हेटौंडा/मकवानपुरको कैलाश गाउ“पालिकामा लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान मंगलबारबाट सुरु भएको छ । प्रविधिको सही प्रयोग गरौं लैंगिक हिंसा अन्त्य गरौं भन्ने नारासाथ कैलाश–९ मा अवस्थित कालिका माविमा कार्यक्रमको सुरुवात भएको हो ।
वडा–९ का अध्यक्ष भुवनसिं घलानको सभाध्यक्षता तथा गाउ“पालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा अध्यक्ष मुक्तानले पछिल्लो समय प्रविधिको दुरुपयोगले हिंसाका घटनाको संख्या बढ्दो रहेको बताए । सामाजिकसञ्जाल दुरुपयोगले विभिन्न हिंसाको शिकार बालबालिका बनिरहेको अवस्थाका प्रविधिलाई सही सदुपयोग गर्न उनले आग्रह गरेका छन् । लागुऔषध प्रयोगकर्तामा बालबालिकाको संख्या बढिरहेको अवस्थामा बालबालिकालाई सचेत गराउनुपर्ने सबैको दायित्व रहेको उनले बताए ।
कार्यक्रममा वडा अध्यक्ष घलानले प्रविधिको सही प्रयोग गर्न बालबालिकालाई आग्रह गर्दै दुरुपयोग हु“दा दण्डसजायसमेत हुने बताए । हिंसा र प्रविधिस“ग जोडिएका विषयवस्तुबारे सहजीकरणपश्चात् बालबालिकाहरुले सोहीअनुरुप ग्रहण गरिदिन अध्यक्ष घलानले आग्रह गरेका थिए । कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख रमिला सापकोटा, कालिका माविका प्रअ रामप्रसाद कालाखेती, प्रशिक्षक आशीष दुलाल, विद्यालयका शिक्षकहरुको आतिथ्यता थियो । कार्यक्रममा विद्यालयका कक्षा–८ देखि १२ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको महिला तथा बालबालिका शाखाका प्रमुख सापकोटाले बताइन् । कैलाश–१० मा रहेको रत्नज्योति माविका विद्यार्थीहरुलाई पनि हिंसा र प्रविधिको प्रयोगबारे जानकारी गराइएको थियो ।









