Homeमुख्य समाचारदक्षिणाबाट ‘व्यापारी’ बने बालक समिक

दक्षिणाबाट ‘व्यापारी’ बने बालक समिक

मनिता राना

हेटौंडा/नेपालीहरुको महान् चाड दशैं, तिहार तथा छठपर्व सकिएको छ । नेपालीहरुले आआफ्नै तरिकाबाट पर्व मनाएका छन् । बालबालिकाहरुले पनि पढाइको विश्रामसँगै यसपालि झन् हौसलापूर्वक दशैं, तिहार र छठलाई रमाइलोसँग मनाए । यस्तो अवस्थामा बालबालिकाहरुलाई नरमाइलो हुने कुरै भएन ।

तर, हेटौंडा-४ स्थित पशुपतिमन्दिरनजिक १० वर्षीय बालक समिक लामा, जो कक्षा-५ मा अध्ययन गर्छन्, उनले भने बिदाको समयलाई व्यवहारिकरुपमा बिताएका छन् । उनले दशैंैमा मामाघर गएर टीका लगाएर संकलन गरेको केही दक्षिणा जम्मा गरेर तिहारको समयमा व्यापारका रुपमा सदुपयोग गरेका थिए ।

उनले मामाघरतिर टीका लगाएर २ हजार १ सय रुपियाँ दक्षिणा प्राप्त गरेका थिए । त्यही पैसाबाट उनले तिहारमा दीपावलीको अवसरमा सानो व्यवसाय गर्छु भन्ने सोच बनाए । अनि, आफ्नो अभिभावकलाई उनले इच्छा व्यक्त गरे । उनको इच्छालाई बुबाआमाले रहर होला भन्ने सोचेर घरका लागि दीपावलीमा चाहिने पूजालगायतका सामग्री ल्याएका थिए । तर, उनको इच्छा घरका लागिमात्र नभइ ‘म व्यवसाय नै गर्छु’ भन्ने भएपछि उनले जम्मा गरेको पैसाबाट दीपावलीका केही सामग्री ल्याइ हेटौंडा-१०, टीसीएन रोडमा तिहार अवधिभर बेचे । दीपावलीमा चाहिने मैनबत्ती, फूल, रंगोली, धुप, भाइमसलालगायत सामान दिनभर घाममा छातामुनि बसेर उनले बिक्री गरेका थिए । ‘म काम गर्न सक्छु । मैले धेरै सिक्नु छ,’ लामाले हेटौंडा सन्देशसँग भने ।

उनकी आमा मेलिना लामा पेशाले सौन्दर्यकर्मी हुन् । उनका अनुसार छोराले पहिलेदेखि नै कामको कुरा गरिराख्ने भएकाले रहरमात्र गरेको हुनुपर्छ भन्ने सोच थियो । तर, उनले काम नै गरेर देखाए । ‘विद्यालय बिदा भएपछि म पनि काम गर्छु भन्ने गथ्र्यो,’ आमा मेलिनाले सुनाइन् । उनको कमाइ भन्दा पनि एउटा सानो बच्चाले इमान्दार भएर घामपानी नभनी सामानको हेरचाह र ग्राहकलाई पनि सन्तुष्ट हुने गरी उनले काम गरेको देखेर निकै खुशी लागेको उनले बताइन् ।

‘अरुका बच्चाहरु त खेल्न जाने, मोबाइल चलाएर भिडियो गेम खेल्ने, साथीभाइसँग रमाउने गर्छन् । तर हाम्रो बाबु छुट्टै प्रकारको छ,’ उनले खुशी हुँदै भनिन् । यस वर्षको तिहारमा छोरा व्यापार गरेर रमाएको उनले बताइन् । उनका छोरा बाहिरी काममा मात्र नभइ घर र कोठाको सरसफाइमा समेत रुचि राख्छन् ।

चाडपर्वमा घरको सरसफाइ, कपडा धुने, आफ्नो सामानको सुरक्षा गर्ने, कापीकिताब मिलाएर राख्ने, जुत्ता/चप्पल मिलाउने काममा सक्रिय रहेको उनले बताइन् । पछिल्लो समय बालबालिकाहरु प्रायः घरभित्र एकान्तमा रमाउने गर्छन् । साथीभाइसँग खेल्ने, घरपरिवारसँग घुलमिल हुने आदिमा त्यति चासो नदेखाएको पाइन्छ । तर, समिक एक उदाहरणीय बालक हुन्, जसले सानै उमेरमा उदाहरणीय काम गरेर अभिभावकलाई खुशी दिएका छन् ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here