Homeमुख्य समाचारयी हुन् प्रदेशसभामा न्यून उपस्थित हुने ५ सांसद्

यी हुन् प्रदेशसभामा न्यून उपस्थित हुने ५ सांसद्

– सुनिता बिष्ट

हेटौंडा : संसद् भनेको विधान बनाउने अनि नागरिकका हकहितमा बहस गर्ने थलो हो । कानुन बनाउने र नीतिगत् छलफलका लागि संसद् बैठक आह्वान हुन्छ । सांसद्हरुको अध्ययनशील तर्कले बलियो र पारदर्शी विधान निर्माण हुन्छ । तर, जनताले चुनेर पठाएका प्रतिनिधिहरु नियम बनाउने थलोका रुपमा रहेको संसद्को बैठकमै अनुपस्थित हुने गरेका छन् ।

विधि निर्माण गर्ने जिम्मेवारीका लागि जनताद्वारा चुनिएका प्रतिनिधिहरु संसद् बैठकमा गयल हुनु भनेको आफ्नो मूल जिम्मेवारीप्रति उदासीन हुनु हो । आफ्नो दलको काम परे वा पार्टीले ह्वीप जारी गरेमात्र सदनमा हाजिरी जनाउने सांसद्हरुको संख्या वागमती प्रदेशसभामा बढ्दो छ ।

वागमती प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएपछि हालसम्म एघारौंदेखि चौधौं अधिवेशनसम्मको यात्रामा छ । यस अवधिमा ९७ वटा प्रदेशसभा बैठक बस्यो । वागमती प्रदेशसभामा १ सय १० सदस्य छन् । जसमध्ये ५ सांसद्ले प्रदेशसभामा न्यून उपस्थिति जनाएको पाइएको छ । जसमा राप्रपाका सांसद् सुनील केसी, हानेपाकी सांसद् सरिता खड्की, नेपाली कांग्रेसका सांसद् कञ्चनचन्द्र बादे, राप्रपाका सांसद् राजेन्द्र प्रजापति र नेपाली कांग्रेसका सांसद् इन्द्रबहादुर बानियाँ सबभन्दा कम उपस्थित हुने ५ सांसदमध्येको सूचीमा परेका हुन् ।

वागमती प्रदेशसभाका प्रवक्ता मनोज गुप्ताका अनुसार प्रदेशसभामा सबभन्दा कम उपस्थित हुने सांसद् हुन् सुनील केसी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर–२(१) बाट निर्वाचित भएर प्रदेशसभामा आएका सांसद् केसी ९७ वटा बैठकमध्ये जम्मा १५ वटा बैठकमा मात्र उपस्थित भएका हुन् ।

एघारौं अधिवेशनमा सम्पन्न १८ वटा बैठकमा सांसद् केसी ७ वटा बैठकमा मात्र उपस्थित रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । उनले बाह्रौं अधिवेशनमा सम्पन्न ३८ वटा बैठकमध्ये ५ वटा बैठकमा मात्र उपस्थिति जनाएका छन् भने तेह्रौं अधिवेशनमा सम्पन्न ६ वटा बैठकमा १ र चौधौं अधिवेशनमा सम्पन्न ३५ वटा बैठकमा २ वटा बैठकमा मात्र उपस्थित रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

जनताका लागि विकासको काम गरेरै नभ्याएका कारण संसद्का नियमित उपस्थित हुन नसकेको उनी बताउँछन् । ‘म काठमाडौंमै व्यस्त हुन्छु,’ सांसद् केसीले भने–म मेरो व्यक्तिगत् कामको व्यस्तताले सदनमा उपस्थित नभएको होइन । नागरिकको विकासका लागि समय दिनुपर्दा बैठकमा बस्न नपाएको हुँ,’ उनले थपे–अब भने यताको काम छाडेर भए पनि सदनमा जानुपर्ला ।

केसीपछि कम उपस्थित हुने सांसद्को दोस्रो नम्बरमा परेकी छन् हाम्रो नेपाली पार्टी (हानेपा) की सरिता खड्की । काठमाडौंबाट समानुपातिक निर्वाचित भएर प्रदेशसभाको पहिलो यात्रामा रहेकी सांसद् खड्कीको उपस्थिति पनि न्यून छ । एघारौं अधिवेशनमा सम्पन्न १८ वटा बैठकमा सत्प्रतिशत् उपस्थिति जनाएकी सांसद् खड्कीको पछिल्लो समय सदनमा न्यून उपस्थिति रहेको पाइएको हो । बाह्रौं अधिवेशनमा ४ वटा बैठकमा उपस्थित भएकी उनी तेह्रौं अधिवेशनको ६ वटै बैठकमा उपस्थिति नै जनाइनन् भने चौधौं अधिवेशनको ३५ वटा बैठकमा एउटा बैठकमा हाजिरी गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

