Homeमुख्य समाचारतीन पोका चाउचाउले जोगिएको प्राण

तीन पोका चाउचाउले जोगिएको प्राण

सुनिता बिष्ट\हेटौंडा/शुक्रबार दिउँसो २ बजे हेटौंडाबाट काठमाडौंका लागि ७ जना यात्रु लिएर यात्रा सुरु गरेका थिए २५ वर्षीय चालक अमृत लामाले । उनले चलाएको वागमती प्रदेश ०३ ००१ ज ०६६६ नम्बर ईभी हेटौंडा-कुलेखानी-सिस्नेरी हुँदै काठमाडौं पुग्नु थियो । बिहीबारदेखि नै झमझम परेको पानीले हेटौंडाबाट ५ किलोमिटर पार गर्न नपाउँदै भीमफेदी-१ स्थित बागझोराले झण्डै एक घण्टा अल्मल्यायो । बागझोराको खहरेको भेल तर्न नसकेपछि उनीलगायत अन्य सवारीहरु त्यहीं रोकिए । पानी केही कम भएपछि उनीहरुको यात्रा अघि बढ्यो । तर, करिब ४ घण्टामा काठमाडौ पुगिन्छ भन्ने सोचेर यात्रा तय गरेका यात्रु र सवारीचालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका कट्न पाएनन् । भीमफेदीदेखि पहिरोका कारण जाममा पर्दै राति ८ बजे सिस्नेरी पुगेका उनीहरुको रात त्यतै बित्यो । अविरल वर्षाका कारण आएको पहिरोले सिस्नेरी बजार कट्नेबित्तिकै सडक बगायो । काठमाडौतर्फ लाग्ने सडकमा पहिरो आएर बस्यो ।

रातिको समय थियो, सडक सफा गर्न सकिने अवस्था नै रहेन, चालक लामाले भने-त्यस रात हाम्रो गाडीमा रहेका ८ जनाले त्यतै कटायौं । रातभर परेको पानीले यात्रुहरु अत्तालिएका थिए । कुलेखानी ड्याम खोल्ने सूचनाले झन् तनावमा थियौं । पानी तिर्खा लाग्दा पनि गाडीबाट निस्कन नसकेर प्याकप्याक भएरै रात बितायौं । विहान रिमरिम उज्यालो
भयो । गाडीमा रहेका सबैलाई कहिले उज्यालो होला र डोजर ल्याएर बाटोको माटो पन्छ्याएर गन्तव्यतर्फ लागौंला भन्ने थियो । उनले थपे-तर, उज्यालो भएपछि हामी झन् आत्तियौं । हेर्दाहेर्दै सिस्नेरी बजार बगरमा परिणत भयो । हाम्रो गाडी रोकिएको ठाउँवरपरका सबै सडकहरु भासियो । सँगै जाममा बसेको एउटा गाडी त पहिरोसँगै सडकबाट तल खस्यो । शुक्रबार रातिदेखि पहिरोमा फसेका उनीहरुको छैठौं दिन बुधबार काठमाडौं पुगे । पहिरो पन्छाएर सडक मर्मत गर्ने काम भएर गन्तव्यतर्फ लाग्न पाएपछि ठूलै कालबाट बाँचिएझै भएको उनी बताउँछन् ।

सोही सडकमा शुक्रबारदेखि नै पहिरोमा फसेर सूर्य गोले पनि यता न उता भएका थिए । २३ वर्षका सूर्यले चलाएको ना. १ ज ६२६४ नम्बर सुमो सिस्नेरीनजिक रामचन्द्र भञ्ज्याङको पहिरोमा फस्यो । अगाडिपछाडि नै पहिरो झरेपछि सुमो र सुमोका यात्रुहरु न हेटौंडा फर्कन पाए, न त काठमाडौतर्फ नै अघि बढ्न सके । शुक्रबार दिउँसो ३ बजे हेटौंडाबाट हिँडेका थियौं, गोलेले भने-सिस्नेरीसम्म आइपुग्नै ७ घण्टा लाग्यो । सानातिना पहिरो छिचोल्दै त्यहँँसम्म पुगेका हामीले त्यहाँभन्दा अगाडिको यात्रा गर्न सकेनौं । त्यतिमात्र होइन, पहिरोले कुन बेला पुर्ने हो भन्ने डरले सास नै रोकिएला जस्तै भएको थियो । उनले चलाएको सुमोमा ८ यात्रु थिए । उनका अनुसार ती यात्रुहरु रातभर रोएर बसे । लगातार परेको पानीले कतै केही बाँकी नरहेको पहिरोमा फसेका उनीहरुलाई कहिले उज्यालो होला र उद्धार गर्ने मानिसहरु आइपुग्लान् भन्ने लागिरह्यो । उज्यालो हँुदा नहुँदै सिस्नेरी बजार बगाएको दृष्यले यात्रुहरु रुँदै बसेको उनी सुनाउँछन् ।

