26.1 C
Makwānpur
Homeमुख्य समाचारप्रयोगशालासहित उचित नियामक निकायको खाँचो

प्रयोगशालासहित उचित नियामक निकायको खाँचो

मनिता राना

हेटौंडा/नेपालमा प्रत्येक वर्ष कात्तिक शुक्ल त्रयोदशीका दिन आयुर्वेद प्रवर्तक भगवान् धन्वन्तरीको जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाउने गरिन्छ । धन्वन्तरी जयन्तीका दिन आयुर्वेदकर्मीले धन्वन्तरीको सम्झनामा पुजाआराधना गर्ने गरेको आयुर्वेद तथा बैकल्पिक चिकित्सालय मकवानपुर प्रमुख डा. ललिता पाण्डेले बताइन् ।

अघिल्ला वर्षहरुमा आयुर्वेद तथा बैकल्पिक चिकित्सालयमा बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने, स्वास्थ्य सेवा शिविर सञ्चालन गर्ने गरेको तर यस वर्ष कार्यालयमा कर्मचारी अभावले कार्यक्रम गर्न नसकिएको उनले जानकारी दिइन् । हाल आयुर्वेद केन्द्र हेटौंडामा दिनमा ७० देखि ८० जनासम्म बिरामीले सेवा लिने गरेको र बिरामीको स्वास्थ्य उपचार गर्न ३ चिकित्सक रहेको उनले बताइन् । केही समयअघि स्वास्थ्य केन्द्रमा औषधिको समस्या हुने गरेको तर हाल कुनै समस्या छैन । पछिल्लो समय आयुर्वेद सम्बन्धि बिरामीले विश्वास गर्नुभएको छ, बैकल्पिक चिकित्सालय प्रमुख डा. पाण्डेले भनिन् ।

लगातार २ वर्षदेखि केन्द्रमा आएका बिरामीमध्ये अम्लपित्त, वातव्याधि, गुदविकार, कास, उदर रोगका बिरामी अधिक देखिएका छन् । जसमा अम्लपित्त रोगका कुल वहिरंग सेवा लिने ६ हजार १४ जना (२६.४ प्रतिशत्) वातव्याधि रोगसम्बन्धि कुल वहिरंग सेवा लिने ५ हजार १ सय ६८ जना (२२.६८ प्रतिशत्), गुद विकार रोगसम्बन्धि २ हजार ६३ जना (९.०५ प्रतिशत्) कास रोग १ हजार १ सय ८८ जना (५.२ प्रतिशत्) र उदर रोगका बिरामी १ हजार ७५ जना (४.७ प्रतिशत्) ले वहिरंग सेवा लिएको पाइएको छ ।

वस्तुतः सृष्टिकर्ता व्रह्माबाट प्रादुर्भाव भएको आयुर्वेदलाई भूमण्डलमा अवतरण गराउने श्रेय भगवान् धन्वन्तरीलाई जान्छ । समुद्र मन्थनका क्रममा शंख, चक्र, जलौका (एक प्रकारको जुका, जसलाई शल्यचिकित्सकहरुले रक्तस्रवित गराउन प्रयोग गर्छन्) तथा अमृत कलश लिएर उत्पन्न भएका भगवान् धन्वन्तरी भगवान् विष्णुका अंशावतारका रुपमा पूजित छन् ।

भगवान् धन्वन्तरी आरोग्यका देवता मानिन्छन् । उनको अवतरण कात्तिक शुक्ल त्रयोदशीका दिन भएका हुनाले यस दिनलाई धन्वन्तरी जयन्ती भनिएको हो । यस कारण यस दिन आयु एवम् आरोग्यको कामना गर्दै चिकित्साकर्मका सफलता हेतु आयुर्वेद अनुयायीहरु भगवान् धन्वन्तरीको विधिपूर्वक पूजाअर्चना गर्ने गर्छन् ।

आयुर्वेदको अवतरण सर्वप्रथम हिमवत्खण्डमा भएको उल्लेख छ । नेपाल हिमवत्खण्डभित्र पर्ने भएकाले आयुर्वेदको अवतरणको मूल थलो नेपालको हिमालयपाश्र्व नै मानिन्छ । यस कारणले पनि आयुर्वेदको विशिष्ट परम्परा यस देशमा हुनु स्वभाविक एवम् गौरवपूणर् पनि छ ।

यस दिनलाई राष्ट्रले आरोग्य दिवसका रुपमा समेत घोषणा गरेको धेरै वर्ष बितिसकेको छ । अर्कातिर देशको एकमात्र आयुर्वेद चिकित्सालयले १ सय वर्ष पार गरिसकेको इतिहास छ । यति हुँदा पनि आयुर्वेद क्षेत्रको विकास, विस्तार, प्रचार तथा प्रसार जतिसम्म हुनु पर्ने हो त्यति हुन नसक्नुले कतै न कतै यस विधाप्रति राष्ट्रको उदासिनता प्रष्ट हुन्छ ।

लामो गौरवपूणर् इतिहास बोकेको आयुर्वेद औषधि उत्पादक संस्था सिंहदरबार वैद्यखानाको गुणस्तरीय उत्पादन छँदाछँदै र बढ्दो माग हुँदाहुँदै पनि हालसम्म त्यसो हुन नसकेकोमा आगामी दिनहरुमा यसको गुणात्मकता अभिवृद्धि गर्दै जीएमपीमा लैजानु अति आवश्यक देखिन्छ । राष्ट्रले अन्धाधुन्धरुपमा र एकपक्षीयरुपमा आधुनिक पाश्चात्य चिकित्सा प्रणालीको मात्र विकास-विस्तारमा जोड दिइ राष्ट्रको मौलिक चिकित्साका रुपमा रहेको र सुदीर्घ परम्परा बोकेको आयुर्वेद जस्तो निरापद, सुलभ र स्वदेशी स्रोतबाट प्रदान गर्न सकिने चिकित्सा पद्धतिलाई उपेक्षा गर्ने गरेको तथ्य दुःखपूणर् रहेको गुनासो छ ।

