Homeमुख्य समाचारदेउसीभैलोमा हिन्दी गीत

देउसीभैलोमा हिन्दी गीत

बसन्त भण्डारी

हेटौंडा/तिहारको बेला देउसीभैलो नेपाली समाजमा उमंग, उत्साह, र भाइचाराको पर्व मानिन्छ । यस पर्वमा देउसी र भैलो खेल्नु एक महत्वपूणर् परम्परा हो, जहाँ गीत, नृत्य, र आशीषले आँगन सजिन्छ ।

तिहार नेपालीको दोस्रो ठूलो चाड हो र यस पर्वमा देउसीभैलो खेल्नु निकै पुरानो परम्परा हो । यो परम्परा मुख्यतया सामाजिक र साँस्कृतिक महत्व बोकेको छ । देउसीभैलोको गीतमा शुभकामना, प्रकृतिको प्रशंसा, धार्मिक महत्व र जीवनका हर्षोल्लासलाई व्यक्त गरिन्छ । गाउँघरमा देउसीभैलो खेल्दा विभिन्न उमेरका मानिस सँगै सहभागी हुन्छन्, जसले हाम्रो समाजको मेलमिलाप र एकता बढाउँछ ।

देउसीको गीतमा पुराना लोकलय र नेपाली संगीत प्रयोग गरिन्छ, जसले हाम्रो परम्परागत् साँस्कृतिक धरोहरलाई उजागर गर्छ । यी गीतले समाजमा सकारात्मक सन्देश दिन्छन् र परिवारजन तथा छिमेकबीच सामूहिकता र सामिप्यतालाई अझ बलियो बनाउँछन् । देउसीभैलोको असली स्वरुपले हाम्रा पुर्खाको सम्पदा र साँस्कृतिक विविधतालाई झल्काउँछ ।

तर, पछिल्ला केही वर्षयता यस पर्वको मौलिकता र साँस्कृतिक पहिचानलाई संरक्षण गर्न कठिनाइ भइरहेको छ । विशेषगरि, नेपाली मौलिक देउसीभैलोमा हिन्दी गीत समावेश हुन थालेपछि यसलाई लिएर व्यापक बहस सुरु भएको छ । के देउसीभैलोमा विदेशी गीतको प्रयोगले हाम्रो सँस्कृति र पहिचानलाई धमिल्याइरहेको हो ? कि यो समयअनुसार परिवर्तित सन्दर्भ हो ? यस्ता प्रश्न नेपाली समाजमा उठ्न थालेका छन् ।

पछिल्ला वर्षहरुमा देउसीभैलो खेल्दा नेपाली मौलिक गीतभन्दा बढी हिन्दी गीतमा नृत्य गर्ने प्रचलन बढेको छ । विशेषतः सहरी क्षेत्रमा तिहारको बेला देउसीभैलोमा हिन्दी र पप गीतको मिक्सिङ र नृत्य गरिएको देख्न पाइन्छ । यस परिवर्तनलाई युवापुस्ताले आधुनिकता र ग्ल्यामरका रुपमा लिने गरेका छन् । हिन्दी गीतहरुको उच्चारणमा देउसीभैलो खेल्नाले युवामा बढी उत्साह देखिन्छ, जसले गर्दा नेपाली मौलिकता कमजोर बन्दै गएको छ ।

देउसीभैलोमा हिन्दी गीत प्रयोगले हाम्रो साँस्कृतिक मौलिकतामा असर पारेको भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन् । यसले साँस्कृतिक विरासतलाई कमजोर बनाउने कार्य हो भनेर आलोचना पनि भइरहेको छ । देउसीभैलोमा नेपाली गीतको सट्टा हिन्दी गीतको प्रयोग हुनु भनेको हाम्रो भाषा, कला, र सँस्कृतिप्रतिको अस्मिता खोसिनु हो भन्ने धारणा धेरैको छ । नेपाली सँस्कृतिमा आधारित रहेर खेलिने देउसीभैलोको पवित्रतालाई हिन्दी गीतहरुले धमिल्याएको अनुभव धेरैले गरिरहेका छन् ।

