हेटौंडा/साउन १ अर्थात् आज नेपाली गाउँघरमा लुतो फाल्ने दिन । असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण छालामा देखिनसक्ने सम्भावित रोगबाट मुक्ति पाउनको लागि भनेर परापूर्वकालदेखि नै यो सँस्कार चलाउँदै आइएको बुढापाका बताउँछन् ।
यो एकातिर साँस्कृतिक महत्वको पर्व हो भने अर्कोतिर मानव स्वास्थ्यका लागि महत्वपूर्ण वनस्पति रक्षा गर्ने एउटा माध्यम पनि हो । तर, हिजोआज लुतो फल्ने चलन कम भएसँगै यी वनस्पतिको संरक्षण पनि हुन नसकेको सँस्कृतिविद् रामचन्द्र आचार्य बताउँछन् ।
साउन १ गते लुतो फालेपछि छालासम्बन्धि विभिन्न रोगबाट मुक्ति पाउने शास्त्रीय विश्वास छ । पछिल्लो समय उक्त सँस्कारमा कमी आइरहेको भए पनि केही धार्मिकस्थलमा सामाजिकरुपमै लुतो फ्याँक्ने सँस्कृति मनाउने गरिएको छ । कास्की जिल्लाको भरतपोखरीस्थित प्रसिद्ध कोटभैरव मन्दिरजस्ता केही धार्मिक तीर्थस्थलमा सामाजिकरुपमा नै लुतो फाल्ने प्रचलन रहेको उनले बताए ।
वर्षको दुई ठूला संक्रान्तिमध्ये साउने संक्रान्ति पनि एक हो । यही दिनदेखि अयन परिवर्तन भएर दक्षिणायन सुरु हुन्छ । देवताको उत्तरायणमा दिन र दक्षिणायनमा रात हुन्छ भन्ने मान्यता छ । उनले विवाह र व्रतबन्ध आदि कार्यका लागि उत्तरायण राम्रो मानिन्छ भने हाम्रा महत्वपूर्ण चाडहरु दक्षिणायनमा पर्ने गरेको बताए ।
लुतो फाल्ने विधि
साउने संक्रान्तिको दिन कतिपय ठाउँमा संक्रान्ति सुनाउन जाने चलन हाल पनि देख्न सकिन्छ । संक्रान्ति सुन्ने र यस दिन स्नान गरेर दान गर्दा पुण्यप्राप्त हुन्छ भन्ने मान्यता छ । लुतो फाल्ने दिन दिउँसो जंगलमा गएर विभिन्न प्रजातिका वनस्पतिहरु संकलन गर्ने गरिन्छ । ती संकलित वनस्पतिको साथमा यही दिन कन्दारक पूजा पनि गर्नुपर्ने शास्त्रीय मान्यता रहेको आचार्य बताउँछन् ।
लुतो फाल्ने कर्म साउन १ गते साँझ गरिन्छ । यस दिन भलायोको पात, तिउरी, पानीसरो, देवीसरो, कुकुरडाइनुको लहरो, धसिंगरेका बोट, उन्यु जातको नागबेली, कुरिलो, सिउँडी, सिस्नु, जरैसहितको पानीअमलालगायत विविध वनस्पति जम्मा गर्ने गरिन्छ । सूर्यास्तपछि दिनभर जम्मा पारेको वनस्पतिको साथमा कन्दारक पूजा गरिन्छ । जसलाई लुते देउताका रुपमा पनि चिन्ने गरिन्छ । यी सबै चिजका अलावा बिमिरो अथवा निबुवालाई राखेर पनि कन्दारकको पूजा गर्ने गरिन्छ ।
सँस्कृतमा यस पर्वलाई ‘लुत निक्षेपण’पर्वका नामले चिनाउने गरिएको छ । यसको अर्थ लुतो फाल्ने नै हो । यो हिलोमा बेस्सरी काम गर्दा हुनसक्ने हिले खटिरा हटाउने उपाय हो भन्छन् उनी । पूजा सकेपछि दियालो बालिन्छ । कुरिलो डा“ठमा राखेर आगो बालिसकेपछि त्यस दाउरा आफैं पड्किन सुरु हुन्छ । कुरिलोको डा“ठलाई पा“चदेखि सात वटा मुठा बनाइएको हुन्छ । ती सबैलाई अगुल्टोका रुपमा प्रयोग गरिन्छ । दाउरालाई सबै दिशातिर फालिन्छ ।
कन्दारकको पूजाको समयमा घरमा कसैले ढिकी कुट्ने, कसैले नांग्लो ठटाउने वा शंख फुक्ने जस्ता काम गर्ने गरिन्छ । यसरी बाजा वा शंख फुक्दै पहिले मुठा बनाइएको अगुल्टोलाई अर्को गाउ“लेको नाम लिएर लुतो फाल्ने गरिन्छ । अर्को गाउ“लेले पनि यही विधिबाट नै आफ्नो सम्मुख गाउ“लेको नाम लिएर लुतो फाल्ने गर्छन् ।
उबेलाको चलन
पहिले र हालको लुतो फाल्ने चलन धेरै परिवर्तन भइसकेको बताउ“छन् आचार्य । हाल त यदाकदाबाहेक लुतो फाल्ने चलन नै हराइसकेको छ । उनी हिजोआज धसिंगरेलगायत वनस्पति लिन वनपाखा जाने चलन हराएकोमा दुःख मान्छन् । धसिंगरेस“गै नरकटका बोट, तितेपाती जस्ता वनस्पति जम्मा गर्ने, दाउराको साटो छ्वालीका मुठा बाल्ने चलन पनि पहिलेको भन्दा फरक रहेको उनी बताउ“छन् । यसरी पहिले लुतो फाल्ने परम्पराका नाममा विविध वनस्पति संरक्षण गरिने परिपाटी हराएकोमा उनी दुःख मान्छन् ।
आफूहरु सानो छ“दा डा“डामा गएर धसिंगरेलगायत वनस्पतिहरु ल्याएर विधिपूर्वक लुतो फालेको उनी सुनाउ“छन् । त्यहा“ लुतो फाल्न चाहिने सबै वनस्पति पाइन्थे । उनी भन्छन्–साउने संक्रान्तिका दिन गाउ“का हामी ८/१० जना किशोरहरु ती सामग्री लिन डाँडामा उक्लिन्थ्यौं । ती सबै सामान ल्याएर लुते देवताको पूजा गर्ने गरिन्थ्यो । पूजापछि दाउराको ससाना टुक्रा जम्मा पारिन्थे ।









