हेटौंडा/नाम–राजु अधिकारी । उमेर–२३ वर्ष । जो २०६८ कात्तिक २६ गतेसम्म हेटौंडा–१० स्थित बसपार्कमा रहेको कवाडीको थुप्रोमा रुमल्लिरहेका देखिन्थे । सडकमा रह“दा उनी ॅकोब्रा ग्याङ’ का डन थिए ।
मकवानपुरको सिस्नेरीका उनका बुबाआमा दुवैको मृत्यु भइसकेको छ । उनको औपचारिक शिक्षा ४ कक्षामा सीमित रह्यो । उनी घरघर डुलेर पत्रिका बेच्ने हकर, फ्रिज मर्मतकर्ता, प्लम्बर, कफीमेकर बने । पछि उनै अधिकारी हकीका राष्ट्रिय खेल खेल्न सफल भए भने कुनैकुनै प्रतियोगितामा त उनी क्याप्टेनको भूमिकामा पनि रहे । अधिकारी हाल कतारमा व्यक्तिगत् सुरक्षा गार्डका रुपमा कार्यरत् छन् । पछिल्लो समय उनको मेहनतले हेटौंडामा घर किनेका छन् ।
हेटौंडा–११, डाङ्डुङेमा करिब ५० लाख मूल्य बराबरको १० धुर जग्गामा बनेको ४ कोठेघर उनले किनेका छन् । घर किन्ने पैसामध्ये केही आफैंले कमाएका हुन् भने केही उनलाई सडकबाट उद्धार गरी ॅमामाघर’ पुर्याएका ॅमामा’ उपमा दिइने अर्पण पराजुलीले दिएका हुन् । अधिकारी आफ्नो घरमा बुधबार विहान पत्नी सिन्धुपाल्चोककी प्रमिला खड्कासहित गृहप्रवेश गर्ने भएका छन् । अधिकारीलाई आश्रय दिएका पराजुली हालसम्म डेरामै छन् भने उद्धार गरिएका अधिकारीले घर किनेका छन् । ॅमेरो जीवनमा यो भन्दा ठूलो सन्तुष्टि नै छैन,’ पराजुली भन्छन्–मेरो मुटुको टुक्राले घर किनेको खुशीमा मेरो बोल्ने शब्द नै छैनन् ।
एक दिन पाहुनालाई स्वागत गर्न हेटौंडा बसपार्क पुगेका पराजुलीले नजिक ठेलामा बेच्न राखिएको मम माग्दै गरेका बालकहरु देखे । तीमध्ये एक थिए अधिकारी । ग्राहकले मम खाइसकेपछि फ्या“केका पात भुईंमा खस्न नपाउ“दै केही बालकले टिपेर चाटेको उनले देखे । हेटौंडा बसपार्कमा यस्तो दृष्य देखेपछि भावुक बनेका हेटौंडेली युवा पराजुलीले आफ्नो अनुसन्धानको विषय तिनै सडक बालकलाई बनाए । प्रारम्भमा उनीस“ग बोल्न नमान्ने र पिटु“लाझैं गर्ने सडक बालकहरु हिजोआज उनलाई ॅमामा’ भनी सम्बोधन गर्छन्, स“गै खान्छन् र स“गै सुत्छन् ।
अनुसन्धानस“गै उनीहरुलाई सुरक्षित आश्रय दिने प्रयास पनि थालियो । प्रारम्भमा हेटौंडा नगरपालिकाले उनीहरुलाई खाने/लगाउने खर्च व्यहोरेको थियो । हाल भने ती सबै पूर्वसडक बालकलाई दीर्घकालिन पुनर्स्थापना गर्ने लक्ष्यले हेटौंडामा ॅमामाघर’ निर्माण गरिएको छ । सडक बालबालिकाको अनुसन्धानका क्रममा करिब दुई महिना उनीहरुस“गै बिताएर उनीहरुलाई पुनर्स्थापनाका लागि राजी पारेका अनुसन्धानकर्ता पराजुलीको सम्मानमा उक्त केन्द्रको नामसमेत ॅमामाघर’ राखिएको छ ।
४५ दिनसम्म सडक बालकहरुको दिनचर्या र उनीहरुको सर्वपक्षीय गतिविधि अध्ययनका लागि बोरा ओडेर एक साता रातभर बसपार्कमा बिताएका पराजुलीलाई हेटौंडाका सडक बालकहरु ॅमामा’ भनी सम्बोधन गर्छन् । अनुसन्धानको क्रममा उनीहरुलाई नुहाइदिन राप्ति खोलामा लैजा“दा १४ जनाको शरीरबाट एक सय ९६ वटा जुम्रा भेटिएको पराजुलीले स्मरण गरे । उनले बसपार्कवरपर भेटिएका सडकबालकहरुको अध्ययन/अनुसन्धान प्रतिवेदन तयार पारेका थिए । अनुसन्धानमा समेटिएका बालक १० देखि १७ वर्ष उमेरका थिए । तीमध्ये ८ जना मकवानपुरका थिए । भेटिएकामध्ये अधिकांश पारिवारिक कलह, सहरको रमझम र साथीको लहैलहैमा लागेर सडकमा आइपुगेका थिए ।
अनुसन्धानका क्रममा हेटौंडामा २३ जना सडकबालक भेटिएको जानकारी पराजुलीले दिए । हेटौंडामा भेटिने सडक बालकहरु ॅबिच्छु’, ॅकोब्रा’ र ॅभ्यान्टे’ गरी तीन ग्याङमा विभाजित थिए । अधिकारी ॅकोब्रा’ ग्याङका डन थिए । अभिभावकबाट टाढा भएका उनीहरु आफ्नो समूहका नाइकेको निर्देशनमा चल्थे । सबैले मागेको र चोरेको कुरा सामूहिक उपभोग गर्थे । भोक लाग्दा डेन्ड्राइड सु“घ्ने बानी भएका उनीहरुले हाल ती सबै गलत कुरा भुलेका छन् । वाक्कैपिच्छे निस्कने अपशब्द उनीहरुको मुखबाट निस्क“दैन ।
उनीहरुलाई सुरक्षित आश्रयका लागि मामाघर नेपालले नया“ सुबिधासम्पन्न २१ कोठे भवनमा राखेको छ । मामाघर नेपालका संरक्षक पराजुलीका अनुसार उनीहरुलाई सुबिधासम्पन्न बालमैत्री भवनमा स्थानान्तरण गरिएको छ । मामाघर नेपालको ॅएक व्यक्ति–एक ईंटा’ अभियानअन्तर्गत् हेटौंडा–११ मा समाजसेवी सिद्धिलाल श्रेष्ठले उपलब्ध गराएको ३ कठ्ठा २ धुर जग्गामा भवन निर्माण भएको छ । संरक्षक पराजुलीका अनुसार मामाघर नेपालको सञ्चालन र व्यवस्थापनमा स्थायी दाता कोही छैनन् । मकवानपुर तथा आसपासका व्यक्तिले जन्मदिन, विवाहका दिन गरेको सहयोगले मामाघरका ॅभाञ्जा’ हरुको जीवनयापन भइरहेको छ ।









