हेटौंडा/२६ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अखिल (क्रान्तिकारी) जिल्ला समिति मकवानपुरले ओम वृद्धाश्रम, चौकीटोलमा खाद्यान्न सामग्री वितरण गरेको छ । मंगलबार भएको कार्यक्रममा वृद्धाश्रममा आश्रित १ सय २ वर्षीय बयोबृद्धमार्फत् बृद्धाश्रमलाई चामल, दाल, आ“टा, नुनलगायत खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरिएको थियो ।
अखिल (क्रान्तिकारी) जिल्ला समिति मकवानपुर अध्यक्ष बुद्धराज अर्यालको सभाध्यक्षता एवम् नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश उपाध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि पुलामीले मानवसेवा नै सबैभन्दा ठूलो धर्म भएको बताए । युवापुस्तामा सामाजिक उत्तरदायित्व, सहयोग र मानवीय संवेदनशीलताको भावना विकास गर्नु रहेको अखिल (क्रान्तिकारी) अध्यक्ष अर्यालले बताए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सचिवालय सदस्य तथा मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, प्रदेश सचिवालय सदस्य तथा जिल्ला समन्वय समिति प्रमुख ललित घलान, प्रदेश सदस्य विवेक राई, बृद्धाश्रम अध्यक्ष सिद्धिलाल श्रेष्ठ, प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य ध्रुवराज ढकाल, केन्द्रीय लेखा समिति सदस्य राज सापकोटा, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य एवम् मकवानपुर इञ्चार्ज राजेन्द्र मोक्तान र बागमती प्रदेश सदस्य पुष्पा सुनारलगायतको उपस्थिति थियो ।
बृद्धाश्रममा खाद्यान्न सहयोगका लागि मा“ खाद्यान्न भण्डार हेटौंडा सञ्चालक अभिषेक गुप्ताले आवश्यक सामग्री सहयोग गरेका थिए । हाल बृद्धाश्रममा ६० वर्षदेखि १ सय २ वर्षसम्मका २६ बृद्धबृद्धा आश्रित रहेको बृद्धाश्रम अध्यक्ष श्रेष्ठले बताए । असहाय बृद्धबृद्धाका लागि स्थानीय निकायको सिफारिसमा निःशुल्क आश्रयको व्यवस्था भएको र परिवारको सहमतिमा सशुल्क पनि बृद्धबृद्धाले आश्रय लिनसक्ने अध्यक्ष श्रेष्ठले बताए । बृद्धाश्रममा १ नर्स र ५ कर्मचारीले नियमित सेवा दिने गरेको बृद्धाश्रमले जनाएको छ । अखिल (क्रान्तिकारी) जिल्ला सचिव छोइसाङ लामाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष दीपक लामाले स्वागत गरेका थिए ।