गुणस्तरीय आयुर्वेद सेवा दिन गुणस्तरीय औषधि अपरिहार्य छ । आयुर्वेदमा उल्लेख भएअनुसार चिकित्साका चार पाउहरु दक्ष चिकित्सक, सबै गुणले युक्त औषधि, दक्ष परिचारक र रोगीमध्ये महत्वपूणर् भूमिका भएको गुणस्तरीय औषधिमा ध्यान दिने निकायको उचित प्रवन्धनका अभावमा नेपालमा निर्माण भइरहेका औषधिहरुको उचित नियमन इत्यादि नभइराखेको देखिन्छ ।

औषधि व्यवस्था विभागभित्र आयुर्वेदको नाम मात्रको उपस्थितिले कदापि आयुर्वेद औषधि उत्पादनहरुको गुणदोषमापन, अनुगमन तथा नियन्त्रण सम्भव हुन सक्दैन । सधैं अन्तर्राष्ट्रिय मापदण्डहरु स्वीकार्य नहुन पनि सक्छन् । भष्म इत्यादिको समाप्ति तिथि समेत अलग हुनसक्ने कुराको समेत ख्याल गर्दै आयुर्वेदमा वणर्ित औषधि परीक्षण विधिहरुको समेत उपयोग गर्दै र आयुर्वेदीय मापदण्डहरुको समेत पालन गर्दै अलग प्रयोगशालासहित आयुर्वेदीय औषधिहरुको उचित नियमन गर्ने अलग निकाय स्थापना गरिनु अपरिहार्य रहेको आवाज छ ।

जबसम्म नेपालमा सबै प्रकारका आवश्यक आयुर्वेद औषधिहरुको गुणस्तरीय निर्माण गर्ने अवस्था आउँदैन, तबसम्म गुणस्तरीय औषधिहरुको आयात बन्द गरिनु उचित हुँदैन । यसले चिकित्साको असफलतामात्र हैन, चिकित्सकको वृत्तिहानि, नैराश्य, रोगीको रोग निवारणको अभाव र अन्त्यमा आयुर्वेद चिकित्साप्रति नै वितृष्णा पलाउनसक्ने समेतको भयावह स्थति उत्पन्न हुनसक्छ । नेपालमै प्राप्त जडीबुटीहरुको पहिचान, उत्पादन, प्रशोधन तथा औषधि निर्माणका लागि सातै प्रदेशमा विभिन्न आवश्यक संस्थाहरुको स्थापनाका साथै अनुसन्धान केन्द्रहरुको स्थापना तथा सञ्चालन नाममात्रका रुपमा नभइ प्रभावकारीरुपमा हुनुपर्ने आवश्यकता छ ।

प्राकृतिक जडीबुटीहरु लामो परम्पराबाट हितकारी प्रमाणित भएका हुन् । हजारौं वर्षदेखि अविच्छिन्न परम्पराका रुपमा प्रयोगद्वारा क्रमशः प्रमाणित हुँदै आएका जडीबुटीहरुको प्रभावकारिता कोभिडका समयमा आउँदासम्म पनि उत्तिकै देखिएको तथ्य सबैका सामु प्रष्ट छ ।

उक्त महामारीका समयमा आइसोलेसन सेन्टरहरुमा वितरित रोगप्रतिरोधक क्षमता अभिवृद्धि गर्ने किसिमका गुडुची (गुर्जो), यष्टिमधु (जेठीमधु), त्रिकटु (सुठो, पिप्ला, मरिच), तुलसी चिया, अश्वगन्धा, च्यवनप्राश जस्ता महत्वपूणर् आयुर्वेद औषधिहरुको प्रभावकारिताले गर्दा छिटोभन्दा छिटो स्वास्थ्यलाभ गरी घर फर्कनेहरुको संख्या बढेको देखिएको थियो ।

होम आइसोलेसनमा बसेरसमेत जडीबुटी प्रयोग, प्राणायाम, शुद्ध हावा र घामको सेवन, व्यायाम, स्वस्थ्यकर दिनचर्या तथा आहारविहारका आयुर्वेदोक्त नियमहरुको परिपालनबाट घरमै आरोग्यलाभ गर्नेहरुको संख्यासमेत बढेको थियो । यस्ता गुणकारी जडीबुटीको संरक्षण, सम्वद्र्धन तथा उचित प्रयोग तथा स्वदेशी स्रोतहरुको अधिकाधिक परिचालन गर्दै एवा् राष्ट्रको आफ्नो मौलिक चिकित्सा पद्धति आयुर्वे द चिकित्साद्वारा यथासम्भव स्वास्थ्य सम्वद्र्धन गर्दै राष्ट्रलाई समृद्ध पार्नु सबैको कर्तव्य पनि हो ।

आयुर्वेद चिकित्सकहरु तथा विशेषगरि आधुनिक चिकित्साका चिकित्सकहरुले एकअर्काका चिकित्सा पद्धतिप्रति सहिष्णु बनिदिन एवम् विनाप्रमाण, तथ्य नबुझी लाञ्छना लगाउने र बिरामीहरुलाई दिग्भ्रमित गर्ने काम नगरिदिन आग्रह गरिएको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here