हेटौंडा/नेपाली कांग्रेस, देशकै पुरानो अनि लोकतान्त्रिक पार्टी, लोकतन्त्रका लागि यसले पटकपटक क्रान्ति गर्यो, अब लोकतान्त्रिक गणतन्त्र संस्थागत् गर्न प्रयास गरिरहेको छ । आमबुझाइ, विश्वास अनि स्वयम् कांग्रेसकै नेताहरुको दाबी यही हो ।
गर्विलो इतिहास रहेको पार्टीका सदस्य, समर्थक अनि यसलाई आलोचनात्मक चेतले हेर्ने जोकोहीले पनि पछिल्लो समय भने यो पार्टी आफ्नो आदर्शबाट च्युत हु“दै गएको, आफ्नै विधि, परम्परा र अभ्यास भुल्दै गएको अनि व्यक्तिगत् लाभहानिमा अलमल्याउ“दै गएको पाउन थालेका छन् ।
पछिल्ला केही दिनयताका घटनाक्रमलाई मात्र नियाल्ने हो भने त यो पार्टीमा अनुशासन नै छैन, विधि र प्रक्रिया मान्नै पर्दैन भन्ने बुझाइको विकास हु“दै गएको प्रष्ट हुन्छ । यसले पार्टीमा छाडातन्त्र कसरी मौलाउ“दै गएको छ भन्ने स्पष्ट पार्छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलमा आफू अल्पमतमा परिसकेपछि तत्काल राजीनामा दिनुको साटो अटेर गरेर जुन नौटंकी देखाए, त्यसले कांग्रेसको साख गिराएको छ ।
लोकलाज, पार्टीभित्रको दबाब र सभापति देउवाको निर्णायक आग्रहपछि बल्ल लामा आफूले नियुक्त गरेका मन्त्रीहरुलाई शपथ खुवाउनुपर्ने सर्तमा राजीनामा दिन तयार भए । जो अल्पमतमा परिसक्यो, उसैले मुख्यमन्त्रीबाट राजीनामा दिनुको सट्टा केही मन्त्री नियुक्त गर्छ अनि राजीनामा दिनुअघि ती मन्त्रीहरुको शपथ गराउनुपर्ने सर्त राख्छ, अब सोचौं त पार्टीमा विधि, नैतिकता र पद्धति कहा“ पुग्यो ?
बागमती प्रदेश संसदीय दलको निर्वाचनमा लामा ८ मतले पराजित भएपछि इन्द्र बानिया“ संसदीय दलको नेता भएका थिए । सबैलाई लागेको थियो, लामाले तत्काल राजीनामा दिनेछन् र नवनिर्वाचित नेता बानिया“लाई सहज मुख्यमन्त्री पद हस्तान्तरण गर्नेछन् । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक र संसदीय मर्यादाको कदर गर्ने पार्टीमा हुनुपर्ने नै त्यही थियो, तर विडम्बना, त्यसो हुन सकेन । लामाले तत्काल राजीनामा दिने ॅबहादुरी’ देखाउनुको साटो पदमा टिकिरहने अडान लिइरहे ।
संसदीय अभ्यास, राजनीतिक नैतिकता र पार्टी अनुशासनको दृष्टिकोणबाट हेर्दा लामाको हर्कतले नेपालको संसदीय परम्परा र लोकतान्त्रिक आचरणमै प्रश्न उठाएको छ । संसदीय दलमा पराजित भइसकेपछि पनि मुख्यमन्त्री भइरहन खोज्नुले आखिर कांग्रेसमा कुन स“स्कार मौलाउ“दै छ भन्ने गम्भीर प्रश्न पनि खडा गरेको छ ।
संसदीय शासन प्रणालीमा सरकार प्रमुख (मुख्यमन्त्री वा प्रधानमन्त्री) को आधार आफ्नो दलभित्रको समर्थन नै हो, जसले एकातिर ॅकलेक्टिभ रेस्पोन्सिबिलिटी’ लाई बढावा दिन्छ भने अर्कोतिर आन्तरिक लोकतन्त्रलाई पनि बलियो बनाउ“छ । संसदीय दलभित्र विश्वास गुमाएका नेतालाई कार्यकारी पदमा रहने कुनै नैतिक वा संवैधानिक आधार हु“दैन ।
संसदीय परम्पराको यस्तो सामान्य सिद्धान्तलाई कांग्रेसकै सांसद्ले उपेक्षा गर्नु भनेको उदेकलाग्दो कुरा थियो । संसदीय दलमा हारिसकेपछि मुख्यमन्त्री बनिरहन खोज्नु असंवैधानिकमात्र होइन, अराजनीतिक पनि हो ।
