मनिता राना
हेटौंडा/रुघाखोकी बिग्रिएर फोक्सोमा संक्रमण हुने रोग हो निमोनिया । पछिल्लो समय निमोनिया मृत्युको एक मुख्य कारण बनिरहेको छ । विश्वव्यापीरुपमा मृत्युको शीर्ष १० कारणमध्ये निमोनिया पनि एक रहेको विभिन्न अध्ययनले देखाएका छन् । सामान्यतया पाँच वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिकमा उक्त रोग लाग्ने र मृत्यु हुने जोखिम बढी हुन्छ ।
साधारण भाषामा बच्चाको छातिमा हुने सेतो दागलाई ॅनिमोनिया भनिन्छ । निमोनिया भनेको श्वासप्रश्वास प्रणाली र फोक्सोमा हुने संक्रमण हो । यसले फोक्सोमा असर गर्छ । निमोनिया संक्रमण सबभन्दा बढी पाँच वर्षमुनिका बालबालिकालाई हुन्छ । समयमा निमोनिया उपचार नहुँदा धेरै बालबालिकाको मृत्युको प्रमुख कारणसमेत निमोनिया बनेको छ । निमोनिया धेरैजसो सूक्ष्म कीटाणु जस्तै बिभिन्न ब्याक्टेरिया, भाइरस फंगसले गराउँदछन् ।
मौसम परिवर्तनका कारण बिभिन्न उमेर समूहकालाई असर पुर्याउने गरेको हेटौंडा अस्पतालका बालरोग विशेषज्ञ डा. हरि खड्काले जानकारी दिए । चिसो बढेलगत्तै रुघाखोकी र निमोनियाका बिरामी हेटौंडाको सरकारी तथा निजी अस्पतालमा आउने गरेको उनले बताए । केही समयअघि ठेउलाका बिरामी आउने गर्थे भने हाल चिसो बढ्न थालेपछि निमोनियाका बिरामी बढी आउने गरेको उनले बताए ।
उमेर पुगेका व्यक्तिमा भन्दा सानो उमेरकालाई चाँडै निमोनिया हुने सम्भावना हुने डा. खड्काले बताए । चिसो मौसममा भाइरस बृद्धिविकास हुने भएकाले ५ वर्षमुनिका बच्चालाई असर पुर्याउने गरेको उनले बताए । ॅअस्पतालमा सामान्यतः रुघाखोकीका बिरामी आउँछन् । २० देखि ३० प्रतिशत्लाई भने निमोनियाकै असरबाट बिरामी आउने गरेको डा. खड्काले बताए । पछिल्लो समयमा चिसो बढ्दै जाँदा बालबालिकामा निमोनिया बढ्ने भएकाले बालबालिकाप्रति सचेत रहन उनले सुझाए ।
बालबालिकाको पालनपोषणका क्रममा अभिभावकले हाच्छिउँ गर्दा वा खोक्दा नाकमुख छोप्नुपर्ने उनले बताए । रोगसँग लड्नसक्ने क्षमता बालबालिकामा कम हुने हुँदा आमाबाबुबाट रोग छिटै सर्नसक्ने भएकाले साना कुराहरुलाई ध्यान दिन अभिभावकलाई उनको आग्रह छ ।
निमोनियाको मुख्य कारण भनेको भाइरस (इन्फ्लुएञ्जा, कोरोना र श्वसन सिंक्टियल भाइरस) ब्याक्टेरिया (ट्रेप्टोकोकस, स्टेफिलोकोकस् र हेमोफिलस) संक्रमणले हुन्छ । यसबाहेक छातिको चोटपटक, फोक्सोको घाउ तीव्र रसायनहरुको धँुवा, आत्मघाती प्रतिरक्षा प्रणाली र औषधिको एलर्जीका कारणले पनि निमोनिया हुनसक्छ ।
कस्तो अवस्थामा निमोनिया जटिल ?
दम, पुरानो खोकी, मधुमेह, क्यान्सर, मिर्गौला, कलेजो, मुटुरोगी, क्षयरोग तथा फोक्सोको रोग, एचआईभी, एड्स रोगबाट संक्रमित भएका वा अन्य दीर्घरोगी व्यक्तिलाई र रोगप्रतिरोधात्मक क्षमता कमजोर भएकालाई जोखिम बढी हुन्छ । निमोनिया बच्चा र वृद्धलाई मात्र होइन, हरेक उमेर समूहका व्यक्तिलाई हुनसक्छ । मौसमी भाइरल ज्वरो पनि रुघाखोकीको कारण बन्न सक्छ । तातो पानी पिउने, झोलिलो खानेकुरा र पोषणयुक्त खानेकुरा प्रशस्त मात्रामा खाने र आराम गर्नुपर्छ । धेरै ज्वरो आए सिटामोल खान सकिन्छ ।
कसरी थाहा हुन्छ ?
निमोनिया हुँदा ज्वरो आउने, खोकी लाग्ने, छाति दुख्ने, चिसोको महसुस हुने, जोर्नीहरु दुख्ने, थकान महसुस हुने, खोकी लाग्ने, खोक्दा हरियो वा खैरो रंगको खकार आउने र कहिलेकाहीं खकारमा रगत पनि देखिने र श्वास फेर्न गाह्रो हुन्छ । तीव्र ज्वरो आए, हप्ता दिनसम्म खोकी लागे, खकारमा रगत देखिए, श्वास फेर्न गाह्रो, शरीरको रक्तचाप कम भएमा, एकैछिन काम गर्दा स्वाँस्वाँ आए, छाति घ्यारघ्यार हुन थाले र होस हराउने वा बेहोस हुने लक्षण देखापरे चिकित्सकलाई देखाइहाल्नुपर्छ ।
हुन नदिन के गर्ने ?
चिसोबाट जोगिने, सकेसम्म धुँवाधुलो, फोहोरमैला र प्रदुषणबाट टाढा रहने, बाहिर जाँदा मास्क प्रयोग गर्ने, धुमपान र मध्यपान नगर्ने, प्रोटिनयुक्त खानेकुरा खान सकिन्छ । यसबाहेक यदि दीर्घरोगी भए प्रत्येक वर्ष इन्फ्लुएञ्जा अर्थात् फ्लुको खोप लगाउँदा उपयुक्त हुन्छ । यसले रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्धत गर्छ । आफूलाई रुघाखोकी वा फ्लु भएको भए खोक्दा वा हाच्छिउँ गर्दा रुमाल वा टिस्युपेपर प्रयोग गर्ने गर्नुपर्छ ।