हेटौंडा/मकवानपुर थाहा नगरपालिका वडा नम्बर–१२ का सामुदायिक विद्यालयका अभिभावकहरुले ललितपुरको दक्षिणकाली नगरपालिकाका नमुना विद्यालयको अवलोकन भ्रमण गरेका छन् । १२ नम्बर वडा र विङ युथको सहकार्य वडाका सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्यले एक दिने अवलोकन कार्यक्रम गरिएको हो ।
भ्रमणमा अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–अभिभावक संघका प्रतिनिधि, शिक्षक तथा जनप्रतिनिधिसहित २ सय २५ जनाको सहभागिता थियो । भ्रमणबाट सामुदायिक विद्यालयको सुधारमा अभिभावकको महत्वपूर्ण भूमिकाबारे चेतना अभिवृद्धि हुने र शिक्षकहरुले विद्यालय सुधारका लागि गर्दै आएका प्रयास तथा योगदानबारे उपलब्धी हासिल हुने अपेक्षा गरिएको छ । अभिभावकको शैक्षिक चेतना, बालबालिकाको सिकाइ परिणाममा पर्ने प्रभाव तथा विद्यालय प्रणाली सुधारमा यसको भूमिकाबारे प्रत्यक्ष बुझाइ लिन भ्रमणले महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरुको भनाइ छ ।
अवलोकन टोलीले सेतीदेवी मावि, अरुणोदय मावि, शिखरापुर समुदायिक विद्यालय र त्रिभुवन विद्यालयको अवलोकन गरी विद्यालय व्यवस्थापन, सिकाइ वातावरण, शिक्षकहरुको प्रतिबद्धता तथा अभिभावक–विद्यालय समन्वयस“ग सम्बन्धित उत्कृष्ट अभ्यास अध्ययन गरेको थियो । कार्यक्रममा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत र उपप्रमुख बसन्ती डंगोलतामाङले सहभागीलाई स्वागत गर्दै आफ्नो नगरपालिकाले शिक्षा तथा स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेपछि सामुदायिक विद्यालयमा देखिएको सकारात्मक परिवर्तनका अनुभव सुनाएका थिए ।
थाहा नगरपालिका–१२ का वडा अध्यक्ष टीकाराम स्यांतानले भ्रमण अत्यन्त परिणाममुखी रहेको उल्लेख गर्दै दक्षिणकालीका विद्यालयहरुमा अवलम्बन गरिएका राम्रा अभ्यास थाहा नगरपालिकाका विद्यालयमा पनि कार्यान्वयन गर्दै अभिभावक तथा शिक्षकको भूमिकालाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे । उनले शिक्षकको भूमिकालाई अझ सुदृढ बनाउन निरन्तर पहल गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस









