हेटौंडा/मकवानपुरलाई सहज मार्ग बनाउ“दै भारतीय तस्करहरुले लागुऔषधको ओसारपसार गरिरहेको पाइएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस कुलेखानी र इलाका प्रहरी कार्यालय भीमफेदीको संयुक्त टोलीले ठूलो मात्रामा लागुऔषधसहित ४ भारतीयलाई पक्राउ गरेपछि यसको रहस्य खुलेको हो ।
मकवानपुर प्रहरीले दिएको जानकारीअनुसार शनिबार राति करिब ८ः४५ बजे इन्द्रसरोवर गाउ“पालिका–२, कुलेखानी हु“दै काठमाडौंतर्फ गइरहेको भारतीय नम्बर प्लेट बीआर ०५ पीए ९०९३ नम्बर स्कर्पियो चेक गर्दा लागुऔषध लुकाएर ल्याइएको अवस्थामा फेला परेको हो ।
गाडीमा भारतको मोतीहारी जिल्लाअन्तर्गत् सुगौली पोष्ट थाना बञ्जरिया ग्राम सुगौली–११ का २४ वर्षीय शेख गुल्जार, वडा–९ का २५ वर्षीय बसिम अहमद, वडा–३ का १९ वर्षीय नेसाब आलम र ४३ वर्षीय शेख सकुत सवार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीका विभिन्न भागमा फल्सबटम बनाइ लुकाएर ल्याइएको अवस्थामा डाइजेपाम २ हजार २ सय २६ एम्पुल, नुर्फिन २ हजार ३ सय ५६ एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड १ हजार ८ सय ६१ एम्पुल गरी ६ हजार ४ सय ४३ एम्पुल लागुऔषध तथा ट्रामाडोल ४९ ट्याब्लेट फेला परेको हो । लागुऔषध र प्रयोग गरिएको गाडी बरामद गरी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।









