26.1 C
Makwānpur
Homeमुख्य समाचारसुत्केरी हुन अझै अस्पताल जाँदैनन् महिला

सुत्केरी हुन अझै अस्पताल जाँदैनन् महिला

मनिता राना

हेटौंडा/पायक पर्ने स्थानमा स्वास्थ्य चौकी नहुनु, भौगोलिक विकटता, प्रसुतिगृह टाढा हुनु, परिवारको लापरबाही, परिवारको आर्थिक अवस्थालगायत कारण जिल्लाका ग्रामीण क्षेत्रका महिला बाटोमै सुत्केरी हुन बाध्य भएका भए ।

२१ वर्षीया मीना नेपालीलाई २०७९ साउन १६ गते सुत्केरी ब्यथाले च्यापेपछि स्वास्थ्यचौकी लैजाने क्रममा उनी बाटोमा सुत्केरी भइन् । उनको पहिलो सन्तानका रुपमा छोरा जन्मिए । वर्षात्को बाटो, सामान्य मानिसलाई हिँडेर पुग्न करिब चार घण्टा लाग्ग्यो । साउने झरिमा सुत्केरीलाई स्ट्रेचरमा बोकेर त्यति टाढाको बर्थिङ सेन्टरमा पुर्‍याउन कम्ति कठिन थिएन । तापनि मीनालाई स्वास्थ्य संस्था पुर्‍याउनुपर्ने बाध्यता थियो । उनले स्वास्थ्य संस्था नपुग्दै बाटोमै बच्चा जन्माइन् ।

सिमलडाँडाकी अस्मिता चेपाङको सुत्केरी हुने क्रममा मृत्यु भयो । शिशुलाई जन्म दिएपछि ३५ वर्षीया चेपाङको मृत्यु भएको थियो । उनी दुई पटक गर्भपरीक्षण गर्न स्वास्थ्य संस्था गएकी थिइन् । तर, सुत्केरी हुन स्वास्थ्य संस्था जाउँ भन्दा नमानेर घरमै सुत्केरी हुँदा उनको मृत्यु भएको हो । घटनास्थल पुगेका स्वास्थ्यकर्मीले ती महिलाको पाठेघर बाहिर निस्किएर उच्च रक्तस्रावका कारण मृत्यु भएको बताएका थिए ।

सालनाल जबर्जस्ती निकाल्न खोज्दा उनको मृत्यु भएको बताइएको छ । सुत्केरी व्यथा लागेकी चेपाङको घरमै शिशुको जन्म भएको तर सालनाल निकाल्ने क्रममा जबर्जस्ती गरेका कारण पाठेघर बाहिर निस्किएर मृत्यु भएको त्यहाँ पुगेका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । यसअघि दुई सन्तानलाई जन्म दिएकी चेपाङको यो तेस्रो बच्चा हो । शिशुको स्वास्थ्य अवस्था भने राम्रो रह्यो । बिकट पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदाय शिक्षा, स्वास्थ्यको पहुँचबाट पछाडि छन् ।

तर, परिवेश र सुबिधा फेरिएको अवस्थामा पनि तुलनात्मकरुपमा सुगम मानिने हेटौंडा उपमहानगरपालिका-१४ नम्बर वडाका महिला प्रसुतिमा लागि स्वास्थ्य चोकी नगइ घरमै गराउने गरेको पाइएको छ । मयुरधापमा स्वास्थ्यचौकी हँुदाहँुदै पनि महिलाहरु स्वास्थ्य जाँच गराउनका लागि त्यहाँ जाने नगरेको पाइएको हो ।

हेटौंडा-१४, गौरीटोलकी २८ वर्षीया उर्मिला प्रजा केही दिनअघि घरमै सुत्केरी भएकी थिइन् । उनबाट २ वर्ष अन्तरमा १ छोरा र ३ छोरीको जन्म आफ्नै घरमा भएको परिवारका सदस्यको भनाइ छ । नजिक स्वास्थ्यचौकी भएर पनि किन नगएको भन्ने प्रश्नमा उनले भनिन्-सुत्केरी व्यथा नै छोटो समय लाग्यो । यदि अस्पताल गएकी भए पनि बाटोमै जन्मिने रहेछ ।

उनी सुत्केरी हुने समय घरमा कोही नभएको र सासु चिया खान बाहिर निस्किएको समयमा आफूलाई सुत्केरी व्यथा लागेको र हतारहतार आमालाई बोलाएर छरछिमेक जम्मा भइ सालनालका कामहरु छरछिमेकका दिदीबहिनीले गरिदिएको उनले बताइन् । स्वास्थ्यचौकी जानुपर्छ भन्ने ज्ञान भएको तर स्वास्थ्य जाँच गर्न भने नगएको उनले बताइन् । हाल उर्मिला र उनकी छोरीको स्वास्थ्य अवस्था ठीक भएको परिवारको भनाइ छ ।

मयुरधापस्थित स्वास्थ्यचौकीमा कार्यरत् स्वास्थ्यकर्मी चन्द्रमा ढकालका अनुसार १४ नम्बरका महिला प्रायः घरमा बच्चा जन्माउने गरेका छन् । बारम्बार घरघरमा गएर पटकपटक सम्झाउँदा पनि स्वास्थ्यचौकीमा जाँच गराउन आउने नगरेको उनको गुनासो छ । यसरी उनीहरुले घरमै बच्चा जन्माउँदा बच्चाले पाउने स्वास्थ्य उपचारबाट बञ्चित हुनुपरेको उनले बताइन् ।

