बसन्त भण्डारी\हेटौंडा/हेटौंडाको वृन्दावन वनस्पति उद्यानस्थित वनस्पति अनुसन्धान केन्द्रले फूल नफुल्ने र फल नलाग्ने दुर्लभ वनस्पति उन्यूको प्रसारणसम्बन्धि अनुसन्धानमा उल्लेखनीय प्रगति हासिल गरेको छ । नेपालमा चिसो, ओसिलो र सेपिलो वातावरणमा पाइने यो प्राचीन वनस्पति जडीबुटी, तरकारी, अचार र शोभनीय उपयोगिता भएका कारण मानवजीवनका लागि बहुउपयोगी मानिन्छ । सन् २०२१ देखि जारी अनुसन्धानले हालसम्म ८ वटा विभिन्न प्रजातिका उन्यूलाई सफलतापूर्वक प्रसारण गरेर ठूलो योगदान पुर्याएको छ ।
उन्यूको विशेषता भनेको फूल र फल नहुने हो । यसमा विकसित जलवाही तथा खाद्यवाही तन्तु हुन्छन् । यसको प्रजनन् प्रणाली विषाणुको माध्यमबाट हुने गर्छ, जुन पातको पछाडिपट्टि हुने गर्दछ । यसको उत्पत्ति करिब ३ सय ६० करोड वर्ष पहिलेको कार्बोनिफेरस पिरियडमा भएको मानिन्छ, जसले गर्दा यो वनस्पति प्राचीन दुर्लभ प्रजातिका रुपमा चिनिन्छ ।
नेपालमा यस वनस्पति समुद्री सतहदेखि ६० मिटरदेखि ५ हजार मिटर उचाईंसम्म पाइन्छ । विशेषगरि उष्णदेखि अधिक चिसो जलवायु भएको क्षेत्रसम्म फैलिएको यो वनस्पतिले दुई चरणीय जीवनचक्र पूरा गर्दछ । पहिलो चरण स्पोरोफाइटिक हो, जहाँ मुख्य बिरुवा विकास हुन्छ । यस चरणमा पातको पछाडिपट्टि विकसित हुने विषाणुहरु झरेर अंकुरण भएपछि प्रोथालस् बन्ने गर्छ, जुन दोस्रो चरण गेमेटोफाइटिक हो ।
प्रोथालसले भाले र पोथी प्रजनन् अंग उत्पादन गर्छ, जसबाट ग्यामेटको निसेचनपछि नयाँ बिरुवा उम्रन्छ । वनस्पति अनुसन्धान केन्द्र मकवानपुर नेपालमा रहेका उन्यू प्रजाति संरक्षण, प्रसारण, र व्यावसायिक उपयोगितालाई मध्यनजर गर्दै नयाँ विधि अनुसन्धान गर्ने पहिलो अनुसन्धान केन्द्र हो । उन्यू अनुसन्धान प्रमुख चन्द्रकला ठाकुरको नेतृत्वमा सञ्चालित परियोजनाले हालसम्म ८ प्रजातिका वनस्पतिलाई सफलतापूर्वक ल्याबमा उमार्न सफल भएको छ । यसमा दुर्लभ प्रजाति पनि समावेश छन् । अनुसन्धानकर्ताहरुले यी वनस्पतिलाई सफलतापूर्वक ल्याबमा हुर्काएपछि फिल्डमा अनुकूलन गराउन ध्यान दिएका छन् । वैज्ञानिक ठाकुरका अनुसार यी बिरुवालाई ल्याबबाट फिल्डमा सार्न करिब एक वर्षदेखि छ महिनाको समय लाग्ने देखिएको छ ।
फिल्डमा रोपिएका बिरुवाको अवस्थालाई निरन्तर अनुगमन गरिरहनुपर्ने ठाकुरले बताइन् । एक पटक सफलतापूर्वक फिल्डमा हुर्किएपछि यी बिरुवा किसानलाई वितरण गर्न सकिने उनको भनाइ छ । उन्यू प्रजातिका वनस्पतिले नेपालमा मात्र होइन, विश्वव्यापीरुपमा पनि विभिन्न तरिकाले मानवजीवनमा योगदान पुर्याइरहेको देखिन्छ । अनुसन्धानकर्ताका अनुसार यस वनस्पतिलाई शोभनीय बगैंचा सजावटमा प्रयोग गर्न सकिन्छ भने केही प्रजातिलाई खानयोग्य वनस्पतिका रुपमा तरकारी तथा अचार बनाउन प्रयोग गरिन्छ । यसलाई जडीबुटीका रुपमा पनि चिकित्सा क्षेत्रमा प्रयोग गर्न
सकिन्छ । वनस्पति अनुसन्धान केन्द्र कार्यालय प्रमुख वरिष्ठ वैज्ञानिक रघुराम पराजुलीका अनुसार उक्त अनुसन्धान कार्यले नेपालमा उन्यू संरक्षण र प्रसारणको क्षेत्रमा नयाँ सम्भावना खोलिदिएको छ ।
तथापि, अनुसन्धान कार्यलाई अझ प्रभावकारी बनाउन उचित स्रोतसाधनको व्यवस्थापन र थप बजेट आवश्यक छ । पराजुलीले भने-यदि हामी थप सुसज्जित प्रयोगशालाको व्यवस्थापन र बजेटको सुनिश्चितता गर्न सक्यौं भने यो अनुसन्धान अझ व्यापक हुनेछ । र, किसानलाई प्रत्यक्ष लाभ पुर्याउन सकिनेछ । उन्यू अनुसन्धानको सफलतासँगै नेपालको कृषि र फ्लोरिकल्चरमा नयाँ सम्भावना देखिएको छ । अनुसन्धानकर्ताहरुका अनुसार निगुरो खेतीप्रति किसानहरु दिनप्रतिदिन आकर्षित हुँदै गएका छन् । उन्युको व्यावसायिक महत्वसमेत बढ्दै गइरहेको छ, जसका कारण यसको माग पनि बढेको छ ।
उन्यू प्रजातिका वनस्पतिको प्रसारण र संरक्षणका लागि गरिएको अनुसन्धानले नेपालमा महत्वपूणर् भूमिका खेल्दै आएको छ । यो अनुसन्धानले न केवल पर्यावरणीय र जैविक विविधता संरक्षणमा योगदान पुर्याएको छ, यसले कृषि, स्वास्थ्य र व्यवसायमा पनि नयाँ सम्भावना खोलेको छ । वैज्ञानिकहरुको अथक् प्रयास र समर्पणले नेपालमा पहिलो पटक यसस्तरको व्यापक अनुसन्धान सफल भएको हो । यस अनुसन्धानको भविष्यमा सफलतापूर्वक विस्तार हुने र किसानको जीवनमा ठोस सुधार ल्याउने सम्भावना देखिन्छ ।