्न असहज रहेको उनले बताए ।
हेटौंडा-११, थानाभर्याङ बस्दै आएका दीपक रम्तेल करिब १ वर्ष अघिदेखि जुत्ताचप्पल सिलाउँदै आएका छन् । उनलाई स्थानीय सरकारले उचित र सुरक्षित स्थानमा सारेकोमा खुशी लागेको बताए । जुत्ताचप्पल सिलाएर गुजारा गर्दै आएका उनले अब सहज स्थानमा आफ्नो काम सहजरुपमा गर्न पाउँदा र दुर्घटनाको जोखिमबाट जोगिएर सहज तरिकाले काम गर्ने वातावरण मिलेको बताएका छन् ।
जुत्ताचप्पल सिलाउन कोठा भाडामा लिन नसक्ने र जुत्ताचप्पल सिलाएर आम्दानी पनि सामान्य हुने भएकाले सार्वजनिक स्थानमा सारिएको हेटौंडा-१ का अध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए । ॅभिन्तुनापथमा रहिरहँदा उहाँहरुलाई असहज र बाटो साँघुरो भएकाले जोखिम पनि उत्तिकै भएका कारण सम्बन्धित निकायसँग बैठक बसी उचित व्यवस्था मिलाइएको हो,’ उनले भने ।
हेटौंडा उपमहानगरभित्र विभिन्न स्थानमा सडकछेऊ र पेटीमा रहेर जुत्ताचप्पल सिलाउँदै हेटौंडा-१ स्थित भिन्तुनापथ निजी अस्पतालनजिक सडकछेऊ ओरालोमा बस्दै गर्दा असहज भयो भन्ने कुरालाई व्यवस्थित गरिएको वडाध्यक्ष न्यौपानेले बताए । हाल छानोरहित उक्त स्थानमा छिट्टै घामपानीबाट जोगाउन ट्रसको व्यवस्था गरिने उनले बताए । उक्त स्थानमा भन्दा व्यवस्थित अन्य स्थानमा पाए सारिनेसमेत उनले बताए । अब जहाँ पायो त्यहीं जुत्ताचप्पल सिलाउन नपाइने र एकै ठाउँमा बस्नुपर्ने उनको भनाइ छ ।