हेटौंडा– आज बाल दिवस । बालबालिकाको सम्मानमा प्रत्येक वर्ष दिवस मनाइन्छ । जसको पालनको मिति देशअनुसार फरक रहेको छ । बालबालिकाको नाममा मनाइने दिवसलाई बाल दिवस भनिन्छ । यस दिवस अन्तर्राष्ट्रियरुपमा १ जुन तथा नेपालमा भदौ महिनाको २९ गते मनाइन्छ ।
२०६३ साल भन्दाअघि बाल दिवस भदौ ४ गते मनाइने गरिन्थ्यो भने हाल भदौ २९ मा यस दिवस मनाइन्छ । नेपालको संविधानमा पनि बालबालिकाको हकअधिकारको व्यवस्था गरिएको छ । नेपालको संविधान २०७२ भाग ३ र धारा ३९ अन्तर्गत् पर्ने मौलिक हकमा बालबालिकाको हकअधिकारको व्यवस्था गरिएको छ ।
सन् १८५७ मा म्यासेचुसेट्सको चेल्सीस्थित युनिभर्सलिस्ट चर्च अफ द रिडीमरका पादरी रेभरेन्ड डा चाल्र्स लियोनार्दले बाल दिवसको सुरुवात गरेका थिए । लियोनार्दले यस दिनको नाम गुलाफ दिवस राखेका थिए र त्यसपछि यसलाई बाल दिवसमा परिणत गरिएको थियो ।
सन् १९२० मा टर्कीले बाल दिवसलाई आधिकारिकरुपमा राष्ट्रिय बिदा घोषणा गरेको थियो । सन् १९२० देखि सरकार र तत्कालीन पत्रपत्रिकाले यसलाई बालबालिकाका लागि दिवस घोषणा गरेसँगै राष्ट्रियस्तरमा बाल दिवस मनाउन थालिएको हो । यद्यपि, यस उत्सवलाई स्पष्ट पार्न र यसको औचित्य सावित गर्न आधिकारिक पुष्टीकरण आवश्यक रहेको बताएको थियो । यसको आधिकारिक घोषणा सन् १९२९ मा गणतन्त्र टर्कीका संस्थापक तथा राष्ट्रपति मुस्तफा कमाल अतातुर्कद्वारा राष्ट्रियरुपमा गरिएको थियो ।
सन् १९२५ मा जेनेभामा भएको बाल कल्याणसम्बन्धि विश्व सम्मेलनका क्रममा अन्तर्राष्ट्रिय बाल दिवसको घोषणा गरिएको थियो । सन् १९४९ नोभेम्बर ४ का दिन मस्कोमा महिला अन्तर्राष्ट्रिय प्रजातान्त्रिक महासंघले जुन १ लाई अन्तर्राष्ट्रिय बाल संरक्षण दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । सन् १९५० देखि जुन १ लाई धेरै कम्युनिष्ट र साम्यवादी पछिका देशमा बाल दिवसका रुपमा मनाइन्छ ।
२०१६ सालको भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा आएर भदौ २९ गते मनाउन सुरु गरिएको थियो । इतिहासलाई फर्केर हेर्दा नेपालमा बाल दिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनमा बाल दिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियतासाथ लागेको देखेकी थिइन् ।
भारतबाट फर्केपछि रानी रत्नद्वारा आफ्नो जन्म दिन पारेर २०२१ भदौ ४ मा नेपाल बाल संगठन स्थापना गरी आफ्नै जन्म दिनमा बालमन्दिरमार्फत् टुहुरा र अनाथ बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी उक्त समयदेखि नियमितरुपमा बालदिवस मनाउन थालिएको पाइन्छ । २०६३ सालमा लोकतन्त्र स्थापनापश्चात् यसको पुरानो संरचनामा केही फेरबदल भएको थियो, जसको परिणामस्वरुप देशमा स्थापना भएको लोकतन्त्रले बालदिवसको मितिलाई पनि परिवर्तन गरेको थियो ।