हेटौंडा- हेटौंडा–५ को पिप्ले युवा क्लब ‘सी’ डिभिजन लिग फुटबलको छनौट प्रतियोगितामा सहभागी हुने भएको छ । आगामी वर्ष आयोजना हुने ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता हुँदै शीर्ष डिभिजनमा उक्लिने दीर्घकालीन लक्ष्यसहित पिप्लेले छनौट प्रतियोगिता खेल्न लागेको हो ।
अखिल नेपाल फुटबल संघको आयोजनामा मंसिर ४ गतेबाट काठमाडौंमा ‘सी’ डिभिजन छनौट प्रतियोगिता हुँदैछ । यस वर्ष पिप्लेसहित देशभरका ३९ टिम ‘सी’ डिभिजन छनौटमा सहभागी हुँदैछन् । मकवानपुरबाट सहभागी हुन लागेको भने पिप्लेमात्र हो । अघिल्ला वर्ष मकवानपुरकै विजय युथ क्लब र राप्तीरिभर फुटबल क्लबले ‘सी’ डिभिजन छनौट प्रतियोगिता खेले पनि छनौट भने हुन सकेका थिएनन् ।
पिप्लेलाई ‘सी’ डिभिजनमा छनौट गराउने गरी तयारी गरिरहेको क्लब अध्यक्ष सुबिन घिमिरेले बताए । ‘मकवानपुर बागमती प्रदेशको राजधानी । यहाँबाट राष्ट्रिय टिममा २ देखि ४ जनासम्म निरन्तर पर्ने गरेका छन् । तर, एन्फासँग आबद्ध ‘सी’ देखि ‘ए’ सम्मका कुनै पनि क्लब हामीसँग छैनन्’, पिप्ले युवा क्लब अध्यक्ष घिमिरेले भने–समग्र मकवानपुरकै प्रतिनिधित्व गर्दै पिप्ले युवा क्लबलाई ‘सी’ डिभिजन छनौट गराउने लक्ष्यसहित तयारी गरेका छौं । सबैको साथ, सहयोग र मायाको अपेक्षा राखेका छौं । मकवानपुरसहित छिमेकी जिल्लाका खेलाडीहरुलाई समेटेर पिप्लेले राम्रो टिम बनाउने प्रयास गरेको छ ।
खेलाडीहरुलाई प्रशिक्षक ज्ञानु क्षेत्री र सहायक प्रशिक्षक सुजन खड्कीले प्रशिक्षण गराइरहेका छन् । यसअघि ‘सी’ डिभिजन छनौटका लागि राप्तीरिभर फुटबल क्लबलाई प्रशिक्षण दिइसकेका प्रशिक्षक क्षेत्रीले यस पटक पिप्लेले ‘सी’ डिभिजनको यात्रा तय गर्नेमा विश्वस्त छन् । राम्रो तयारी र मेहनत गरेको जानकारी दिँदै उनले सोहीअनुसार नतिजा आउने विश्वास व्यक्त गरे । पिप्लेले नेपालगञ्जसँग मैत्रीपूर्ण खेल खेलेको थियो । पिप्ले युवा क्लब करिब ३ सातादेखि बन्द प्रशिक्षणमा छ । ३ वटा टिमको १३ वटा समूह बनाइ लिग खेलाएर समूह विजेताबीच नकआउट चरणको खेल खेल हुनेछ । ‘सी’ डिभिजन छनौटको फाइनल खेल्ने २ टिमले ‘सी’ डिभिजन क्लबको हैसियत बनाउनुका साथै आगामी ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता खेल्नेछ । प्रतियोगितामा यसअघि ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग खेलेका खेलाडीहरु खेल्न नपाउने प्रावधान छ ।
२ लाख सहयोग
मकवानपुरको प्रतिनिधित्व गर्दै ‘सी’ डिभिजन लिग फुटबलको छनौट प्रतियोगितामा सहभागिता जनाउँदै गरेको पिप्ले युवा क्लबलाई २ लाख रुपियाँ सहयोग प्राप्त भएको छ । दियालो फोर्स सेक्युरिटीले टिम व्यवस्थापनका लागि २ लाख सहयोग गरेको हो । दियालो फोर्स सेक्युरिटी काठमाडौंका सञ्चालक हेटौंडा निवासी प्रकाश पुरी र प्रदीप कँडेलबाट २ लाख रुपियाँ सहयोग प्राप्त भएको क्लब अध्यक्ष घिमिरेले जानकारी दिए । सहयोग रकमबाट ‘सी’ डिभिजन छनौट खेल्न ठूलो राहत मिल्ने घिमिरेले प्रतिक्रिया दिए । छनौटका लागि करिब १८ लाख खर्च हुने क्लबको अनुमान छ । सहयोगको प्रतिबद्धतासहित अन्य संघसंस्था तथा व्यक्तिसमेत जोडिने क्रममा रहेको पिप्ले युवा क्लबले जनाएको छ ।









