Homeमुख्य समाचारअसुरक्षित बन्दै पश्चिम मकवानपुर

असुरक्षित बन्दै पश्चिम मकवानपुर

मनिता राना

हेटौंडा/छिमेकी चितवनको माडी र पर्साको ठोरी क्षेत्रका बस्तीमा हात्ती छिर्न थालेपछि सावधानी अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ । ती हात्तीले आफ्नो गन्तव्य मकवानपुरका पश्चिमी क्षेत्रलाई बनाउने गरेका छन् । उक्त क्षेत्रमा जंगली हात्ती देखिएकाले राति एक्लै हिँडडुल नगर्न स्थानीयलाई निकुञ्जले अनुरोध गरेको हो ।

उक्त क्षेत्रमा एक सातादेखि जंगली हात्ती समूहमा देखिन थालेकाले आवश्यक सावधानी अपनाउन स्थानीयलाई अनुरोध गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले बताए । उनका अनुसार धान पाक्ने समयमा धान खान आएका हात्ती माडी र ठोरी क्षेत्रमा देखिएका हुन् । हात्तीका कारण रातको समयमा हिँडडुल गर्दा मानवीय क्षति हुनसक्ने भएकाले एक्लै नहिँड्न र हिँड्नै परे उज्यालो बनाएर, समूहमा तथा चनाखो भएर हिँड्न निकुञ्ज प्रशासन भनेको छ ।

हात्ती समूहमा छिर्ने र फरकफरक ठाउँमा गएर नागरिकलाई आक्रमण गर्ने, अन्नबाली नष्ट गरिदिने सूचना अधिकारी थापामगरले बताए । धानखेती भित्र्याउने समयमा समूहमा हात्ती आउँदा स्थानीय त्रसित हुने गरेका छन् । नेपालबाट भारत र भारतबाट नेपालमा समयसमयमा जंगली हात्ती आवतजावत गर्ने गरेकाले पनि बस्ती असुरक्षित बनेको उनले बताए ।

जंगली हात्ती लखेट्न निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली परिचालन गरिएको सूचना अधिकारी थापामगरले बताए । उनले हात्ती भगाउन ढ्यांग्रो ठटाउने, राँको बाल्नेलगायत काम गर्दै आएको बताए । हात्ती हिंस्रक भए प्लाष्टिकको गोलीले हवाइफायरसमेत गर्ने गरी तयारी अवस्थामा छौं, उनले भने ।

नजिक रहेको पर्सा राष्ट्रिय निकुञ्जबाट बस्तीमा छिर्ने हात्तीले आतंक मच्चाउँदा मध्यवर्ती क्षेत्रका गाउँका बासिन्दाहरु रातभर अनिँदो बस्न बाध्य हुन्छन् । मनहरी गाउँपालिका वडा-२ स्थित ठाडोखोला र गोगनघारी क्षेत्रका दुई सय घरपरिवार जंगली हात्तीका कारण आक्रान्त बन्छन् । ती हात्तीले स्थानीय अर्जुन रुम्बा र नारायण रुम्बाको घर भत्काएपछि गाउँलेहरु आक्रान्त बनेका थिए । अर्जुन र नारायणको घर भत्काएर हात्तीले अन्नपात र खाद्यान्न खाएको थियो ।

राति सक्रिय रहने जंगली हात्ती दिनभर जंगल क्षेत्रमा लुक्ने गरेको छ । दिउँसो निकुञ्जका सुरक्षाकर्मी आउने गरे पनि राति गाउँलेहरुले आगो बालेर हात्ती धपाउने गरेको स्थानीयले जानकारी दिएका छन् । हात्तीको आक्रमणबाट बच्नका लागि उपभोक्ताहरु नै सचेत हुनुपर्ने देखिन्छ । जंगली हात्तीलाई पुनः बासस्थानमा फर्काउनका लागि प्रयत्न हुने गरेको छ । भीडभाड जम्मा गर्ने र हात्तीलाई जिस्काउने काम गर्न नहुने पर्सा निकुञ्जका कर्मचारीले बताएका छन् । मनहरी गाउँपालिका-३ मा ८० वर्षीया एक बृद्धलाई जंगलमा आक्रमण गरी जंगली हात्तीले मारेको थियो । मनहरी गाउँपालिकाको वडा-२, ३ र ४ का वडाबासी हात्तीबाट आक्रान्त बनेका छन् ।

राजमार्गभन्दा उत्तरमा रहेको रामलालघाटस्थित खनिएको पोखरीमा जंगली हात्तीको समूहले दिनभर आहाल खेल्ने र राति आहाराको खोजीमा उत्तरतिरको बस्तीमा छिर्ने गरेको पाइएको वन कर्मचारीहरुको भनाइ छ । रामलालघाटमा वन कार्यालयले वन्यजन्तुलाई पानी खान र डँढेले नियन्त्रण गर्ने उद्धेश्यले पोखरीसमेत खनेको जिल्ला वन कार्यालयले बताएको छ ।

जंगलभित्र पोखरी खनिएपछि वन्यजन्तुलाई फाइदा पुगेको छ । उनीहरुलाई पानीको लागी अन्यत्र भौंतारिनु परेको छैन । रामलालघाटमा पानीको सुबिधा र शान्त वातावरण भएकाले जंगली हात्तीले दिउँसोको वासस्थानका रुपमा प्रयोग गर्दै आएका छन् । उत्तरतिरको बस्तीमा घरेलुमदिरा तयार गर्न जाँडको घैंटो राखिएको हुन्छ । त्यसको गन्ध पाउनेबितिकै भाले हात्ती त्यतातिर लम्किन्छन् । भाले हात्तीले जाँड खान मन पराउने भएकाले त्यसका लागि बस्ती पुगेर उत्पात मच्चाउने गरेको वन कर्मचारीको ठम्याई छ ।

राजमार्ग उत्तरतिरका सबै बस्ती वनक्षेत्र अतिक्रमण गरी बसेको बस्ती भएको जिल्ला वन कार्यालयले जनाएको छ । वनक्षेत्र अतिक्रमण गरेर बसेको बस्तीलाई हटाउन वन कार्यालयले योजना बनाएको छ । अतिक्रमित वनक्षेत्र खाली गराउन हात्तीले नै सक्रियता देखाएका छन् ।

हात्तीले बस्तीमा घर भत्काउन जाँदैन । जाँड खानमात्र जान्छन् । तर, बस्तीका मानिसले राँको लिएर हात्तीलाई धपाउन खोज्दा उसले त्यसको प्रतिवाद गर्दै घर भत्काइदिने, मान्छे मारिदिने गरेको ती कर्मचारीले नाम नछाप्ने शर्तमा बताए । जंगली हात्ती बाटोमा निस्कन थालेपछि गैंडाटारतर्फ आवतजावत गर्ने मानिस तथा त्यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । साँझ परेपछि राजमार्ग पर्ने जंगलको बाटोमा गुडने मोटरसाइकल यात्रीलाई आवतजावत गर्नमा स्थानीय प्रशासनले रोक लगाउनुपर्ने सचेत नागरिकले जोड दिएका छन् ।

हात्तीको मुभमेट कम नहुञ्जेलसम्म राति राजमार्गमा हिँड्ने मोटरसाइकल यात्री हात्तीको आक्रममा पर्ने सम्भावना बढेको सरोकारवालाको भनाइ छ । राति वन्यजन्तुहरु राजमार्गमा निस्केर बसिदिने क्रियाकलाप बढेकाले यसमा स्थानीय प्रशासनले ध्यान दिनु जरुरी रहेको सचेत नागरिकहरुको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट पर्सा राष्ट्रिय निकुञ्जको बाटो मकवानपुर हुँदै रौतहटको गैंडाटार क्षेत्रमा एकसिंगे गैंडा पुग्ने गरेका छन् । ती गैंडा दिउँसो लामो समयसम्म वागमती नदीमा नुहाएको प्रत्यक्षदर्शीले बताउने गरेका छन् । जिल्ला वन कार्यालयमा कार्यरत् वन कर्मचारी, स्थानीयलगायतले गैंडालाई नुहाउँदै गरेको दृष्य अभिरुचिपूर्वक अवलोकन गनै भ्याएका थिए ।

पछिल्लो समय पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । नेपालमा पाइने रैथाने हात्तीको प्रमुख वासस्थान मानिएको उक्त निकुञ्ज पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । पर्यटकीय सम्भावना र पूर्वाधार विकासलाई आधार बनाएर सरकारले यसलाई २०७४ सालमा नेपालको १२ औं निकुञ्जका रुपमा घोषणा गरेको थियो । पर्सासहित बारा र मकवानपुर गरी तीन जिल्लासँग जोडिएको निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकका लागि खुला गरिएको छ ।

प्राकृतिक सुन्दरतासँगै वन्यजन्तुको संरक्षण गर्न सकिने जैविक विविधताको धनी मानिएको निकुञ्जमा छिमेकी मुलुक भारतका पर्यटक पनि आउने क्रम बढेको निकुञ्ज प्रशासनले जनाएको छ । विगतको भन्दा हाल निकुञ्जमा आन्तरिक तथा छिमेकी मुलुक भारतका पर्यटक बढेका छन् । वाह्यभन्दा आन्तरिक पर्यटक धेरै आउने गरेका छन् ।

आव २०७८/०७९ मा नेपाली र विदेशी गरी ७ सय ७७ पर्यटकले निकुञ्जमा अवलोकन भ्रमण गरेका थिए । आव २०७८/०७९ मा ७ सय ६९ नेपाली र ८ विदेशी पर्यटक निकुञ्ज भित्रिएका थिए । उक्त आवमा वनक्षेत्र, प्रशासनिक, दण्ड जरिवाना, पर्यटकलगायत शीर्षकबाट ८८ लाख ४६ हजार ६ सय ७९ राजस्व संकलन भएको जनाइएको छ । निकुञ्जभित्र ऐतिहासिक तथा प्राचीन माया मन्दिर, दुग्धेश्वर महादेव मन्दिर जस्ता धार्मिकस्थल छन् भने कामिनी दह, हलखोरिया दह र लौकी दहलगायत प्राकृतिक तथा मनोरम दह पर्यटकका प्रमुख आकर्षणका केन्द्र बनेका छन् । निकुञ्जभित्र दुर्लभ वन्यजन्तु र चराचुरुंगीको बाक्लो उपस्थितिले पर्यटकलाई लोभ्याइरहन्छ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here