हेटौंडा/सांसद् महेश बर्तौलाले त्रिभुवन राजपथन्तर्गत् हेटौंडा–भैंसे सडकखण्डमा पर्ने बाघझोरा खोलाले निम्ताइरहने बारम्बारको अवरोधको दीर्घकालिन समस्या समाधान गर्न ओभरपास वा अन्डरपास के उपयुक्त हो, सोको तत्काल अध्ययन गरी कार्य प्रक्रिया अगाडि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र मन्त्रालयका सचिव केशबकुमार शर्मालाई भेटी ज्ञापनपत्र बुझाउ“दै बाघझोरा खोलाले निम्त्याइरहने सडक अवरोधको दीर्घकालीन समाधान तत्काल खोज्न आग्रह गरेका हुन् ।
बाघझोरा खोलाका कारण उक्त सडक भएर देशका विभिन्न स्थानका लागि आवतजावत गर्ने हजारौं यात्रुले बारम्बार ठूलो समय अवरोध र सास्ती व्यहोर्दै आइरहेका छन् । ॅत्रिभुवन राजपथ संघीय राजधानी काठमाडौंबाट बागमती प्रदेशको राजधानी हेटांैडा जोड्नका लागिमात्र नभइ सिंगो देशका विभिन्न स्थानमा आवतजावत गर्ने महत्वपूर्ण सडक हो । त्यसैले बाघझोरा खोलाको समस्या केबल मकवानपुरबासीका लागिमात्र नभइ उक्त सडक भएर देशका विभिन्न भागका लागि यात्रा गर्ने सम्पूर्ण यात्रुको साझा समस्या हो,’ उनले भने–थोरैमात्र वर्षा हुनेबित्तिकै पनि बाघझोरा खोलामा आउने खहरे बाढीले घण्टौं सडक अवरुद्ध हुने गरेको छ ।
केही दिन पहिले पनि विगतझैं बाघझोरामा आएको खहरे बाढीले गर्दा घण्टौं सडक अवरुद्ध भइ सयौं सवारीसाधनका हजारौं यात्रुहरुले सडकमै रात बिताउनुपर्ने अवस्था सिर्जना भएको थियो । यो यस वर्षको एकपटकको मात्र समस्या होइन, हरेक वर्ष बारम्बार दोहोरिरहने समस्या हो । उक्त समस्याका सम्बन्धमा नेपाल सरकारका सरोकारवाला निकायहरुलाई समेत राम्रो जानकारी छ । तर, स्थायी समाधानका बैकल्पिक उपायहरुका सम्बन्धमा प्राथमिकता दिएर कुनै ठोस पहल र प्रयत्न भएको देखि“दैन ।
त्यसैले बाघझोरा खहरेले निम्त्याइरहने बारम्बारको समस्याको दीर्घकालिन समाधानका लागि तत्काल प्राविधिक अध्ययन गरी आवश्यक संरचना निर्माण गर्न उनले विशेष आग्रह गरेका हुन् । मन्त्रीले उक्त समस्या समाधान गर्न मन्त्रालयका तर्फबाट उच्च प्राथामिकतासाथ काम गर्न प्रतिबद्धता व्यक्त गर्दै अध्ययन प्रक्रिया अगाडि बढाउन सचिवलाई निर्देशन दिएका छन् ।
शुक्रबार दिउ“सोदेखिको लगातार वर्षापछि गएको पहिरोका कारण अवरुद्ध भएको त्रिभुवन राजपथअन्तर्गत् भीमफेदी गाउ“पालिका–१, बाघोझोरास्थित सडकखण्ड बल्लतल्ल पुनर्संञ्चालनमा आएको थियो । शुक्रबार दिउ“सोदेखि परेको अविरल वर्षाका कारण गिटी, बालुवा र भलसहितको पहिरो खस्दा सडक पूर्णरुपमा बन्द भएको थियो ।
उक्त अवरोधका कारण काठमाडौं–हेटौंडा मार्गमा सयौं सवारीसाधन र हजारौं यात्रु बीच बाटोमै अलपत्र परेका थिए । विशेषगरि एम्बुलेन्समा रहेका बिरामी र शववाहनसमेत पहिरोमा अड्किएका थिए । यात्रुहरु भोक, प्यास र निद्रा त्यागेर रात सडकमै बिताउन बाध्य भएका थिए ।
नेपाल प्रहरी, नेपाली सेना र सडक डिभिजनको संयुक्त प्रयासमा शनिबार विहानदेखि सुरु भएको पहिरो हटाउने कार्य कठिन परिस्थितिमा अगाडि बढाइएको थियो । तीन वटा जेसीबी मेसिन प्रयोग गरेर झण्डै पा“च घण्टाको प्रयासपछि शनिबार दिउ“सो १२ बजेबाट एकतर्फी सडक सञ्चालनमा ल्याउन सफल भएको थियो । पहिरो निकै ठूलो भएकाले पूर्णरुपमा सडक खुलाउन समय लागेको हो । पहिरोको जोखिम अझै कायम छ । सडक सुचारु भए पनि लगातारको वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएकाले यात्रुहरु जोखिम मोलेर यात्रा गरिरहेका छन् । कुनै पनि बेला फेरि सडक बन्द हुने सम्भावना रहेको प्रशासनले जनाएको छ ।