संसदीय यात्रा सुरु भएपछिको बैठकहरुमा उत्साहपूर्ण सहभागिता जनाएकी सांसद् खड्की गर्भवती भएपछि सदनमा उपस्थित हुन नपाएको बताउँछिन् । ‘बाबु अब ६ महिनाको भयो । अब बाबु लिएर भए पनि अब बस्ने बैठकमा उपस्थिति जनाउँछु,’ उनले भनिन् । सुत्केरी भएका कारण केही महिनादेखि सदनमा उपस्थिति जनाउन नसकेको उनले बताइन् । सांसद् खड्की हाल ६ महिनाको सुत्केरी बिदामा रहेको प्रदेशसभाका प्रवक्ता गुप्ताले जानकारी दिए ।

खड्कीपछि सदनमा न्यून उपस्थित हुने सांसद्को सूचीमा छन् कांग्रेसका सांसद् कञ्चनचन्द्र बादे । काभ्रेको निर्वाचन क्षेत्र–२ (२) बाट प्रत्यक्ष निर्वाचित सांसद् बादे सदनमा उपस्थिति जनाउनतर्फ चासो नदिने सांसद्कै सूचीमा छन् । हालसम्म सम्पन्न ९७ वटा बैठकमा उनले ३६ वटा बैठकमा मात्र उपस्थिति जनाएका छन् । प्रदेशसभा सचिवालयका अनुसार बादे एघारौं अधिवेशनमा सम्पन्न १८ वटा बैठकमा ६ वटा बैठकमा मात्र उपस्थित भएका छन् भने बाह्रौं अधिवेशनको ३८ वटा बैठकमा २०, तेह्रौं अधिवेशनमा सम्पन्न ६ वटा बैठकमा एक र चौधौं अधिवेशनमा सम्पन्न ३५ वटा बैठकमा ९ वटा बैठकमा मात्र उपस्थित भएका छन् ।

राप्रपाका सांसद् राजेन्द्र प्रजापति पनि न्यून उपस्थिति जनाउने सांसद्को सूचीमा छन् । प्रजापति कुल ९७ वटा बैठकमध्ये ४२ वटा बैठकमा मात्र उपस्थिति जनाएको संसद् सचिवालयको हाजिरीमा उल्लेख छ । काठमाडौं निर्वाचन क्षेत्र–५ (१) बाट निर्वाचित सांसद् प्रजापति एघारौं अधिवेशनको सम्पन्न १८ वटा बैठकमध्ये १४ वटा बैठकमा उपस्थित भएका थिए । बाह्रौं अधिवेशनमा सम्पन्न ३८ वटा बैठकमा १५ वटा बैठकमा उपस्थिति जनाएका उनले तेह्रौं अधिवेशनका ६ वटा बैठकमध्ये ३ र चौधौं अधिवेशनमा सम्पन्न ३५ वटा बैठकमध्ये १० वटा बैठकमा उपस्थिति जनाएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

सदनमा न्यून उपस्थिति जनाउन सांसदेको पाँचौं नम्बरको सूचीमा छन् कांग्रेस वागमती प्रदेश सभापतिसमेत रहेका इन्द्रबहादुर बानियाँ । मकवानपुरको निर्वाचन क्षेत्र–२ (२) बाट प्रत्यक्ष निर्वाचित सांसद् बानियाँ पनि सदनमा न्यून उपस्थिति जनाउने सांसद्को सूचीमा परेका हुन् । दोस्रो कार्यकालमा हालसम्म सम्पन्न ९७ वटा बैठकमध्ये बानियाँले ४४ वटा बैठकमा मात्र उपस्थिति जनाएको संसद् सचिवालयको हाजिरीमा उल्लेख छ ।

सांसद् बानियाँ एघारौं अधिवेशनको सम्पन्न १८ वटा बैठकमध्ये १३ वटा बैठकमा उपस्थित भएका छन् । बाह्रौं अधिवेशनमा सम्पन्न ३८ वटा बैठकमा १४ वटा बैठकमा उपस्थिति जनाएका उनले तेह्रौं अधिवेशनको ६ वटा बैठकमध्ये १ र चौधौं अधिवेशनमा सम्पन्न ३५ वटा बैठकमध्ये १६ वटा बैठकमा उपस्थिति जनाएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

सांसद् बानियाँले ९७ वटा बैठकमध्ये आधाभन्दा कम बैठकमा मात्र उपस्थिति हुनुको कारणबारे खास केही नभएको प्रतिक्रिया दिए । उनले भ्याएसम्म सबै बैठकमा उपस्थित हुने प्रयास गरे पनि नसकिएको बताए । ६० दिन बसेको प्रदेशसभा बैठकमा ९७ वटा बैठक बसेको हो भने १ सय १७ घण्टा ५० मिनेट बैठक बसेको सचिवालयले जनाएको छ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here