हालको युवा पुस्ता नयाँ शैली, नयाँ प्रविधि र फरक सँस्कृतिप्रति बढी आकर्षित भएको पाइन्छ । देउसीभैलो खेल्दा हिन्दी गीत र पप म्युजिकमा रमाउने युवापुस्तालाई परम्परागत् देउसीभैलोका गीत थोरै पुराना लाग्न थालेका छन् । तिहारलाई मनोरञ्जनात्मक र ग्ल्यामरस बनाउन हिन्दी गीतको प्रयोगले उनीहरुलाई बढी जोश र उमंगको अनुभूति गराउँछ ।

युवाको यस्तो आकर्षण आधुनिकताको नाममा हाम्रो परम्परागत् संगीत र सँस्कृतिलाई बिर्सिदै गइरहेको संकेत हो । यद्यपि, साँस्कृतिक सम्मिश्रणको जमाना भए पनि यसले नेपाली मौलिकतालाई धमिल्याउन सक्छ भन्ने चेतना आवश्यक छ । नेपाली देउसीभैलोमा हिन्दी गीत बजाउने युवाले यसबाट नेपाली कला र सँस्कृतिप्रति अनादर गरेको नबिर्सनु पर्ने हो ।

साँस्कृतिक पहिचान कुनै राष्ट्रको आत्मा हो । नेपाली समाजमा विशेष महत्व राख्ने देउसीभैलोको मौलिकता संरक्षणका लागि सबैले सचेत हुनु आवश्यक छ । यदि हामीले यस पर्वलाई विदेशी संगीत र शैलीबाट प्रभावित हुन दियौं भने केही वर्षमा देउसीभैलोको मौलिकता हराएर जाने खतरा छ । तसर्थ, सँस्कृतिप्रेमीहरुले देउसीभैलो खेल्दा नेपाली गीत र परम्परागत् शैलीलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ ।

साँस्कृतिक संरक्षणमा सरोकारवाला निकायले पनि पहल गर्नु आवश्यक छ । सामुदायिक र विद्यालयस्तरमा नेपाली देउसीभैलोको परम्परागत् शैली सिकाउने, प्रतियोगिता आयोजना गर्ने र यसलाई पुनः प्रवद्र्धन गर्ने जस्ता कदम चाल्न सकिन्छ । मिडियाको भूमिका पनि महत्वपूणर् रहन्छ । तिहार पर्वको क्रममा देउसीभैलोको मौलिक पक्षलाई प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गर्न सके युवामा यसको महत्वबारे जानकारी फैलाउन सकिन्छ ।

हाम्रो समाजमा परम्परागत् सँस्कृतिलाई जोगाउन र नयाँ पुस्तामा यसको महत्वको सन्देश दिन साँस्कृतिक पुनरुत्थान जरुरी छ । देउसीभैलोमा हिन्दी गीतको सट्टा नेपाली मौलिक गीत, परम्परागत् बाजा र शैलीको प्रचलनलाई पुनर्जीवित गर्न सकेमात्र यस पर्वको वास्तविक महत्व र गौरव कायम राख्न सकिन्छ । तसर्थ, देउसीभैलो खेल्दा नेपाली मौलिकताको संरक्षणमा ध्यान दिनुपर्छ भन्ने कुरा शिक्षण संस्था, अभिभावक र समाजले युवामा जागरुकता फैलाउनु आवश्यक छ ।

सँस्कृति भनेको समाजको पहिचान र आत्मासँग जोडिएको कुरा हो । देउसीभैलोको मौलिकता र हाम्रो साँस्कृतिक धरोहरलाई बचाउन यसमा आधुनिकताको नाममा विदेशी गीत र नृत्यको मिश्रणलाई न्यूनतम् गर्नेतर्फ सबैले प्रयास गर्न जरुरी छ । देउसीभैलोको यस साँस्कृतिक परम्परालाई जोगाएर नयाँ पुस्तामा हस्तान्तरण गर्नु हाम्रो दायित्व हो, जसले नेपाली सँस्कृति र पहिचानलाई सम्मान दिन्छ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here