Homeमुख्य समाचाररास्वापा र राप्रपाले पनि टुंग्याए उम्मेदवार

रास्वापा र राप्रपाले पनि टुंग्याए उम्मेदवार

सुनिता बिष्ट

हेटौंडा/मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि आफ्ना उम्मेदवारको टुंगो लगाएका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१२ को वडा अध्यक्षका लागि यी दुई दलले पनि उम्मेदवार टुंगो लगाएका हुन् ।

आइतबार दुई दलले आफ्ना उम्मेदवार टुंगो लगाएका हुन् । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रेम लामाभ्लोनलाई उम्मेदवार बनाउने निणर्य गरेको हो । आइतबार बसेको राप्रपा जिल्ला र नगर कार्यसमिति बैठकले वडा अध्यक्षका लागि भ्लोनलाई उम्मेदवार बनाउने सर्वसम्मत् निणर्य गरेको हो । बिभिन्न सामाजिक कार्यमा संलग्न रहेका भ्लोनलाई उम्मेदवारको टिकट दिने निणर्य सर्वसम्मत् भएको राप्रपा हेटौंडा उपमहानगर अध्यक्ष अरुण लामाले जानकारी दिए । भ्लोनलाई जिताउन राप्रपाले चुनावी अभियान सञ्चालन गर्ने तयारी गरिएको उनले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आशावीर बललाई वडाध्यक्षको उम्मेदवार बनाउने निणर्य गरेको छ । आइतबार नै वडा, नगर र जिल्ला कार्यसमितिको संयुक्त बैठकले बललाई वडाअध्यक्षको उम्मेदवारमा रास्वपा मकवानपुरले अघि सारेको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१२ मा बिभिन्न सामाजिक कार्यमा सहभागिता जनाउँदै आएका बललाई रास्वापाको उम्मेदवार बनाएको सभापति ध्रुवबहादुर बिष्टले बताए । उक्त रिक्त रहेको पदमा रास्वपाले सर्वाधिक मत ल्याएर वडा अध्यक्ष निर्वाचित हुनेमा कुनै शंका नरहेको उनले बताए ।

यसअघि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओबादी केन्द्रले आफ्ना उम्मेदवारहरुको नाम टुंगो लगाइसकेका छन् । जसमा नेकपा माओबादी केन्द्रबाहेक नेकपा एमाले र नेपाली कांग्रेसले पुरानै अर्थात् २०७९ बैशाखमा अध्यक्षमा पराजय भोगेका उम्मेदवारलाई नै दोस्रो पटक मौका दिने भएका छन् । कांग्रेसले अर्जुन तिवारीलाई उम्मेदवार बनाउने निणर्य गरेको छ भने एमालेबाट राजेश नगरकोटीलाई उम्मेदवार बनाउने वागमती प्रदेश कमिटीले निणर्य गरिसकेको छ । माओबादी केन्द्रले रबिन प्रधानलाई उम्मेदवार बनाएको छ ।

गत स्थानीय तह निर्वाचनमा वडामा विशेषगरि यी तीन दलहरुकै चुनावी प्रतिस्पर्धा भएको थियो । झीनो मतान्तरले विजयी भएका ललित घलानले दोस्रो पटक अध्यक्षमा बाजी मारेका थिए । कांग्रेसका उम्मेदवार तिवारी ३१ मतले दोस्रो भएका थिए भने तिवारी भन्दा १५ मतमात्र कम ल्याएका नगरकोटी तेस्रो बनेका थिए ।

मंसिर १६ गते बिभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । जसमा वागमती प्रदेशमा ७ स्थानमा उपनिर्वाचन हुनेछ ।

वागमतीमा एक नगर प्रमुख तथा गाउँपालिका उपाध्यक्षसहित ७ पदका लागि उपनिर्वाचन हुने भएको छ । कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि उपनिर्वाचन हुने भएको छ भने दोलखाको गौरीशंखर गाउँपालिका उपाध्यक्षमा उपनिर्वाचन हुन लागेको हो । काठमाडौंको कीर्तिपुर नगरपालिका-१, कीर्तिपुर नगरपालिका-४, काठमाडौं महानगरपालिका-१६ मा वडाध्यक्षमा उपनिर्वाचन हुने भएको छ । नुवाकोटको ककनी गाउँपालिका-२ र हेटौंडा-१२ मा उपनिर्वाचन हुने भएको हो ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here