बाटो खुलाउन नसक्ने जानकारी आएपछि यात्रुहरुले हिँडेर काठमाडौं पुग्ने निधो गरे । सामान सबै सुमोमै छाडेर यात्रुहरु शनिबार दिउँसो नै काठमाडौं हिँडेको उनी बताउँछन् । भाडा तिरेर आएका यात्रुहरु त हिँडेरै भए पनि जाने निणर्य गररे जानुभयो, सूर्य भन्छन्-गाडीमा टन्न मान्छे हुँदा मलाई ढाडस भएजस्तै लागेको थियो । तर जब म एक्लै परें, त्यसपछि यति अत्यास लाग्यो कि म बयान नै गर्न सक्दिनँ । शुक्रबार खाजा खाएर हिँडेका उनको पेटमा आइतबार दिउँसोतिर एक पोका चाउचाउ पर्‍यो । पसलहरु सबै बगाएको थियो । एउटा पसल रहेछ अलिमाथि । त्यहाँ पुग्न ४५ मिनेटजति लाग्ने । यस अवधिमा ३ पोका चाउचाउ र दुई बोतल पानी पेटमा पर्‍यो । मरिएला कि भन्ने डर लागेको बेला के भोक, केको तिर्खा भनेजस्तै हुँदो रहेछ, उनले मलिन स्वरमा भने । इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीका अनुसार उक्त सडकमा सयभन्दा बढी सवारी पहिरोमा फसेको भन्ने सूचना आए पनि प्रतिकूल मौसमका कारण उद्धार गरेर गन्तव्यतर्फ पठाउन नसकिएको हो । जताततै धाजा फाटेको सडक छ ।

पहिरोले एक ठाउँबाट अर्को ठाउँसम्म पुग्नै कठिन छ, अध्यक्ष पुडासैनीले भने-सोही कारण हाल हामीले प्रदेश सरकार, संघ सरकारलाई गुहारेर बाटो सफा बनाउने कोशिसमा जुटेका छौं । प्रदेशका भोतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्के, संघीय भौतिक मन्त्री दामोदर भण्डारी तथा एमाले सचेतक महेश बर्तौलाको सचिवालय टिमसमेत सोही सडकमा अलपत्र परेका यात्रुहरुको उद्धार कार्यमा जुटेको बताइएको छ । सडक डिभिजन कार्यालय हेटौंडाको हेभी इक्युप्मेन्टका जेसीबी मेसिनहरुले सडक मर्मत गर्दै सवारी पास गराउन आफूहरु लागिपरेको प्रदेशका भौतिक पूर्वाधार मन्त्री मास्केले बताए । बाटोमा फसेका यात्रुहरुको बिजोग देख्न नसकेर मलगायत टिम राति २ बजेसम्म सोही सडकमै रह्यौं, मास्केले भने-५/६ दिनसम्म खाना खान नपाएर, पहिरोले कुनबेला पुर्ला भन्ने डर एकातिर, अर्कोतिर नेटवर्क नभएका कारण आफन्तहरुसँग यहाँ छु सम्म पनि भन्न नपाएका चालकहरुको अवस्था देखेर माया लाग्यो ।

उहाँहरुलाई उद्धार गर्न पाए हुन्थ्यो भनेर रातारात काम गरियो । स्काभेटर लगाएर पहिरो हटाएपछि विहान ३० वटा गाडी गन्तव्यतर्फ गए । निरन्तर वर्षाका कारण उनीहरुको उद्धार गर्न ढिलो भएकोे स्वीकार गर्दै मन्त्री मास्केले भने-उद्धारकार्यमा ढिलो भएको पक्कै हो । तर, बाढीपहिरो नै काबुबाहिरको परिस्थिति सिर्जना भएकाले हामीले चाहेर पनि यहाँसम्म आइपुग्न सकेका थिएनौं । प्रदेशको भौतिक मन्त्रालयले केही महिनाअघि बनाएको क्वीक रेस्पोन्स टिमले विपद्का बेला सडक सञ्चालनका लागि तीव्ररुपमा काम गरेको मास्के बताउँछन् । मन्त्री मास्केका अनुसार हेटौंडा-भीमफेदी-सिस्नेरी-काठमाडौं सडकखण्डमा करिब डेढ सय गाडी शुक्रबारदेखि फसेका थिए ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here