गर्भावस्था हुँदा महिलाले लगाउनुपर्ने टीटी खोपलगायत स्वास्थ्य संस्थामा सुत्केरी गराउने सीमान्तकृत चेपाङ महिलालाई यातायात खर्चबाट बञ्चित हुनुपर्‍यो,” स्वास्थ्यकर्मी ढकालले भनिन् । महिलाहरु सुत्केरी हुन अस्पताल नपुग्ने मात्र नभइ उमेर नपुगी विवाह गर्ने पनि उत्तिकै समस्या रहेको उनले जानकारी दिइन् । प्रजा समुदायका महिलाहरुलाई जनचेतनाकै कमी भएको उनको बुझाइ छ । यसबारे शिक्षाबाट महिलाहरु अझै बञ्चित हुनुपरेको उनले बताइन् । महिलाहरु आफैं ॅमैले पढेर के नै हुन्छ र” भन्ने सोच राख्ने भएका कारण उनीहरु पछि परेको उनको दाबी छ ।

तर, वडामा घरमा नै सुत्केरी हुने गरेको हँुदै नभएको वडाध्यक्ष दीपक खड्काको दाबी छ । उनले भने-हेटौंडा-१४ मा त्यस्ता महिला छँदै छैनन् । ॅहाल सबै महिला स्वास्थ्यचौकीमै पुगेर प्रसुति गराउने गरेका छन्,” उनले आक्रोशित हँुदै भने अस्पष्ट जवाफसहित भने-घरमा प्रसुति गराएर चैं के हुन्छ ? हाम्री आमाले पनि हामीलाई घरमै जन्माएकी थिइन् । उनको यस्तो जवाफले जनप्रतिनिधि भएर गैरजिम्मेवार र समाजलाई चेतना जगाउनुको सट्टा भड्काउने कार्य भएको भन्ने बुझिन्छ । बाटोमै सुत्केरी भए पनि स्वास्थ्यचौकी पुगेर नाम टिपाउने र यातायात खर्च लिने गरेकाले बाटोमा सुत्केरी भएको तथ्यांक स्वास्थ्य संस्थामा राखिएको भेटिँदैन ।

स्वास्थ्य कार्यालय मकवनपुरले स्वास्थ्यसम्बन्धि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । विशेष अनुदान कार्यक्रमअन्तर्गत् प्रसुति केन्द्र सबलीकरण कार्यक्रम, मातृ तथा बाल स्वास्थ्य प्रवद्र्धन, सुरक्षित स्वास्थ्य भविष्य, किशोरकिशोरीको लक्ष्यलगायत कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रसुति सबलीकरण कार्यक्रमअन्तर्गत् स्थापना भएको प्रसुति केन्द्रमा खटिएका स्वास्थ्य कर्मचारीलाई स्वास्थ्यसम्बन्धि तालिम आयोजना गरी तालिम दिने, प्रसुति केन्द्रमा प्रविधि सुधारजस्ता कार्य गरिएका छन् । प्रसुति केन्द्रमा महिलाहरु आकस्मिक (इमर्जेन्सी) प्रसुति गराउन आउँदा विद्युत् लाइन नभएको बेलामा बैकल्पिक विद्युत् आपूर्तिका लागि सोलार जडान गरिएको छ ।

प्रसुति केन्द्रमा आवश्यक पर्ने औजार तथा उपकरण उपलब्ध गराउने गरिएको छ । धेरै प्रसुति केन्द्र स्थापना भइसकेको र सरकारी अस्पतालहरुले पनि प्रसुति गराउन आउनेलाई यातायात खर्चको व्यवस्था गरिदिए पनि प्रसुति केन्द्रमा प्रसुति गराउनेको संख्यामा उल्लेख्य सुधार भएको छैन । प्रसुति केन्द्र स्थापना भएअनुसार घरमा प्रसुति गराउनेको संख्या शून्य हुनुपर्नेमा खासै सुधार हुन नसकेको अवस्था छ ।

सुधारका लागि स्वास्थ्य कार्यालय मकवानपुरले स्वास्थ्य शिक्षाको व्यवस्था मिलाइ स्वास्थ्य कर्मचारीलाई स्वास्थ्य शिक्षाबारे जनचेतना फैलाउन सक्ने गरी सक्षम बनाउने र महिलाहरुलाई प्रसुति गराउन केन्द्रसम्म आउन प्रोत्साहन गर्नेजस्ता कार्यक्रम गरिरहेको छ ।

कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत् एक सुत्केरीको मृत्यु भएको थियो । हेटौंडा अस्पतालको कोभिड-१९ उपचारकक्षमा उपचाररत् सुत्केरीको मृत्यु भएको हो । मृत्यु हुनेमा मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर-३, निबुवाटारकी ३० वर्षीया महिला थिइन् । संक्रमण पुष्टि भएपछि स्वास्थ्यमा श्वासप्रश्वाससम्बन्धि समस्या देखिएको र उपचारका लागि तत्काल हेटौंडा अस्पतालको कोभिड उपचारकक्षको आईसीयुमा भर्ना भएकी थिइन् ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here