हेटौंडा/हेटौंडामा आठौं संस्करणको कोरा साइकल र्याली हुने भएको छ । सन् २०१८ देखि निरन्तर साइकल महोत्सव गर्दै आएको हेटौंडा राइडर्स क्लबले आगामी शनिबार साइकल र्याली गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
‘दिस इज नट अ रेस, एभ्रीवन इज अ विनर’ भन्ने नारासाथ गरिने साइकल र्यालीले स्वच्छ वातावारणमा जोड दिनुका साथै हेटौंडालाई साइकलसँग जोड्ने विश्वाससाथ कार्यक्रमलाई निरन्तरता दिइएको राइडर्स क्लब अध्यक्ष विकास ताम्राकारले जानकारी दिए । ५० किलोमिटरको यात्रामा हुने र्यालीमा १२ वर्ष उमेरमाथिका जोसुकै साइकलप्रेमीहरुले सहभागिता जनाउनसक्ने अध्यक्ष ताम्राकारले बताए ।
र्यालीमा मकवानपुरलगायत आसपासका जिल्ला चितवन, बारा, पर्सालगायत काठमाडौंबाट समेत गरी करिब ३ सय भन्दा बढी राइडर सहभागी हुने अनुमान रहेको उनले बताए । हालसम्म २ सय ५० जनाले नाम दर्ता गराएका छन् भने कार्यक्रममा सहभागी हुनेलाई निःशुल्क जर्सीको व्यवस्था छ ।
विहान ७ बजे सुरु हुने र्याली हेटौंडाका प्रमुख धार्मिकस्थल भुवनेश्वर पशुपति मन्दिरबाट सुरु भइ विभिन्न धार्मिक स्थलको परिक्रमा गरी शिवम् सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, महेन्द्र राजमार्ग, त्रिवेणीधाम, कर्रालगायत स्थानहरु हँुदै बुद्धचोकमा आएर समापन हुने आयोजकले जनाएको छ ।
र्यालीमा सहभागी हुन इच्छुकले तीन सय रुपियाँ तिरेर फाराम भरी नाम दर्ता गर्न सक्नेछन् । साइकलप्रेमी उत्पादन गरी स्वच्छ वातावरण निर्माण अभियानमा जुटेको हेटौंडा राइडर्स क्लबमा हाल पाँच सय जना सदस्य आवद्ध छन् । क्लबका अनुसार मकवानपुरमा ६ हजार साइकल राइडर छन् ।









