मनिता राना
हेटौंडा/हेटौंडामा उपमहानगरपालिकाले सम्भवतः पहिलो घुम्ती शौचालय प्रयोगमा ल्याएको छ । १० पालिका भएको मकवानपुरमा घुम्ती शौचालय ल्याउने हेटौंडा पहिलो पालिका हो । घुम्ती शौचालयलाई हेटौंडा बजार क्षेत्रनजिक राखिएको छ ।
चाडपर्वको बेलामा मानिसको भिडभाड तथा आपत्कालीन अवस्थालाई लक्षित गरी घुम्ती शौचालय सञ्चालनमा ल्याएको हो । पानीट्यांकी तथा हातधुने बेसिनसहित महिला र पुरुष छुट्टै शौच गर्न ठाउँ बनाइएको शौचालयले १ किलोमिटर वरपर सार्वजनिक शौचालय नभएको ठाउँका लागि अत्यन्त उपयोगी हुने स्थानीय बताउँछन् । फरेष्ट्री क्याम्पस र पूर्व रानी दरबारअगाडि खाली ठाउँमा राखिएको शौचालय अन्य ठाउँमा पनि राख्न सेवाग्राहीहरुको माग छ । उपमहानगर पालिकाले सामान्य तर उदाहरणीय काम
गरेकोमा सेवाग्राहीले खुशी व्यक्त गरेका छन् ।
पालिकाका प्रवक्ता सबिन न्यौपानेले ठूला कार्यक्रम, जात्रा र मेलाहरु सर्वसाधारण बटुवालाई शौच गर्न सजिलो होस् भन्ने हेतुले मोबाइल शौचालय प्रयोगमा ल्याइएको बताए । पूर्वपश्चिम राजमार्ग क्षेत्रमा पर्ने प्रदेश राजधानीको केन्द्रसमेत रहेको हेटौंडा बजार क्षेत्रमा हालसम्म सार्वजनिक शौचालय नभएका कारण ती ठाउँमा घुम्ती शौचालय निःशुल्करुपमा प्रयोग गर्न दिइने प्रवक्ता न्यौपानेले बताए । घुम्ती शौचालय प्रयोग गरेबापत् पैसा तिर्नुपर्दैन, उनले भने-मोबाइल शौचालय आसपासमा जहाँ ठूला कार्यक्रम, जात्रा वा मेला हुन्छ, त्यहीं पठाइन्छ ।
‘अब निरन्तर प्रयोगमा आउँछ,’ उनले भने-चाडपर्वको बेला स्थानीय र यात्रुको चाप बढी हुने हुँदा घुम्ती शौचालय सञ्चालनमा ल्याएका हौं । यसलाई व्यवस्थित गर्दै निरन्तरता दिन्छौं । राष्ट्रिय राजमार्गका रुपमा रहेको हेटौंडा-१० स्थित पूर्वपश्चिम राजमार्गमा एउटा पनि सार्वजनिक शौचालय छैन । यात्रुहरु छट्पटिएर अन्यत्र शौचादि गर्न बाध्य थिए । होटल व्यवसायीहरु पनि खाना/नास्ता खाएनन् भने शौचादि गर्न नदिने यात्रुको गुनासो थियो ।
बाहिरबाट किनमेल र वागमती प्रदेशको राजधानी भएपछि कार्यालयमा काम गर्न आउने सेवाग्राही पनि शौचालय खोज्दै यताउता भौंतारिन्थे । बढ्दो सवारी आवागमन र यात्रुका कारण सार्वजनिक शौचालय स्थापना माग हुँदै आएको छ । यही कारण घुम्ती शौचालयको अवधारणा ल्याइएको उनले सुनाए ।
ॅमुख्य व्यापारिक केन्द्र भएकाले नगरभित्र, बिभिन्न पालिका र बाहिरका मानिस किनमेल गर्न यहाँ आउँछन् । उनीहरु सार्वजनिक शौचालय खोज्न यताउता लाग्छन्, उनले भने-शौचालय नहुँदा समस्या देखिएको थियो । अब निरन्तर सञ्चालनमा आउँछ ।
यहाँ दिनहुँ ठूलो संख्यामा सवारीसाधन र मानिसको आवतजावत हुन्छ । उनीहरुलाई शौच गर्न निकै समस्या पर्दै आएको छ । उक्त क्षेत्रका झाडी फाँडिएका छन् । पैदलयात्री शौचालय खोज्दै होटल जान बाध्य भए पनि उनीहरुलाई होटल सञ्चालकले शौच गर्न दिँदैनन् । घुम्ती शौचालय सञ्चालनमा ल्याउँदा अब सहज भएका सवारीचालकहरुको भनाइ छ ।