मुख्यमन्त्री लामा अल्पमतमा पर्नासाथ तत्काल राजीनामा दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा दुवैले आग्रह गरेकै हुन् । पार्टी सभापति र महामन्त्री भनेको सिंगो पार्टी हो, लामाले पार्टीकै निर्देशन अवज्ञा गरिरह“दा कांग्रेसभित्र अनुशासनको पाटो कति कमजोर रहेछ भन्ने सन्देश गएको छ । लामाको अटेरीले उनको जनमत र पार्टीप्रतिको निष्ठामाथि प्रश्नमात्र खडा गरेन, कांग्रेसभित्र मौलाएको अनुशासनहीनता, गुटबन्दी र सत्तामोहसमेत छताछुल्ल पारिदियो ।
लामाले पार्टीनीतिको उपेक्षा गरे । विधि र पद्धतिको अवज्ञा गरे । नैतिकताको उपहास गरे । सभापति र महामन्त्रीको निर्देशनलाई हावा खुवाइदिए । तर, त्यसबीचमा पार्टीले उनीमाथि कुनै कदम उठाएन । न उनीविरुद्ध कतै उजुरी गरियो, न त यी सबै हर्कत मज्जाले हेरिरहेको अनुशासन समितिले आ“खा नै खोल्यो ।
पार्टीको विधिदेखि संसदीय मर्यादालाई एकसाथ कुल्चि“दा अनुशासन समिति त रमिते बन्यो । आफ्ना विरोधी तह लगाउन तीन वर्ष पुरानो अनुशासनको कारबाही व्यु“ताउने शीर्ष नेतृत्व लामाका हकमा निरीह देखियो, यसबाट कांग्रेस नेतृत्व कमजोर छ वा गुटबन्दीका आधारमा चलिरहेको छ भन्ने सन्देश गयो ।
बागमती प्रदेशका हकमा पार्टीले तत्काल अनुशासन कायम गर्न नसक्दा अब अनुशासनहीनताको रोग केन्द्रदेखि जिल्ला तहसम्म संक्रमण नहोला भन्न सकिन्न । कांग्रेसले यस प्रकारको गैरजिम्मेवार आचरणलाई समयमै नियन्त्रण गरेर राजनीतिक शुद्धीकरणको प्रयास नगर्ने हो भने आगामी निर्वाचनमा पार्टीभित्र छाडातन्त्र मौलाउनेमात्र हैन,
घात र अन्तर्घात झँ“गिने खतरा छ । हेक्का रहोस्, सुदृढ लोकतन्त्रको आधार भनेको उत्तरदायित्वपूर्ण नेतृत्व र संस्थागत् अनुशासन हो । तर, हाल कांग्रेसमा झँ“गिएको गुटबन्दी, गुटगत् स्वार्थ अनि नेताहरुको व्यक्तिगत् मोहले संस्थागत् मूल्य र मान्यताकै खिल्ली उडाइरहेको छ ।
हाल कांग्रेसका नेताहरु केन्द्रमा गुटबाजीले नपुगेर जिल्ला जिल्लामा गुटबाजीमा लिप्त छन् । जिल्ला जा“दा एयरपोर्टमा आफूलाई स्वागत गर्न आउनेहरुलाई नै आफ्नो गुटको ॅएजेन्ट’ तोक्ने प्रवृत्ति मौलाएको छ ।
जग्गा दलाली, ठेक्का पट्टा, सरुवाबढुवा, नियुक्ति, पार्टीका विभिन्न समितिहरुमा अवसरदेखिका सन्दर्भमा तिनै ॅगुटगत् एजेन्ट’ हरुको तजबिजीमा चल्ने र नेताहरुले तिनकै कुरा सुन्ने प्रवृत्तिका कारण कांग्रेस पार्टी अब जनता र कार्यकर्ताबाट बिस्तारै टाढि“दै गएको छ ।
पार्टी र जनताबीचको सम्बन्धमा बिचौलिया दलाल, गुटका एजेन्ट र आर्थिक समूहहरु हाबी भएकाले पार्टीको जनाधार नै खस्कि“दै जान थालेको छ । हुन त, कांग्रेसमा गुटबन्दीको परम्परा कुनै नया“ विषय होइन ।
वीपी कोइराला र सुवर्णशमसेर तथा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाका बीचमा पनि कतिपय वैचारिक र कार्यनीतिका विषयमा मतान्तर रहन्थे । गणेशमान, किसुनजी र गिरिजाबाबुबीच केन्द्रमा असहमति रहे पनि तल्लो तहसम्म गुटबन्दी हाबी नहोस् भन्नेतर्फ नेतात्रय सजग रहेको पाइन्थ्यो ।









