हेटौंडा/उत्तरी मकवानपुरको थाहा नगरपालिकालाई पूर्णसंस्थागत् सुत्केरी नगरपालिका घोषणा गरिएको छ । पूर्णसंस्थागत् सुत्केरी पालिका घोषणा हुनेमा थाहा नगरपालिका मकवानपुरको पहिलो र प्रदेशको दोस्रो पालिका भएको छ ।
आइतबार नगरपालिकालाई पूर्णसंस्थागत् सुत्केरी नगरपालिका घोषणा गरिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया“ले नगरपालिकालाई पूर्णसंस्थागत् सुत्केरी नगरपालिका घोषणा गरेका हुन् । घोषणासभामा मुख्यमन्त्री बानिया“ले पूर्णसंस्थागत् सुत्केरी पालिका घोषणा हुनुमा महिला स्वास्थ्य स्वयम्सेविका तथा स्वाथ्यकर्मीहरुको मेहनतबाट सम्भव भएको बताए । उत्तरी क्षेत्रको स्वास्थ्य, शिक्षा, पर्यटन र सडक विकासमा प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने मुख्यमन्त्री बानिया“ले बताए । मकवानपुर जिल्लामा मात्र नभइ बागमती प्रदेशमै थाहा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गरेको उनले दाबी गरे ।
कार्यक्रममा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले थाहाले स्वास्थ्य क्षेत्रमा प्रशंसायोग्य कार्य गरेको बताए । प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य मन्त्रालयले मातृ तथा नवजात शिशु मृत्युदर घटाउन बर्थिङसेन्टर स्थापना गर्नुका साथै हवाईउद्धारसमेत गरिएको बताए । नागरिकहरुले सहजढंगले उपचार पाउन् भन्दै बागमती प्रदेश सरकार अगाडि बढेको बताउ“दै उनले प्रदेशभित्रका अस्पताललाई सुधार गर्दै प्रदेशभरका प्रत्येक वडामा बर्थिङसेन्टर स्थापनासहित सुरक्षित सुत्केरीको अभियानमा प्रदेश सरकार लागिपरेको र सुत्केरीहरुलाई हवाईउद्धार कार्यक्रमसमेत प्रदेश सरकारले सुरु गरेको बताए ।
पछिल्लो ६ वर्षयता नगरपालिकाभित्रका सबै गर्भवतीले स्वास्थ्य संस्थामा बच्चा जन्माएको र पूर्णसंस्थागत् सुत्केरी घोषणाका सबै सूचक पूरा भएपछि नगरपालिकालाई पूर्णसंस्थागत् सुत्केरी नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताए । १२ वटा वडामा विभाजित थाहा नगरपालिकाले २०७६ साउन १७ गते ६ नम्बर वडालाई पहिलो पूर्णसंस्थागत् सुत्केरी वडा घोषणा गरेको थियो । गत आर्थिक वर्ष थाहानगरका विभिन्न स्वास्थ्य संस्थामा ३ सय ५६ जना सुत्केरी भएका थिए । थाहा नगरपालिकामा १२ वटा स्वास्थ्य संस्था छन् । (









