हेटौंडा/भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि संघीय र प्रदेश सरकारले विनियोजन गरेको रकममध्ये १० करोड भन्दा बढी रकम फिर्ता भएको छ । भरतपुर महानगरपालिकाको समन्वयमा निकासा भएको रकम काम हुन नसकेपछि पुनः संघ र प्रदेशमै फिर्ता गरिएको हो ।
बागमती प्रदेश सरकारबाट निकासा भएको १० करोडमध्ये ६ करोड ८० लाखमात्र खर्च भएको छ । यसमा ३ करोड २० हजार रुपिया“ फिर्ता भएको हो । रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारको ७० प्रतिशत् र ३० प्रतिशत् भरतपुर महानगरपालिकाले बेहोर्ने सम्झौता छ । संघीय सरकारले महानगरपालिकाका तर्फबाट गरिने खर्चमा रकम दिएको थियो ।
निर्माण व्यवसायीले गत आर्थिक वर्षभित्रमा गर्नुपर्ने काम पूरा नगरेपछि १० करोड ५४ लाख ३० हजार १ सय ७० रुपिया“ फिर्ता भएको हो । महानगरपालिकाका डिभिजनल इञ्जिनियर सन्तोष आचार्यका अनुसार संघीय सरकारले २५ करोड निकासा गरेकोमा १७ करोड ६५ लाख ६९ हजार ८ सय ३० रुपिया“मात्र खर्च भएको छ । बा“की ७ करोड ३४ लाख ३० हजार १ सय ७० रुपिया“ फिर्ता भएको हो ।
महानगरले रंगशालाका लागि ५ करोड विनियोजन गरेको थियो । उक्त रकमसमेत फ्रिज भएको छ । निर्माण कम्पनीले असार मसान्तसम्म ४० प्रतिशत् प्रगति गर्नुपर्नेमा आर्थिक प्रगति २.४९ प्रतिशत्मात्र भएको आचार्यले जानकारी दिए । हालसम्म भौतिक प्रगति ३० प्रतिशत् पुगेको छ । तर, समयमा काम नभ्याएकाले आर्थिक प्रगति कम हु“दा बजेट फिर्ता भयो,’ उनले भने । हिमालयन–कालिञ्चोक–बीबीआर ज्वाइन्ट भेञ्चरले २०८१ असार २३ गते ७८ करोड ५० लाख ९१ हजारमा निर्माण सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८३ पुस २२ गतेभित्र रंगशाला निर्माण सम्पन्न गरिसक्नुपर्ने छ ।
हालसम्म रंगशालामा ५ हजार दर्शक क्षमताको प्याराफिटको ढलान सम्पन्न भएको छ । अर्को दुई हजार दर्शक क्षमताको प्याराफिटको काम भइरहेको छ । २ वटा टावरमध्ये एउटाको भुईंतलाको ढलान र अर्कोको भुईंको काम भइरहेको छ । दुई सय मिटर नालीको ढक्कन राख्ने, १ सय ५५ मिटर कम्पाउण्ड निर्माण सम्पन्न भइ ५ सय किलोवाट् क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ ।
काम ढिलो भएपछि दुई महिनाअघि भरतपुर महानगरपालिकाले निर्माण कम्पनीलाई आर्थिक वर्षभित्रमा ४० प्रतिशत् काम सम्पन्न गर्न आग्रह गरेको थियो । महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीसहित प्राविधिक कर्मचारी निर्माणस्थल पुगेर निर्माण व्यवसायीलाई काम छिटो गर्न आग्रह गरेका थिए ।