केही समयदेखि उक्त क्षेत्रआसपास यौनिक तथा लैंगिक अल्पसंख्यक तथा अन्य उच्छृंखल व्यक्तिहरुले अनैतिक क्रियाकलाप गरी प्रदुषण एवम् दुर्गन्धसमेत फैलाएका थिए । उक्त क्रियाकलाप रोक्न तथा प्रदुषण एवम् दुर्गन्ध रोकी उक्त क्षेत्रमा तिहार मेला राख्न भनी सरसफाइ गरिएको थियो ।
स्थानीय र व्यापारीबाट यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका केही व्यक्तिले यौन व्यवसाय गरी दुःख दिने गरेको गुनासो आएपछि सम्बन्धित निकायसँग छलफल गरी सरसफाइ गरिएको थियो । हेटौंडा उपमहानगरपालिका कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा सरसफाइ गरिएको थियो ।
अन्य स्थानमा हाललाई सार्वजनिक घुम्ती शौचालय राख्ने योजना नभएको तर यसले राम्रो प्रभावकारिता पाए अन्य स्थानमा पनि घुम्ती शौचालय राखिने हेटौंडा उपमहानगरपालिका वडा-१० का अध्यक्ष फुर्वा दोर्जेलामाले बताए । उक्त स्थानमा राखिएको घुम्ती शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्न सक्ने उनले बताए । उक्त शौचालयको हेटौंडा उपमहानगरपालिकाद्वारा निगरानी भइरहेको वडाध्यक्ष लामाले जानकारी दिए । ॅघुम्ती शौचालयमा बाटोमा हिँडडुल गर्ने सर्वसाधारण, अटो/मयुरीचालक, बसचालक र टाढाको यात्रा गर्ने मानिसलाई सहज गराउन शौचालय राखेका हौं, वडाध्यक्ष लामाले भने ।
स्थानीय तथा आवातजावत गर्ने यात्रुसमेतलाई अशोभनीय भएको जनगुनासोका आधारमा उक्त क्षेत्र अवलोकन गरी सरसफाइ गरिएको हो । उक्त स्थानमा पार्किङ गरिने ट्रकहरुमा समेत त्यस्ता क्रियाकलाप हुने गरेको सूचना प्राप्त भएका कारण ॅनो पार्किङ जोन बनाइएको छ ।
उक्त स्थानमा प्रहरीले राति गस्ती गर्ने र फ्रेन्डस् हेटौंडासँग समेत सहकार्य गर्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिए । उक्त ठाउँमा जाने ग्राहक र यौनधन्दा गर्ने दुवैलाई कानुनी कारबाही गरिने उनले बताए । स्थानीय र व्यापारीबाट यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका केही व्यक्तिले यौन व्यवसाय गरी दुःख दिने गरेको गुनासो आएपछि सरसफाइ अभियान अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए ।
सम्बन्धित निकायसँगको छलफलबाट यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका केही व्यक्तिले उक्त स्थानमा चलाइरहेको यौन व्यवसाय रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेलुका ७ बजेदेखि विहान ४ बजेसम्म गस्ती गर्ने निणर्य भएको उनले बताए । उक्त स्थानमा पालिकाको समन्वयमा फरेष्ट्रीले पर्खाल लगाउने र लाइट राख्ने उनले बताए ।