सुनिता बिष्ट
हेटौंडा/असोज दोस्रो हप्तादेखिको अविरल वर्षाका कारण वागमती प्रदेशका १३ जिल्लामध्ये १२ जिल्लामा अनुमानित १ अर्ब ४५ करोड ७८ लाख ३५ हजार रुपियाँ मूल्य बराबरको कृषिबाली क्षति भएको छ ।
प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार उक्त मनसुनजन्य विपद्ले प्रदेशको ६ हजार ८७७.३ हेक्टर जमिनमा बाढीपहिरोले क्षति पुर्याउँदा उक्त रकम बराबरको कृषिबालीे क्षति भएको प्रारम्भिक अनुमान गरिएको हो । मन्त्रालयको अनुमानित तथ्यांकअनुसार चितवनमा ४ करोड ८४ लाख ८६ हजार बराबरको कृषिबाली क्षति भएको जनाइएको छ ।
चितवनको माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा मनसुनजन्य विपद्ले क्षति पुर्याएको मन्त्रालयले जनाएको छ । जसमा माडी नगरपालिकामा ३३ लाख ६४ हजार र इच्छाकामना गाउँपालिकामा ४ करोड ५१ लाख २२ हजार बराबरको कृषिधनमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।
मकवानपुरमा कुल ४५ करोड ७७ लाख ६९ हजार बराबरको कृषिबाली क्षति भएको मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख सुजन कँडेलले बताए । उनका अनुसार मकवानपुरको कैलाश गाउँपालिका, भीमफेदी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाबाहेक ७ स्थानीय तहमा उक्त रकम बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताइएको छ । मकवानपुरको ३ हजार २ सय ७४ हेक्टर क्षेत्रफलमा लगाइएको अन्नबाली तथा नगदेबालीमा क्षति पुगेको बताइएको छ ।
सिन्धुलीमा कुल ८ सय ६७ हेक्टर क्षेत्रफलमा लगाइएको कृषिबालीमा क्षति पुगेको मन्त्रालयको प्रारम्भिक अनुमान छ । जसबाट सिन्धुलीका ७ वटा स्थानीय तहमा ९ करोड ८८ लाख ३८ हजार मूल्य बराबरको क्षति भएको बताइएको छ । सिन्धुलीमा तरकारी खेती गरिएका १८ वटा टनेलमा बाढीपहिरोले क्षति पुर्याएको मन्त्रालयले जनाएको छ ।
काभ्रेमा ४७ करोड ६ लाख ९१ हजार मूल्य बराबरको कृषिबालीमा क्षति पुगेको मन्त्रालयको प्रारम्भिक अनुमान छ । काभ्रेका १३ स्थानीय तहका १ हजार २३६.१ हेक्टर क्षेत्रफलमा लगाइएको कृषिबाली क्षति भएको मन्त्रालयको योजना तथा अनुगमन महाशाखाले जनाएको छ ।
रसुवामा ८.३ हेक्टर जमिनमा लगाइएको कृषिबाली क्षति हुँदा १७ लाख २५ हजार बराबरको कृषिबालीमा क्षति पुगेको बताइएको छ भने नुवाकोटमा १ सय ९८.४८ हेक्टर जमिनमा लगाइएको कृषिबालीमा बाढीपहिरोको प्रभावले २ करोड २३ लाख ४३ हजार बराबरको कृषिधनमा क्षति पुगेको प्रदेशको कृषि मन्त्रालयको प्रारम्भिक अनुमान छ ।
ललितपुरमा ५ सय ६१.८ हेक्टर जमिनमा लगाइएको कृषिबालीमा क्षति पुग्दा १८ करोड ९६ लाख ५३ हजार बराबर क्षति भएको मन्त्रालयको अनुमान छ भने भक्तपुरमा १ सय ६८.५ हेक्टर बाढीपहिरोले प्रभावित हुँदा ६ करोड ९९ लाख ८६ हजार बराबरको क्षति पुगेको मन्त्रालयको प्रारम्भिक अनुमान छ ।
काठमाडौंमा ३ करोड १ लाख ५९ हजार बराबरको कृषिबाली क्षति भएको मन्त्रालयको प्रारम्भिक अनुमान छ भने रामेछापमा २ करोड ३६ लाख ३२ हजार र दोलखामा ७ लाख १२ हजार मूल्य बराबरको कृषिबाली क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । वागमतीका १३ जिल्लामध्ये सिन्धुपाल्चोकमा भने उक्त मनसुनजन्य विपद्ले कुनै क्षति नपुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका योजना तथा अनुगमन महाशाखाका अनुसार जिल्लास्थित स्थानीय तहका कृषि शाखाहरुले दिएको प्रारम्भिक अनुमानका आधारमा प्रदेशको कृषि मन्त्रालयले कृषिबालीको प्रारम्भिक क्षतिको विवरण निकालेको हो ।
मनसुनजन्य विपद्मा परेका किसानहरुलाई उचित क्षतिपूर्ति दिने उद्धेश्यले मन्त्रालयले कृषिबाली तथा पशुपक्षी क्षतिको विवरण संकलन गरेको थियो । जिल्लास्थित पशुसेवा कार्यालय, कृषि विकास निर्देशनालय तथा पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयलाई विवरण संकलनका लागि निर्देशन दिइएको थियो । सोही कार्यालयहरुको समन्वयनमा प्रदेशका १३ जिल्लाका १ सय १९ स्थानीय तहमा भएको कृषिबाली तथा पशुपक्षी क्षतिको विवरण संकलन गरिएको मन्त्रालयले जनाएको छ ।