हेटौंडा/हेटौंडा–११, थानाभर्याङमा बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको साझेदारीमा निर्मित प्रादेशिक कृषि थोकबजार भवनको आइतबार उद्घाटन गरिएको छ । थोकबजार सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मा कृषि मन्त्रालयले उपमहानगरलाई हस्तान्तरण गरेको छ ।
प्रदेशभित्र उत्पादित कृषिउपजको सहज र उचित बजार व्यवस्थापन गरी कृषक तथा उपभोक्ता दुवैलाई उचित लाभ प्रदान गर्ने उद्धेश्यले ३२ करोड १० लाख लागतमा थोकबजार निर्माण गरिएको हो । थोक बजारभित्रको पक्की सडक निर्माणका लागि कृषि विकास निर्देशनालयबाट थप ७७ लाख विनियोजन गरिएको थियो । कुल २ बिगाहा ४ धुर क्षेत्रफलमा फैलिएको थोकबजार प्रदेश सरकारको ७० प्रतिशत् र हेटौंडा उपमहानगरको ३० प्रतिशत् लागत साझेदारीमा निर्माण गरिएको हो ।
बजारमा थोक बिक्रीका लागि २ तले भवनमा ४० वटा सटर, तरकारी ओसारपसारका लागि ४ वटा कार्गो लिफ्ट र २ वटा यात्रु लिफ्टको व्यवस्था छ भने खुद्रा बिक्री भवनमा २३ वटा सटर र २ वटा यात्रु लिफ्ट छन् । साना किसानलाई आफ्ना कृषि उत्पादन आफैं बेच्न टहराको व्यवस्था पनि गरिएको छ । २ सय ३२ वर्गमिटरको च्याम्बरसहितको कोल्डस्टोरेज पनि छ, जहा“ एक पटकमा ५ सय मेट्रिकटनसम्म कृषिउपज सुरक्षित भण्डारण गर्न सकिने बताइएको छ ।
प्रदेशका कृषि तथा पशुपक्षी विकास मन्त्री प्रकाश श्रेष्ठ र हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले संयुक्तरुपमा बजार भवन उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले थोकबजारलाई प्रदेश सरकारले नमूना कार्यक्रमका रुपमा अघि बढाएको भन्दै थोकबजार किसान, व्यवसायी र उपभोक्तालाई लक्षित गरी सञ्चालन हुने बताए ।
उपभोक्तालाई स्वस्थ्य तरकारी उपलब्ध गराउन बजारले किसान महासंघ, कृषक महासंघलगायत कृषिक्षेत्रका सरोकारवालास“गको समन्वयमा महत्वपूर्ण भूमिका खेल्ने मन्त्री श्रेष्ठको विश्वास छ । मन्त्री श्रेष्ठले व्यावसायिकरुपमा छिटै थोकबजार सञ्चालन हुने बताए । यस्ता बजार हरेक पालिकामा विस्तार गर्ने योजनाअनुरुप प्रविधिमैत्री थोकबजार निर्माणका लागि चालु आर्थिक वर्षमा ९ पालिकालाई बजेट विनियोजन गरिएको उनले जानकारी गराए ।
उनले थपे–अब नवनिर्मित कृषि थोकबजार सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिकाको टिम र मन्त्रालयको टिम बसेर सञ्चालन कार्यविधि तयार गर्छौं । हामीले कृषि विकास प्रवद्र्धन ऐन बागमती प्रदेश सरकारले भर्खर सदनबाट पास गरिसकेका छौं । ऐन प्रमाणीकरणका लागि प्रदेश प्रमुख कार्यालयमा गएको छ । अबको केही दिनमा बागमती प्रदेशको कृषि प्रवद्र्धन ऐन प्रमाणीकरण भएर आउनेछ ।
मन्त्री श्रेष्ठले प्रदेशभित्र ८० प्रतिशत् बढी जमिन बा“झो रहेकोमा चिन्ता व्यक्त गर्दै त्यस्ता जग्गा उपयोगमा ल्याउन तीन तहका सरकारबीच समन्वय आवश्यक रहेकोमा जोड दिए । कृषिउपज आयात घटाउ“दै निर्यात बढाउन सबै जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो । मूल्यश्रृंखलामा आधारित रहेर किसानका कृषिउपज सीधै उपभोक्तासम्म पुर्याउन अभियान थालिने पनि उनले बताए ।
उपमहानगर प्रमुख लामाले कृषि थोकबजार किसानप्रतिको सम्मान भएको बताइन् । किसानलक्षित भवनमा मन्त्रालय राखिएकोप्रति असन्तुष्टि जनाउ“दै उनले किसानले सुबिधासम्पन्न भवन प्रयोग गर्न पाउनुपर्ने धारणा राखिन् । नगर प्रमुख लामाले किसानलाई हेर्ने दृष्टिमा परिवर्तन आवश्यक रहेकोमा जोड दि“दै कार्यविधि स्वीकृत भएलगत्तै दशैंअघि बजार सञ्चालनमा ल्याइने बताइन् ।
प्रदेश सरकारले स्थानीय तहस“ग हातेमालो गर्दै निर्माण गरिएको थोकबजार निर्माण सम्पन्न भएपछि अब हेटौंडा उपमहानगरपालिकाले सञ्चालनको तयारी गरिरहेको बताइएको छ ।
प्रदेश सरकारबाट सञ्चालनको मोडालिटिको कार्यविधि स्वीकृत भएलगत्तै थोकबजार सञ्चालनमा ल्याएर किसानहरुलाई सुबिधा दिने हेटौंडा उपमहानगर मेयर लामाले बताइन् । सोपश्चात् थोकबजारले राज्यलाई आर्थिक टेवा पुर्याउने उनले दाबी गरिन् ।
मेयर लामाले यो हेटौंडाको मात्र सम्पत्ति नभएर प्रदेशको सम्पत्ति भएको बताउ“दै उनले भनिन्–प्रदेशले चाहेको भए जहा“ पनि लगानी गर्न सक्थ्यो । तर, तत्कालीन मुख्यमन्त्री र मन्त्रीले प्रदेशको राजधानी हेटौंडामै प्रादेशिक थोकबजार निर्माण गर्ने सोच राख्नुभयो । जसका कारण सुबिधासम्पन्न कृषि थोकबजार निर्माण गर्न सफल भयौं । तरकारीको भाउ नआएको बेला राख्नका लागि शितभण्डारको समेत व्यवस्था रहेको मेयर लामाले बताइन् ।









