Homeमुख्य समाचारकांग्रेस, माओवादीलाई विरासत जोगाउन चुनौती

कांग्रेस, माओवादीलाई विरासत जोगाउन चुनौती

सुनिता बिष्ट

हेटौंडा/मंसिर १६ गते स्थानीय तहको ४४ पदमा उपनिर्वाचन हुँदैछ । जसमा वागमती प्रदेशमा एक नगर प्रमुख तथा गाउँपालिका उपाध्यक्षसहित ७ पदका लागि उपनिर्वाचन हुने भएको छ ।

कीर्तिपुर नगरपालिका प्रमुख पदका लागि उपनिर्वाचन हुने भएको छ भने दोलखाको गौरीशंखर गाउँपालिका उपाध्यक्षमा उपनिर्वाचन हुन लागेको वागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका-१, कीर्तिपुर नगरपालिका-४, काठमाडौं महानगरपालिका-१६ मा वडाध्यक्षमा उपनिर्वाचन हुने भएको छ । नुवाकोटको ककनी गाउँपालिका-२ र मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१२ मा पनि वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको निर्वाचन कार्यालय वागमती प्रदेश, हेटौंडाले जनाएको छ ।

२०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुको विभिन्न कारण निधन र अन्य कारण रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । हेटौंडा-१२ मा निर्वाचित तत्कालीन वडाध्यक्ष ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको अध्यक्षमा निर्वाचित भएपछि उक्त वडाको वडाध्यक्ष पद रिक्त छ । त्यसबाहेक ६ जना जनप्रतिनिधिको भने विभिन्न कारण निधन भएकाले रिक्त पदमा उपनिर्वाचन गराइने निर्वाचन आयोगले जनाएको छ ।

१० साउन २०८१ मा कीर्तिपुर नगरपालिका मेयर राजकुमार नकर्मीको मिर्गौलासम्बन्धि रोगका कारण निधन भएको थियो । उनी २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भइ कीर्तिपुर नगरपालिका मेयर निर्वाचित भएका थिए । दोलखाको गौरीशंखर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको ३१ असार २०८० मा निधन भएको थियो । मुटुरोगी उपाध्यक्ष तामाङको गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचारका क्रममा मृत्यु भएको थियो । उनी नेपाली कांग्रेसका तर्फबाट पालिका उपाध्यक्ष निर्वाचित भएका थिए ।

कीर्तिपुर नगरपालिका-१ का वडाध्यक्ष हीरालाल महर्जनको २४ फागुन २०८० मा निधन भएको थियो । कलेजो क्यान्सरबाट पीडित उनले निर्वाचित भएको एक वर्ष पनि अध्यक्षमा रहेर काम गर्न पाएनन् । अध्यक्ष महर्जन पनि कांग्रेसबाट निर्वाचित भएका थिए । कीर्तिपुर नगरपालिका-४ का वडाध्यक्ष श्यामसुन्दर अधिकारीको सवारी दुर्घटनामा निधन भएको थियो । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको १० बैशाख २०८० मा अन्नपूणर् न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । बैशाख १ गते दुर्घटनामा परेका उनको ९ दिनपछि मृत्यु भएको हो । स्वतन्त्र उम्मेदवार अधिकारीले नेकपा माओवादी, नेपाली कांग्रेसलगायत सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै कीर्तिपुर-४ को वडाध्यक्ष निर्वाचित भएका थिए ।

काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको २१ भदौ २०८० मा निधन भएको थियो । डेंगु संक्रमणपछि निमोनिया भएका अध्यक्ष रिजालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अध्यक्ष रिजाल कांग्रेसबाट निर्वाचित भएका थिए । नुवाकोटको ककनी गाउँपालिका-२ का अध्यक्ष तिलकबहादुर लामाको मिर्गौला रोगका कारण निधन भएको थियो । एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं लैजाने क्रममा ३१ जेठ २०८० मा उनको बाटोम मृत्यु भएको थियो । २०७० बैशाखको स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए ।

जिल्ला समन्वय समितिको अध्यक्ष निर्वाचित भएपछि रिक्त रहेको हेटौंडा उपमहानगरपालिका-१२ को अध्यक्षमा पनि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष घलान जिल्ला समन्वय समिति अध्यक्ष निर्वाचित भएका थिए ।
विरासत जोगाउन चुनौती

२०७९ बैशाखको स्थानीय तह निर्वाचनमा निर्वाचित भएका दलहरुलाई आउँदो उपनिर्वाचनमा आफ्नो विरासत जोगाउने चुनौती बढेको छ । ठूलो दलको हैसियतमा चुनावी मैदानमा उत्रिएकोे नेकपा एमालेलाई पराजित गर्दै विजयको स्वाद चाखेका कांग्रेस र माओवादीलाई आउँदो उपनिर्वाचनमा आफ्नो विरासत जोगाउन चुनौती थपिएको हो ।

२०७९ बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित भएर हाल रिक्त रहेका ७ मध्ये ६ स्थानमा कांग्रेसले जितेको थियो भने माओवादीले जितेको एउटा वडामा उपनिर्वाचन हुन लागेको छ । हेटौंडा-१२ को वडाध्यक्षमा माओवादीका घलान निर्वाचित भएका थिए भने बाँकी हाल रिक्त रहेका ६ पदमा कांग्रेस निर्वाचित भएको थियो । कीर्तिपुर नगरपालिका प्रमुखदेखि गौरीशंखर गाउँपालिका उपाध्यक्षलगायत बाँकी ४ वडाध्यक्षसमेतमा आफ्नो विरासत जोगाउनुपर्ने दबाबमा कांग्रेस देखिन्छ ।

हेटौंडा-१२ सधैं माओवादीले जितिरहने वडाको रुपमा प्रख्यात छ । २०७४ को स्थानीय तह निर्वाचनमा समेत विजयी भएका घलान २०७९ सोही वडाको वडाध्यक्षमा दोहोरिएका हुन् । जसकारण पनि उक्त वडामा माओवादीले आफ्नो विरासत जोगाउनुपर्ने चुनौती देखिन्छ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here